• ५ जेठ २०८१, शनिबार

कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण

blog

साँघुस्थित मैवाखोला गाउँपालिकाको कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २६ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पाँचजना मात्र उत्तीर्ण भएका हुन् ।
मैवाखोला गाउँपालिकामा यसवर्ष कक्षा ८ को परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गरिएको थियो । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ८ सञ्चालित गाउँपालिकाका आठवटा विद्यालयबाट १७८ जना विद्यार्थी यसवर्षको वार्षिक परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएका विद्यार्थी सङ्ख्यामध्ये पाँच जनाले मात्र उत्तीर्ण गरेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमका अनुसार गाउँपालिका बाहिरका शिक्षक अर्थात् विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्रहरु तयार पारेर कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीले लेखेको उत्तरपुस्तिका पनि पालिका बाहिरकै शिक्षकबाट मूल्याङ्कन गराउँदा पाँच जनाले मात्र सबै विषय उत्तीर्ण गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

आठमध्ये चारवटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण नभएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता तामाङका अनुसार नतिजा शून्य आएको चारमध्ये दुईवटा विद्यालयका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा लेख्ने मौका पनि नपाउने भएका छन् ।

कक्षा ८ को नतिजा प्रकाशित गर्नुअघि आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरिएको गाउँपालिकाले जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ । ग्रेडवृद्धिको मौका परीक्षा आउँदो बैशाख १० गतेदेखि सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।

यता कक्षा ८ नतिजाले चिन्तित बनाएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । यस नतिजाले सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग बनाएको बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी नागरिकले गम्भीर भएर सोच्ने बेला आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले गाउँ शिक्षा नीति निर्माण गरी शैक्षिक गुणस्तर सुधारको पहल सुरु गरेको छ । शैक्षिक गुणस्तर तथा व्यवस्थापनको योजना बनाएर कार्यान्वयन गर्न सुरु भएको गाउँपालिकामा कुनै पनि कक्षाको परीक्षा उत्तीर्ण नगर्ने अर्थात् न्यूनतम ग्रेड अङ्क नल्याउने विद्यार्थी अर्को कक्षा चढ्न पाउने छैनन् । त्यस्तै शैक्षिक गुणस्तर तथा मर्यादित व्यवस्थापन केन्द्रित योजनाअन्तर्गत नै पालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सीसी क्यामरा जडान, डिजिटल हाजिरीको व्यवस्थालगायतका काम गरिँदै आएको छ ।