• १७ असार २०८१, सोमबार

२६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा

blog

विजयकुमार साह 

ढल्केवर, वैशाख ५ गते । धनुषाको बटेश्वर गाउँपालिका –२, भुइचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । स्थानीयवासी तथा समाजसेवी युवाले चासो देखाएपछि यतिका वर्षपछि सो सिँचाई आयोजना सोमबारबाट सञ्चालनमा आएको हो ।

किसानको खेतबारीमा सहज सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाई आयोजना निर्माण गरेको थियो । कृषि विकास आयोजनाले त्यसबेला सिँचाई आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्यूवेल र विद्युत जडानसमेत गरिसकेको थियो ।

कृषि विकास आयोजनाले सिँचाई आयोजनाको सबै काम सकेर सञ्चालनका लागि तयारी गरिरहेकोबेला विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि उक्त सिँचाई आयोजना अलपत्र परेको थियो ।  सिँचाई आयोजना अलपत्र परेपछि घेरबारसहित बनेको डिप ट्यूवेल घर खण्डहर बनेको छ भने किसानले आफ्नो जग्गामा बनेको पक्की कुलो भत्काएका छन् । 

बटेश्वरका समाजसेवी राजकिशोर महतोसहितका युवाको पहलमा कृषि विकास आयोजना नकटाझिजले डिप ट्यूवेल मर्मत गरेर मोटर जडान गरिदिएपछि  निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । सो सिँचाई आयोजना सञ्चालनमा ल्याउन स्थानीयवासीले चार वर्षअघि बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई जानकारी गराउँदैआएको भएपनि अध्यक्ष राउतले चासो नदेखाएको स्थानीयवासी राजकिशोर महतोले बताउनुभयो । 

कृषि विकास आयोजना नकटाझिजका इन्जिनीयर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको सिँचाई आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । किसानको खेतमा सिँचाईको प्रबन्ध मिलाउन आउँदो आर्थिक वर्षमा पाइपलाइन विस्तार गर्ने जानकारी दिनुभयो ।