• १८ असार २०८१, मङ्गलबार

निर्वाचन सर्दैन :प्रचण्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन मिति नसर्ने बताउनुभएको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ, सर्दैन । सर्ने सम्भावना कहीँकतै छैन ।”

उहाँले निर्वाचनमा सत्ता गठबन्धन सहमतिबाटै अघि बढ्ने बताउँदै छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार चयन सहमति नजिक पुगेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “छवटा महानगरमा तीनवटा काँग्रेसलाई र अन्यलाई एक/एकवटा महानगर दिने कुरा सहमति नजिक छ ।”

उहाँले गठबन्धनमा सहमति हुन नसके जुन दलसँग सहमति हुनसक्छ सोसँग सहमति गरेर निर्वाचनमा जान पनि सकिने बताउनुभयो । “गठबन्धभित्र सबैको सहमति हुन नसके जो जसका बीचमा सहमति हुन्छ त्यही गर्छौं । सहमति हुँदै नभए एक्लै भिड्छौँ । यो पटक माओवादी केन्द्र एक्लै जाँदा राम्रै हुन्छ”,उहाँले भन्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका विरोधमा विभिन्न पार्टीभित्र आवाज उठे पनि त्यस्ता विरोधले ताìिवक असर नगर्ने जिकिर गर्नुभयो । उहाँले गठबन्धनका उम्मेदवारले एउटै चुनाव चिह्न प्रयोग गर्नेबारे पनि छलफल भइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले जुन पार्टीको अध्यक्ष हुन्छ त्यही पार्टीको चुनाव चिह्नमा उम्मेदवार उठाउने वा साझा चुनाव चिह्न बनाउने भन्ने विषयमा पनि छलफल अघि बढेको जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डका अनुसार विप्लव नेतृत्वको माओवादी पार्टी निर्वाचनमा जान इच्छुक देखिएकाले नीतिगत रूपमा निर्वाचनमा सहभागी गराउन सकेसम्मको पहल गठबन्धनले गरेको छ । निर्वाचनमा आउन चाहनेलाई सकेसम्म सकारात्मक वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । स्थानीय निर्वाचनमा परिवर्तन विरोधी र परिवर्तनका पक्षधरको छुट्टाछुट्टै गठबन्धन बनेको बताउँदै उहाँले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीलगायतका उपलब्धि उल्ट्याउन खोज्ने शक्ति पनि सक्रिय भएकाले जनताको फैसला परिवर्तनका पक्षमा हुने दाबी गर्नुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, “संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार मौलिकहकका रूपमा छन् तर जनताले पाउन सकेका छैनन् । जनताको  मूलभूत कुरालाई सम्बोधन गर्ने गरी हामी  चुनावमा जाँदैछौँ ।”