• २१ वैशाख २०८१, शुक्रबार

कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक

blog

पाठ्यपुस्तक । फाइल तस्बिर

मान्म (कालीकोट), चैत २४ गते । कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलो पटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् । 

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिनुभयो । “पहिलो पटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्नका पत्राचार गरेका छौँ ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताउनुभयो । “चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्”, उहाँले भन्नुभयो, “अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।” समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताउनुभयो ।

“पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिरहेका छौँ ।” कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपर्ने अवस्था थियो । रासस