• १२ साउन २०८१, शनिबार

बालुवाटारमा गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठक

blog

काठमाडौं, वैशाख ४ गते। पाँचदलीय सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक बसिरहेको पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच निर्वाचनको सिट बाँडफाँडलगायतका विषयमा छलफल भएको थियो। 

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबारसम्ममा महानगरपालिका र नगरपालिकाको भागबण्डाका विषयमा गठबन्धने टुङ्गो लगाउँदैछ। जारी बैठक यही विषयमा केन्द्रित छ। 

पौडेल नेतृत्वको दश सदस्यीय समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का तर्फबाट देव गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट डा. वेदुराम भुषाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राईलगायत हुनुहुन्छ।