• २१ वैशाख २०८१, शुक्रबार

फास्ट ट्र्याक पुरानै लागतमा समयभित्रै बनिसक्छ: प्रधानसेनापति शर्मा

blog

काठमाडौँ, वैशाख ८ गते । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई-मधेस द्रुतमार्गको पहिलेकै लागतमा तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । 

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताउनुभएको हो । उहाँले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउनु भयो । उहाँले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताउनु भयो । उहाँले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनै पनि लागत नबढेको बताउनु भयो । उहाँले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाइ नै हौँ । केही लाज लाग्दैन । सक्ने, नसक्ने भन्नमा । सकिन्छ । तर एकदम सिँगारेर, फास्ट ट्र्याक भनेर युरोपको सडकजस्तो नगरे पनि हजुरहरूलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको । त्यसै भएर पुल र टनेललाई विशेष महत्त्व दिएको हो । अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रूपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेट भित्रै काम गर्न हामी सफल भएका छौँ । अहिलेसम्म बजेट भित्रै छौँ । त्यो पनि कट्दैन । 

पाँच वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दा खेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ । यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन । बढ्दै गएको भनिन्छ । बढेको छैन । कहाँ बढ्नु ? त्यो बेलाको योजना अनुरूपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स छ भन्न खोजेको । लागत बढेको छैन । कुनै पनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ । ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ । हामी समयभित्र पनि छौँ । बजेटभित्र पनि छौँ । काम पनि भइराखेको छ ।’