• १३ साउन २०८१, आइतबार

व्यावसायिक बाख्रापालन गर्दै गाउँपालिका

blog

कमल शर्मा
दैलेख,वैशाख ५ गते ।
गाउँपालिकाको आन्तरिक आम्दानी गरी युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक बाख्रा पालन गर्न गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ ।

जिल्लाको भगवतिमाई गाउँपालिका र प्रदेश सरकारको लगानीमा बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रापालन गरिरहेको छ ।

भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले युवाहरूलाई स्वदेशमै रोजगारी लगाउने उद्देश्यले गाउँपालिकाले बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रा पालन गरिरहेको बताउनुभयो । उहाँले बाख्रा स्रोत केन्द्रमा एक जना पशु प्राविधिकसहित तीन जनालाई रोजगारी समेत दिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाको नारा नै ‘व्यावसायिक कृषि पशुपालन र पूर्वधार हो हाम्रोमा पशुपालन राम्रो हुन्छ’ रहेको छ । ‘‘यहाँको हावापानी पनि राम्रो भएका कारण हामीले पशुपालन र कृषिमा बढी जोड दिएर नागरिकको आयआर्जनमा टेवा पु-याइरहेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारको आर्थिक ०७६/०७७ मा एक करोड ०७७/०७८ मा १० लाख र ०७८/०७९ मा पाँच लाख र  गाउँपालिकाको यो आर्थिक वर्ष सम्म ७५ लाख रुपियाँ लगानी गरी बाख्रा स्रोत केन्द्र निर्माणसँगै बाख्रा पालन गरिरहेको छौं ।’’  

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बाख्रो स्रोत केन्द्र निर्माणका लागि तीन आर्थिक वर्षको अवधिमा एक करोड १५ लाख रुपियाँ प्रदेशबाट उपलब्ध भएको बताउनुभयो । उहाँले गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बाख्रो स्रोत केन्द्र निर्माण गरेको र अब त्यहाँबाट बाख्रा उत्पादन हुन सुरु भएको बताउनुभयो ।

बाख्रा स्रोत केन्द्रका पशु प्राविधिक विमल थापाले बाख्रा स्रोत केन्द्रमा ११५ बाख्रा रहेको बताउनुभयो । उहाँले स्रोत केन्द्रमा लोकल जात र बोएर जातको बाख्रा रहेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा दुई वटा खोर निर्माण ५०/५० बाख्रा राखेको र अहिले त्यही बाट एक सय १५ बाख्रा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले खसी, बाख्रा वितरणका लागि आवश्यक रकम समेत तोकेको हुँदा सोही बमोजिम बिक्री हुन्छ ।’’