रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक ९ गते । चाडपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् । दसैँदेखि क्रमशः बढ्दै आएको तरकारीको भाउ छठसम्म आइपुग्दा किन्नै नसकिने गरी महँगिएको छ ।
बर्दिबासको साप्ताहिक हाटमा धनुषाको बडहरीबाट तरकारी ल्याउने व्यापारी विन्देश्वर महतोका अनुसार तिहारसम्म प्रतिकिलो १२० रुपियाँमा बिक्री भएको भ्याण्टा १४० रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
अन्य तरकारीको मूल्य पनि उस्तै गरी बढेको छ । गोलभेंडा प्रतिकिलो १३० रुपियाँ, पहाडी आलु १०० रुपियाँ, लोकल काउली १६० रुपियाँ, ओल १५० रुपियाँ, भिण्डी ७०, पिँडालु ८० र हरियो खुर्सानी प्रतिपाउ ६० रुपियाँ पुगेको छ ।
बर्दिबासका होटल व्यवसायी नारायण घिमिरेले तरकारीको अप्रत्याशित मूल्यवृद्धिले दैनिक खर्च व्यवस्थापन गर्न गाह्राे परेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार, जिल्लाका गौशाला, मटिहानी, धमौरा र भंगाहा प्रमुख तरकारी उत्पादन क्षेत्र हुन् । हालैको अविरल वर्षा र बाढीले यी क्षेत्रका एक हजार ४९० हेक्टरमा लगाइएका तरकारी बाली डुबानमा परेपछि आपूर्ति घटनाले मूल्य वृद्धि भएको हो ।
बाढी र वर्षाको असरले बजारमा तोरी, रायो र लट्टेको साग जस्ता मौसमी हरियो तरकारीसमेत पाउन मुस्किल भएको छ । पहिले मुठाको २० रुपियाँ पर्ने कर्कलोको साग अहिले ५० रुपियाँ पुगेको छ भने लहरा गल्नाले लौका, घिरौंला, परवल जस्ता लहरे तरकारीको उत्पादन ठप्प छ ।
हाल भारतीय आलु र प्याजबाहेक अधिकांश तरकारीको मूल्य उच्च छ । केही साताअघि सय रुपियाँमा तीन किलो पाइने भारतीय आलु पनि अहिले सय रुपियाँको दुई किलोमा झरेको छ । प्याजको मूल्य मात्र अहिलेसम्म प्रति किलो ४० रुपियाँमै स्थिर छ ।
यस्तो परिस्थितिमा रामेछाप, खनियाँखर्कलगायत पहाडी जिल्लाबाट आएका स्कुस, मुन्टा, हरियो फर्सी, काँक्रा र धनियाँले बजारमा केही राहत दिएका छन् । रामेछापका व्यापारी नवराज श्रेष्ठका अनुसार बर्दिबासको बिहानी हाटमा नै करिब एक मिनी ट्रक स्कुस बिक्री भएको थियो । ‘‘स्कुसको मुन्टा त अघि नै सकियो ।’’ उहाँले बताउनुभयो ।
स्थानीय उत्पादन घट्दा मूल्य बढ्नु सामान्य भए पनि, उपभोक्ताले भने अत्यधिक मूल्य वृद्धिलाई असामान्य भन्दै स्थानीय प्रशासनसँग बजार अनुगमन र नियन्त्रणको माग गर्न थालेका छन् ।