• ७ मंसिर २०८१, शुक्रबार

युवालाई देशमा रहने वातावरण तयार

blog

कृष्णराज पण्डित प्रमुख, शुक्लागण्डकी नगरपालिका

तनहुँको शुक्लागण्डकी नगरपालिकामा विकास र समृद्धिको प्रचुर सम्भावना छ । माछापुच्छ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम, थप्रेक, राईपुर, लामागाउँ जस्ता उच्च तथा रमणीय ठाउँ यस नगरपालिकामा रहेका छन् । देशको राजधानी काठमाडौँदेखि १७० किलोमिटर पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ किलोमिटरमा नगरपालिका रहेको छ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस नगरपालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ  । यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित कृष्णराज पण्डितसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी : 

  निर्वाचित भएपछि के कति काम गर्नुभयो ? 

हामी निर्वाचित भएर आइसकेपछि नगरका ठुला एवं गौरवका योजनालाई सूचीकृत गरी क्रमशः योजना कार्यान्वयनतर्फ अगाडि बढेका छौँ । नगर र वडा जोड्ने मुख्य सडकलाई कालोपत्रे गर्ने काम अघि बढ्दै छ । दुलेगौँडा लामागाउँ मोटर मार्ग अन्तर्गत विश्व बैङ्कको सहयोगमा झन्डै ४५ करोड रुपियाँको योजना सुरु भएको छ । लालध्वज मोटर मार्ग, हर्कपुर मोटर मार्ग, तिनखोले देवी मोटर मार्ग, ढोरवाराही मोटर मार्ग सडक कालोपत्रे तथा स्तरोन्नतिका योजना सञ्चालनमा छन् । कृषि र पशुतर्फ अनुदान थप गरी दुध र मासुमा आत्मनिर्भर गराउने रणनीति अनुसार कृषि उपज सङ्कलन तथा वितरण केन्द्र, शीत भण्डारण केन्द्रसमेत सञ्चालन छन् । उत्पादनमा अनुदान कार्यक्रम सुरु गरिएको छ ।  निःशुल्क स्वास्थ्य शिविर तथा आर्थिक अवस्था कमजोर हुनेका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । 


 काम गर्दा चुनौतीको सामना गर्नुभएको छ ? 

नागरिकको अपेक्षालाई परिपूर्ति गर्ने गरी कार्यक्रम सञ्चालन गरेका छौँ । सीमित स्रोतसाधनका बिच नागरिकका अपेक्षा पूरा गर्नु सबैभन्दा ठुलो चुनौती हो । यद्यपि हामीले तत्काल सम्बोधन गर्नुपर्ने योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम अगाडि बढाएका छौँ । संविधानले साझा अधिकार सूचीमा राखेका शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयमा अन्तर तह अधिकारको स्पष्ट सीमाङ्कन नहुँदा योजना कार्यान्वयनमा जटिलता थपिएको छ । त्यसै गरी सार्वजनिक जग्गा संरक्षणको विषयसमेत चुनौतीपूर्ण रहँदै आएको छ ।


 युवालाई पालिकामै रोजगार दिन के कस्ता योजना बनाउनुभएको छ ? 

सिपयुक्त बनाई सक्षम युवा तयार गर्ने एवं स्वरोजगार उन्मुख गराउन विशेष पहल गरिएको छ । वैदेशिक रोजगारबाट फर्किएका युवालाई उनीहरूको सिप र क्षमता अनुसार बिउपुँजीको व्यवस्था गरी स्वदेशमा रहने वातावरण तयार गरिएको छ । उनीहरूको सिप र अनुभव उपयोग गर्न हामी उनीहरूसँग सहकार्य गर्न तयार छौँ । उनीहरूका माध्यमबाट वैदेशिक सिप र ज्ञानलाई यहीँ स्वरोजगार सिर्जनाका लागि कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराउँछु । युवा व्यवसायीलाई कृषि तथा पशुपालनमा आकर्षित गर्न उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम पनि सञ्चालन गरेका छौँ । 


 पर्यटकीय राजधानी पोखरासँग जोडिएको पालिका भएकाले त्यहाँ आउने पर्यटक तान्ने योजना छैन ? 

हालसालै मात्र पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । नगरले शुक्लागण्डकीलाई दीर्घकालीन योजनाका साथ पर्यटकीय ‘हब’ को विकास गर्ने रणनीति तय गरेको छ । पोखरा घुम्न आउने पर्यटकलाई शुक्लागण्डकी भित्र्याउने उद्देश्यका साथ भुजिकोट, दगाम, मिलेनियम गुफालगायतका पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसार गरिनुका साथै होमस्टे तालिम तथा अर्गानिक कृषिमार्फत ग्रामीण पर्यटनलाई समेत विकास र विस्तार गर्ने योजना तय गरिएको छ । धार्मिक, पुरातात्त्विक, ऐतिहासिक तथा भौगोलिक महत्वका क्षेत्र पहिचान र स्तरोन्नति गर्ने रणनीति अघि सारेका छौँ । ट्रेकिङ रुट स्तरोन्नतिका कार्यक्रम सञ्चालनमा छन् । 


 तलब तथा भत्ता नलिने घोषणा गर्नुभएको थियो, कार्यान्वयन भयो ? 

निर्वाचनमा गरिएको घोषणा अनुसार मलाई प्राप्त हुने सुविधाको रकम आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहयोग प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा, खानेपानीलगायत साना योजना सञ्चालनका लागि सचिवालयमार्फत उपलब्ध गराई कमजोर तथा विपन्न नागरिकसँग जोडिने प्रयास गरेको छु । 


 अतिक्रमणमा परेका सार्वजनिक जग्गाको संरक्षण भइरहेको छ ? 

सम्बन्धित सङ्घीय कार्यालयसँग समन्यव गरी नगरभित्रका सार्वजनिक जग्गाको लागत सङ्कलन गरिएको छ । स्थानीय नागरिकबाट सार्वजनिक जग्गा संरक्षण गर्न सक्रियता जनाएका क्षेत्रमा नगरबाट प्राविधिक खटाई सार्वजनिक जग्गा यकिन गरी संरक्षणका लागि योजना सञ्चालन गरिएको छ । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी काम अघि बढेको छ । 


 बाँदरलगायतका विविध कारणले किसान मर्कामा परिरहेका छन् । तिनको उत्थानका लागि योजना बनाउनुभएको छ ? 

किसान बाँदर आतङ्कबाट मात्र होइन, भारतीय बजारबाट सस्तोमा आउने तरकारीलगायतका वस्तुका कारण पनि मर्कामा परेका छन् । वास्तवमा यो राष्ट्रव्यापी समस्या हो । यो समस्या समाधानका लागि सम्बन्धित सरोकारवालासँग परामर्श र छलफल भइरहेको छ । बाँझो जग्गाको व्यवस्थापन र उपयोग गर्न हामीले किसानसँग छलफल गरी आवश्यक रणनीति तयार गरेका छौँ । साथै लक्षित कार्यक्रम कार्यान्वयनका लागि पकेट क्षेत्र पहिचान गरी समस्या समाधान गर्न प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरी दीर्घकालीन योजना तयार गर्न लागिपरेका छौँ । जैविक कृषि उत्पादनको मूल्य र बजारका लागि पनि कृषकसँग छलफल गर्दै छौँ ।


 नागरिकका आधारभूत कुराको सम्बोधन भएको छ ? 

हामीले योजनाबद्ध नीति, योजना तथा कार्यक्रम तय गरेर अगाडि बढ्ने योजनामा छौँ । नागरिकका आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरको योजना कार्यान्वयन गर्न नगरपालिकाको सम्पूर्ण संयन्त्रलाई परिचालन गरिने छ । स्वच्छ सफा खानेपानीको व्यवस्था हाम्रो प्राथमिकतामा रहेको छ । नगरभित्रको बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने, उत्पादनमा आधारित अनुदान वितरण जस्ता कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना छ ।