• १३ साउन २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई दिवा खाजाको व्यवस्था

blog

वासुदेव शर्मा
जाजरकोट, वैशाख ५ गते ।
जाजरकोटका ज्येष्ठ नागरिकलाई दिवा खाजाको व्यवस्था गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालयले ज्येष्ठ नागरिकलाई दिवा खाजा सेवा केन्द्रको व्यवस्था गरेको हो ।

ज्येष्ठ नागरिक संघले सोमबार आयोजना गरेको कार्यक्रममा सामाजिक विकास कार्यालयका सामाजिक विकास अधिकृत खिमप्रसाद ढकालले दुई लाख ५० हजार खर्चेर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्न सामाजिक विकास कार्यालयले दुई लाख ५० हजार बजेट प्राप्त गरेको थियो ।

नेपाल सरकारले जेष्ठ नागरिकले पाउने सेवा सुविधा सरल सहज निःशुल्क बनाएको छ । ज्येष्ठ नागरिकलाई एक्लो महशुस नहोस् भन्ने उद्देश्यले दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यसैगरी, आयुर्वेद स्वास्थ्य सेवा केन्द्र जाजरकोटले ज्येष्ठ नागरिकको मागअनुसार हरेक  पाँच–पाँच महिनामा ३० जनाभन्दा बढी ज्येष्ठ नागरिकको  निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आएको छ ।

केन्द्रका प्रमुख नरेन्द्र कठायतले ज्येष्ठ नागरिक सम्मानित व्यक्ति भएकाले वृद्धाश्रम केन्द्रमा आएर नियामित स्वास्थ्य परीक्षण गरेको जानकारी दिनुभयो । भेरी नगरपालिका–३ का ज्येष्ठ नागरिक योगशम्शेर शाहले साथीभाई जम्मा गरेर सुख–दुःखका कुरा गर्ने वातावरण तयार गरेकोमा सामाजिक विकास कार्यालयलाई धन्यवाद दिनुभयो ।