• १३ साउन २०८१, आइतबार

सडक नपुगेको बस्तीमा पदमार्गको पहुँच

blog

तस्बिर:नवीन शिशिर विकताघर–आलडाँडा जोड्ने पदमार्गमा यात्रा गर्दै स्थानीय ।

गलकोट समाचारदाता

बागलुङ, वैशाख ५ गते । बागलुङको काठेखोला गाउँपालिका–२, भीमा पोखरा सीमा निवासी मेखबहादुर आले कृषि पेसामा आबद्ध हुनुहुन्छ । जीवनको ऊर्जाशील समय घाँस दाउरा, मेलापातमा बिताएका आले हरेक दिन भैँसीलाई घाँस पानी हाल्नदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न घरदेखि करिब चार/पाँच किलोमिटर माथि रोका जानुहुन्थ्यो । 

उकालो खरबारी र खेतको डिलमा बनेका साँघुरा र चिप्लो बाटो भारीसँग तलमाथि गर्दा धेरै पटक लड्न पुग्नुभयो । घाइते भएर कैयौँ पटक बिस्तारामै बस्नुपर्ने बाध्यता भयो । उकालो बाटोमा व्यवस्थित पद मार्ग नहुँदा सोही बाटो भएर ओहोरदोहोर गर्ने धेरैलाई समस्या थियो । बर्खामा काउली परेको गोरेटोमा खुट्टा टेकाउनै मुस्किल हुन्थ्यो । 

विशेष गरी चिप्ले चौर–बिटासम्मको गोरेटो बाटो व्यवस्थित हुँदा मान्छे मात्र होइन सोही बाटो भएर खेती बालीको समयमा गोरुसमेत ल्याउन र लैजान मुस्किल थियो । वडामा जनप्रतिनिधि आए पछि काठे खोला–२ को विभिन्न ठाउँमा रहेका धेरै प्रयोगमा आउने गोरेटो बाटाहरू पदमार्गमा स्तर वृद्धि भएका छन् । चिप्ले चौर–बिटा गोरेटो बाटोमा अहिले व्यवस्थित पदमार्ग निर्माण भएको आलेले बताउनुभयो । 

बैँसमा घाँस दाउरा गर्न यो बाटो निकै कठिन थियो आलेले भन्नुभयो, अहिले बुढेस्काल लागेपछि बाटो बन्यो, लौरो टेकेरै भए पनि तलमाथि गर्न सजिलो भएको छ । मोटर बाटो विस्तार भएपछि मासिएका गोरेटो बाटोलाई वडा कार्यालयले प्राथमिकतामा राखेर स्तर वृद्धि गरेको वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो । डोकोभरि मल बोकेर खेतबारीमा हिँड्दा लिरिक्क लर्कने डहरो, उकाली ओराली गर्ने साँघुरो गोरेटा पद मार्गमा रूपान्तरण भएका छन् । कतै चिप्लिएर लडिन्छ की भने आङ सिरिङ्ग हुँदै हिँड्नु पर्ने गोरेटो सुधार हुँदा बालबालिका, ज्येष्ठ नागरिक र खेती किसानमा निस्कने किसानलाई राहत मिलेको छ ।

सडक मार्गको पहुँच नपुगेका सबै बस्तीलाई पदमार्गले जोडेको वडाध्यक्ष शर्माको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध मजदुर प्रयोग गरेर वडाले गोरेटो बाटोलाई पदमार्गका रूपमा विकास गरेको हो । बेरोजगार सूचीमा परेका युवालाई काम पनि पुग्ने र परिमाण पनि देखिने हुँदा उनीलाई पदमार्ग निर्माणमा लगाइएको थियो । पदमार्गको कुनै ठाउँमा ढुङ्गा प्रयोग गरिएको छ भने कतै सिमेन्टको सिँढी निर्माण गरिएको छ । 

सडकले नछोएको बस्ती र खेतबारीमा पदमार्ग निर्माण गरिएको छ । निकै कठिन गोरेटो भएको झहरे श्मसान घाटमा पनि पदमार्ग निर्माण गरिएको छ । धेरै भिरालो, सल्लाको वन त्यसमाथि रातो माटो हुँदा शव लिएर श्मसान घाट पुग्न निकै जोखिमपूर्ण थियो । अहिले सहज भएको भीमा पोखराका स्थानीय रामप्रसाद शर्माको भनाइ छ ।