• १३ साउन २०८१, आइतबार

कल सेन्टरमा चाप

blog

इश्वरचन्द्र झा

काठमाडौँ, वैशाख ५ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको ‘कल सेन्टर’मा जिज्ञासाको चाप बढेको छ । आयोगले स्थानीय तह निर्वाचन सम्बन्धमा सर्वसाधारणलाई लागेको जिज्ञासाको जवाफ दिन र आचारसंहिता उल्लङ्घनका घटनाबारे गुनासो गर्न चैत १५ देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक तीन सयभन्दा बढी फोन आएको बताउनुभयो । सर्वसाधारणले आयोगको कल सेन्टरमा मतदाता नामावलीमा नाम समावेश, मतदाता परिचयपत्रको प्रतिलिपि कसरी र कहिले पाउने, आचारसंहिता उल्लङ्घनका घटनाबारे सोधपुछ गरेको आयोगले जनाएको छ । 

प्रवक्ता पौडेलले भन्नुभयो, “कल सेन्टर अत्यन्तै प्रभावकारी भएको छ, कर्मचारीले जवाफ दिन नसकेको प्रश्न सम्बन्धित शाखाका प्रमुख वा सहायकसमक्ष राखिने व्यवस्था गरिएको छ ।” कल सेन्टरको निःशुल्क नम्बर ११०२ मा आएको सवालको जवाफ चार जना कर्मचारीले दिने गरेका छन् । अन्य प्राविधिक र व्यवस्थापनका गरी नौ जना कर्मचारी कार्यरत छन् ।