• १९ वैशाख २०८१, बुधबार

नाउपा दलको नेता बने कैलाश

blog

धनगढी, चैत २७ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्नु भएको छ । 

अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई आइतबार नै कारबाहीमा गरेको पत्र सार्वजनिक भएको छ । घनश्यामलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी दलको नेताको जिम्मेवारी दिइएको छ । सो पत्रमा प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको उल्लेख छ । घनश्यामले दलको निर्देशन नमानेकोले परिवर्तन गरिएको सो उल्लेख छ ।

दलको नेताको जिम्मेवारी सम्बन्धी सो पत्रमा अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको समेत उल्लेख गर्नु भएको छ ।

दलका नेताबाट हटाइएका घनश्याम चौधरी काङ्ग्रेसबाट मुख्यमन्त्री बन्नु भएका कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री समेत हुनुहुन्छ । अर्को सरकार नबनेकोले मुख्यमन्त्री शाह नेतृत्वको सरकार अहिले कामचलाउ छ ।

सुदूरपश्चिममा उन्मुक्तिका ७ प्रदेश सभा सदस्य छन् जसमा ५ जना संरक्षक रेसम पक्षमा र २ जना अध्यक्ष रञ्जितको पक्षमा उभिएका छन् । एक जना समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई सो पदबाट हटाइएपछि अब सो दलको प्रदेश सभा सदस्य सङ्ख्या ६ मा झरेको छ । गिरीको ठाउँमा अर्को प्रदेश सदस्य मनोनयन गर्ने प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ ।