• २१ वैशाख २०८१, शुक्रबार

बिमा व्यवसायलाई पारदर्शी बनाए बजार विस्तार हुने

blog

ललितपुर, वैशाख २ गते । बिमा व्यवसायलाई स्वच्छ र पारदर्शी बनाउन सके मात्रै यसको बजार विस्तार हुन सक्ने सरोकारवालाले बताएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा बिमा सर्भेयर सङ्घ नेपालले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । बिमा समितिका पूर्वअध्यक्ष प्राडा फत्तेबहादुर केसीले बिमाको विस्तारले अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउन सक्ने भन्दै यसका निर्जीवन बिमा व्यवसायको तीन वटा महत्त्वपूर्ण स्टेकहोल्डर नियामक, बिमक र सर्भेयरको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सर्भेयरको मूल्याङ्कनबिना बिमाको कुनै पनि दाबी भुक्तानी सम्भव नहुने भन्दै बिमा दाबी भुक्तानी सहज र छिटो गर्न सर्भेयरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

बिमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बिमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्नेमा उहाँको जोड थियो । बिमा सर्भेयर सङ्घ, नेपालका सभापति मोहनपुरुष ढकालले बिमाको कार्य प्रक्रिया बिमितको दाबीबाट सुरु हुने र बिमाको कार्य प्रक्रियाका लागि कागजात र प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बिमितमा व्याप्त रहेको बताउनुभयो । 

नेपाल बिमक सङ्घका अध्यक्ष चङ्की क्षेत्रीले सर्भेयरलाई इन्स्योरेन्स कम्पनीकै मान्छे ठान्ने गरेको अवस्था रहेको भन्दै सर्भेयरलाई कम्पनीका तर्फबाट भन्दा पनि स्वतन्त्रपूर्वक काम गरेर यस्तो भावनालाई चिर्न आग्रह गर्नुभयो ।