दुबई अवतरण भएकै दिन हो, रातिको खानाको आयोजना क्रुजमा थियो । मरिनबिचको क्रुजतिर जानै लाग्दा चालकबाहेकको अर्को एक जनाले सोध्यो, ल्याङ्वेज इङ्लिस वा हिन्दी ? उसले आफ्नो परिचय दियो । ऊ गाइड थियो । अनुमान लगाउन गाह्रो भएन । सबैभन्दा पहिला दुबई आउने पर्यटकले जान्नैपर्ने नियमहरू बतायो । दस वटा नियम पालैपालो ।
दुबई गणतान्त्रिक मुलुक होइन । यहाँ इस्लामिक र सरिया कानुनको पालना गर्नु पर्छ । त्यसैले यहाँका नीति नियमहरू अलि फरक छन् । यी नियम प्रत्येक व्यक्तिमा निहित छन् । नियम उल्लङ्घन गर्दा गम्भीर परिणाम निम्तिन्छन् । त्यसैले यहाँका नियमप्रति सचेत हुनै पर्छ । ऊ भन्दै गयो, यहाँ बसुन्जेल घुँडाभन्दा माथि आउने लुगा नलगाउनु होला । आफ्नो काँधलाई पनि छोप्नु होला । यस्तो लुगा लगाउनु भयो भने यहाँको कानुनविरुद्ध मानिने छ । त्यसैले यहाँ उपयुक्त लुगा लगाउनै पर्छ । यस्तै रमजानको पवित्र महिनामा दुबई घुम्न आउनेहरूका लागि पनि केही नियम बनाइएका छन् । रमजानमा मुस्लिम व्रत बस्ने भएकाले सकभर पर्यटकले पनि खाना नखानु उपयुक्त मानिन्छ । खाइहाले पनि सार्वजनिक रूपमा चपाउने वा पानी पिउने नगर्दा राम्रो मानिन्छ । यो महिनामा सूर्योदय र सूर्यास्तको बिचमा कुनै पनि कुरा खान यहाँ वर्जित हुन्छ ।
यहाँ चर्को सङ्गीत निषेध गरिएको छ । पश्चिमा देशहरूबाट आएका पर्यटक सार्वजनिक ठाउँमा चर्को सङ्गीत रुचाउँछन् तापनि यहाँ स्वीकार्य छैन । त्यसैले यस्तो दुस्साहस नगर्नु होला । यसै गरी बुर्ज खालिफा घुम्नका लागि टिकटहरू पहिले नै सुरक्षित गर्नुहोला ।
सबै निर्देशन अनुभवमा आधारित थिए । तसर्थ दुबईको कुनै पनि पर्यटनस्थलका लागि टिकट आवश्यक पर्छ । अनलाइन टिकट बुक गर्नु बुद्धिमानी हुन्छ । बुर्ज खालिफाका लागि पनि तपार्इंको टिकट प्रि–बुक गर्नुहोला । यसो गर्दा लामो लाइनमा उभिरहनु पर्दैन । बुर्ज खालिफा यहाँको महान् स्मारक हो र यो दुबईको पर्यटकको प्रमुख आकर्षण पनि हो । यो विश्वको सबैभन्दा अग्लो भवन हो । यहाँ कसम खाएको राम्रो मानिँदैन । यो इस्लामिक देश भएकाले यहाँका कानुनहरू पनि इस्लामिक छन् । कानुनहरू प्रकृतिप्रति पनि धेरै संवेदनशील छन् । त्यसैले केही भन्नुअघि आफ्नो बोलीलाई लगाम लगाउनु नै राम्रो मानिन्छ । यहाँ रहँदा सार्वजनिक रूपमा कहिले पनि कसम नखानुहोस् । यहाँको सबै कुरा राम्रो छ तर यहाँको गर्मी खराब छ ।
यहाँको गर्मी निकै तीव्र र चरम हुन्छ; जुन सहन गाह्रो हुन्छ । त्यसैले यहाँका मानिसहरू गर्मीको समयमा मलभित्रै किनमेल गर्ने, घरभित्रै बस्ने वा वातानुकूलित भएको ठाउँमा बस्छन् । यो कुराको जानकारी पाइराख्दा राम्रो होला । दुबईमा क्यासिनो छैन । पश्चिमा देशहरूबाट आउने पर्यटकले यहाँ क्यासिनोले भरिभराउ भएको होला भन्ने अनुमान गर्छन् । यो पूर्णतया गलत हो । पूरै युएईमा एउटा पनि क्यासिनो छैन । यो कुराको ख्याल राख्नु होला ।
यस्तै यहाँ किनमेल महँगो छ । स्वाभाविकै हो, यहाँ आउने पर्यटकले केही न केही कुरा किन्न चाहन्छन् । मल घुम्न जाने प्रायः मानिसले किन्न सक्दैनन् पनि । यहाँका मलमा किनमेल गर्ने एउटा मात्र उपयुक्त समय हो ‘सेल’ । सेल लागेको बेला मात्र सस्तो हुन्छ र किन्न सकिन्छ । त्यो समयको प्रतीक्षा गर्नै पर्छ ।
यहाँ ड्राइभिङ गर्दा रक्सी निषेध गरिएको छ । यो दुबईको एकदमै कडा कानुन हो । यदि मादक पदार्थ सेवन गरी गाडी चलाउँदा यहाँका प्रहरीले पक्राउ ग¥यो भने तपाई जेल जानुपर्ने हुन्छ । मदिरा किन्नका लागि पनि तपाईंसँग अनुमतिपत्र छ भने मात्र लिन पाइन्छ । दुबईमा आइतबार काम गर्ने दिन हो । बिहीबार दुबईमा सप्ताहान्त हो र शुक्रबार बिदाको दिन हो । अरू धेरै जसो मुलुकमा शनिबार सप्ताहान्त र आइतबार बिदा दिने चलन छ तर यहाँ त्यस्तो हुँदैन ।
उसले थप कुरा पनि भन्यो, वास्तवमै दुबईमा महिलाका लागि भ्रमण गर्न निकै सुरक्षित छ । महिला एक्लै पनि घुमफिर गर्न सक्छन् । रातिको समयमा यहाँको परम्परागत पोसाकमा रहँदा राम्रो । पुरुषसँग ‘आई टु आई’ सम्पर्क नगर्दा राम्रो । अपरिचितहरूले दिएको पेय पदार्थतिर ध्यानै नदिँदा राम्रो हुन्छ । यति गर्नुभयो भने तपाईंले दुबईलाई यात्रा गर्नका लागि असुरक्षित ठान्नुहुन्छ भने तपाईं नै गलत हो ।
महिला होस् वा पुरुष यो पूरै संयुक्त अरब इमिरेट्स पर्यटकका लागि धेरै सुरक्षित छ । सामान चोरी डकैती होला भन्नेतिर सोच्दै नसोचे हुन्छ । यस्तो गलत कदम उठाउने साहस यहाँ कसैसँग छैन । दिनमा भन्दा रातिको समयमा चलायमान यहाँको जीवनयापन, रातिमा देखिने बत्तीका सजधज साँच्चिकै मन लोभ्याउने खालका छन् । चौडा बाटाहरू, एकमाथि अर्काे बाटोले मारेको फेरो देख्दा जादु जस्तै लाग्छ । ट्राफिक जाम छैन । चिल्ला र मूल्यवान् कारहरू हुइँकिएको देख्दा लोभ लागेर आउँछ । गाइडसँग राखेको जिज्ञासामा उसले भन्यो, यहाँ त मोटरको मूल्य केही पनि हैन । नम्बर प्लेटको मूल्य महँगो छ । एक अङ्कदेखि चार अङ्कको नम्बर पाउन गाह्रो हुन्छ । यहाँका शेख र ठुला व्यापारीले मात्र यस्ता नम्बर प्लेट किन्न सक्छन् ।
‘पि–७’ विश्वकै महँगो नम्बर प्लेट हो । यसको मूल्य एक करोड २० लाख पाउन्ड पर्छ । दुबईको पैसा ५५ मिलियन दिराम हो । अहिले यो नम्बर प्लेट फ्रान्सेली–इमिराती व्यापारी, टेलिग्राम एपका संस्थापक र मालिक पावेल भ्यालेरिभिच दुरोभसँग छ । उनले सन् २०२३ मा बढाबढको बाजी मारेर यो नम्बर हात पारेका हुन् । यो नम्बर प्लेट यहाँका सात वटा इमिरेट्सको सिम्बोलका रूपमा पनि लिइने हुनाले धेरै महँगो भएको हो । यहाँ यस्ता भ्यानिटी (कहलिएका प्रशंसित) प्लेटहरूको लिलामी गर्ने तौरतरिका छ । अति धनीहरूले आफ्नो हैसियत देखाउन प्रयोग गर्ने तरिका हो यो । पछिल्लो पटक भएको लिलामीमा त्यहाँका स्थानीय व्यापारी सइद अब्दुल गफ्फार खुउरीले रेकर्ड तोडेका थिए । उनले आबुधावीमा नम्बर १ भएको प्लेटको लागि ५२.२ दिराम तिरेका थिए ।
यहाँका (राजा) शेख मोहम्मद बिन रसिद अल मोक्टुमले मोरसिटिज जी–५५ चढ्छन् । उनको मोरसिटिजको नम्बर प्लेट ‘१’ हो । नम्बर प्लेट ‘डी ५’ व्यापारी बलविन्दरसिंह साहनीसँग छ । उनलाई अबु सवा भनेर पनि चिनिन्छ । उनले यो नम्बर ३३ मिलियन दिराममा किनेका थिए । दुबई सुनको सहर हो । दुबईलाई ठुला मानिस, सुरक्षित मानिस र राम्रा मानिसको सहर भनिन्छ ।
यहाँ बालुवाबाहेक प्राकृतिक भन्ने कुनै वस्तु छैन । सबै कृत्रिम वस्तुबाट प्राकृतिक सौन्दर्य झल्काइएको छ । यहाँको ‘मरिना बिच’ पानी थुनेर तयार पारिएको छ । यो सात किलोमिटर दुरीमा फैलिएको छ । यो ठाउँ काम गर्न, घुम्न र बस्नका लागि उत्तम मानिने रहेछ । यो विलासीमध्येको अर्काे ठाउँ हो । यो ठाउँमा विलासी पसल र रेस्टुरेन्टहरू धेरै छन् ।
यहाँका सबै चिज, ठाउँहरू उत्कृष्ट नै छन् । त्यसमा पनि ११ माइल लामो जमेराह बिच, डिस्कोभरी गार्डेन, पाम दिप, दुबई मल र एक्वारियम, पुरानो क्वाटर, हरियो विमान, इमिरेट्सको मल र प्रसिद्ध इन्डोर स्की ढलानहरू भ्रमण गर्न लायक छन् । यो विलासिताको सहर हो ।
यहाँका स्थानीयवासीमा बढप्पनको छनक पाइन्छ । यहाँका धनाढ्यहरूमा धेरै पैसा खर्च गरेर ठुलो देखाउने होड देखिन्छ । यहाँको इमान जमान गर्व गर्न लायककै छ । कोही पनि वचनमा चुक्न चाहँदैन । कसम खानुलाई कमजोरी ठानिन्छ । जो कोहीले एक पटक घुम्नैपर्ने ठाउँमध्येको एक हो– दुबई ।