• २१ वैशाख २०८१, शुक्रबार

नेपालगन्जको एक पसलमा चोरी

blog

चोरी भएको नेपालगन्ज ४ बाइपास रोडस्थित पसल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख ३ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिक रहेको बाइपास रोडको एक पसलमा आइतबार राति चोरी भएको छ ।

चोरले गएराति बाइपास रोडको चोकमा रहेको जनप्रिय मार्ट पसलको सटर फोरेर नगद र केही अन्य सामान चोरेर लगेको पसलका सञ्चालक कृष्ण मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जना चोर राति १ बजेको समयमा पसल बाहिर आई गाडीको लिवर प्रयोग गरेर सटर च्यातेर पसलभित्र छिरेका थिए । “राति १ बजे दुई जना चोर सटरबाहिर आई गाडीको लिवर प्रयोग गरेर सटर च्यातेर भित्र छिरेको सिसीटिभीमा देखिन्छ, करिब डेढ घण्टाको प्रयासपछि उनीहरु २ः३० बजेतिर पसलभित्र छिरेको देखिन्छ ।,” मरासिनीले भन्नुभयो, “एकजना पसल बाहिर मान्छे नियाल्न बस्छ भने अर्का एकजना पसलभित्र छिरेर गल्लामा रहेको नगद र केही अन्य सामान लगेर गएको छ ।”

उहाँका अनुसार चोरले सेन्टर लक गरेर बन्द गरिएको सटर गाडीको लिवरको प्रयोग गरेर सटर च्यातेर भित्र छिरेका थिए । गल्लामा रहेको ४०–५० हजार रुपियाँ चोरले लगेको उहाँले बताउनुभयो । केही रक्सीका बोतल र केही चुरोट तथा अन्य सामान चोरले लगे पनि कति बराबरको सामान चोरी भयो अहिले यकिन नभएको उहाँले बताउनुभयो । मरासिनीले घटनाका बारेमा प्रहरीमा निवेदन दिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चोरी भएको पसलका सञ्चालकले प्रहरीलाई जानकारी गराएको बताउनुभयो । “पसलका सञ्चालकले पसल चोरी भयो भनेर हामीलाई जानकारी गराउनुभएपछि हाम्रो प्रहरी त्यहाँ पुग्यो, केही नगद र केही अन्य सामान चोरी भएको भन्ने रिपोर्ट आएको छ ।” उहाँले भन्नुभयो, “हामी घटनाका बारेमा अनुसन्धान गर्दैछौं ।”