• २४ जेठ २०८२, शनिबार

छद्मभेष [कथा]

blog

कमलपोखरी धेरै ठुलो थियो । जाडोयाममा कमलपोखरीवरिपरि मानिस घाम तापेर बस्थे । गर्मीमा चाहिँ त्यहाँवरिपरि रहेका रुखको छहारीमा शीतल तापेर बस्थे । कमलका फूलहरू फुल्ने भएकाले नै यो पोखरीको नामकरण कमलपोखरी भएको थियो । त्यहाँ नवयौवना, नवयुवक, बुढाबुढी सबै आउने गर्थे । पोखरीवरिपरि कोही दौडिन्थे, कोही फटाफट हिँड्ने गर्थे । त्यहाँ प्रशस्त मानिस आउने र रमाइलो मानेर बस्ने पनि गर्थे । 

यसपालि जाडोयाममा त्यहाँ एक जोडी चरा देखिन थाल्यो । त्यो जोडी जाडो छल्न टाढाको देशबाट आएको थियो । ती चरा ठुला हाँस जस्ता देखिन्थे । स्तुति र राघव पोखरीको डिलमा बसिरहेका थिए । ती चराको चर्तिकला हेर्नलायक थियो । तिनीहरू कहिले कमलपोखरीमा डुबी भित्रभित्रै हराउँथे त कहिले पानीमाथि टाउको देखाउँदै पौडिन्थे । यति मात्र कहाँ हो र ? कहिले घण्टौँसम्म त्यही पोखरीको किनारामा भएको एउटा रुखको हाँगोमा बसेर घाम ताप्थे । कहिले पोखरीमाथि विचरण गर्थे । त्यही चरालाई देखेर स्तुतिले राघवलाई सोधी–

स्तुति : यी हाँस कहाँबाट आएका होलान् ? योभन्दा त अघि यी देखिएका थिएनन् ।

राघव : जाडो छल्न साइबेरियातिरबाट आएका हुन् कि ।

स्तुति : साइबेरियामा असाध्यै जाडो हुन्छ रे हो ? 

राघव : हो नि ।

स्तुति : मलाई साइबेरिया घुम्न जान मन लाग्या छ । तिमी र म साइबेरिया जाने है ?

राघव : हुन्छ नि, यी पर्यटक चरा गर्मी लाग्न थालेपछि आफ्नो वासस्थानतिर फर्कन्छन् । यिनीहरूसँगै हामी पनि जाऊँला नि हुन्न ?

राघवको कुरा सुनेर स्तुति हाँस्न थाली र राघव पनि ऊसँगै हाँस्न थाल्यो ।

उनीहरू बारम्बार त्यही पोखरीको डिलमा आएर बस्थे । रमाइला गफ गर्थे । जाडो बिस्तारै हराउँदै थियो । अर्को दिन फेरि स्तुति र राघव त्यहाँ आएर बसे । उनीहरूले ती चराको जोडीलाई हेर्न आँखा यताउति घुमाउन थाले तर त्यहाँ कतै पनि उनीहरूले ती चरा देखेनन् । आफ्नो वासस्थानमा ती चरा पक्कै पनि फर्के भनेर उनीहरूले अनुमान लगाए । 

साइबेरियाबाट यहाँ उडेर आउन ती चरालाई कति दिन लाग्छ होला ? स्तुतिले मनमनै विचार गरिन् । उनीहरूलाई तिनीहरूको शारीरिक अवस्था, बाटामा देखा पर्ने मौसम आदिले समयको निर्धारण गर्छ होला । कम्तीमा पनि हप्तौँ त पक्कै लाग्छ होला ? त्यत्रो टाढाको यात्रामा चखेवा चखेवी छलिन पनि त सक्छन् होला । कुनै सिकारीको सिकार पनि त हुन सक्छन् । एउटा मर्‍यो भने अर्कोलाई जिउन कति गाह्रो पर्ला भनेर ऊ सोचमग्न भई । 

पोखरीवरिपरि किनारामा रहेका जाकारान्डाका रुखहरूमा निलो फूल फुलेका थिए । रुखमुनि ती निला फूलहरू फुत्त फुत्त झरिरहेका थिए । उनीहरू बसेको अलि पर प्रेमीप्रेमिकाको जोडी बसेको थियो । त्यो देखेर राघवले भन्न थाल्यो, “कस्तो नमिलेको जोडी हेर त ?” स्तुतिले त्यो जोडीलाई हेरी । साँच्चै उनीहरूको जोडी मिलेको थिएन । केटी चाहिँ साह्रै राम्री, गोरी, बनोट परेकी । केटा भने अँगार जस्तो कालो न कालो थियो । राघवतिर हेरेर स्तुतिले हाँस्दै भन्न थाली, “जोडी हेर्दा नमिलेर के भो र ? उनीहरूको मन मिलेको छ होला नि ।” राघव स्तुतिको कुरा सुनेर मुस्कुरायो । बिस्तारै पोखरीबाट वरिपरि देखिने घरमा बत्ती बल्न थाल्यो । अलि अलि गर्दै अँध्यारो भयो । राघव र स्तुति पनि त्यहाँबाट उठेर आआफ्ना घरतिर लागे ।

राघव आफ्नो कोठामा बसेर विचारमग्न थियो । त्यसै बखत उसको मोबाइलको घन्टी बज्न थाल्यो । उसले आफ्नो मोबाइल उठायो । अर्कोतिरबाट स्तुति बोलिरहेकी थिई ।

स्तुति : राघव के गरिरहेका छौ ?

राघव : यसै बसिरहेको । तिमी के गरिरहेको नि ?

स्तुति : म पनि यसै बसिरहेको । पक्कै पनि पोखरीका कुरा सम्झिएर बसिरहेको त होला नि ?

राघव : हो, कसरी थाहा पायौ ?

स्तुति : तिम्रो मनमा जे कुरा आउँछ, मेरो मनमा पनि त त्यही कुरा त आउँछ नि !

राघव : त्यसो भए तिमी पनि त्यही नमिलेको जोडी सम्झिरहेकी ? 

स्तुति : तिनीहरूलाई मात्र हैन, ती हाँस कहाँ गए होलान् भनेर पनि तर्कना आइरहेको छ । 

राघव : जहाँसुकै जाऊन् । तिनीहरू सँगै त होलान् नि ! उनीहरूको प्रेम अटल होस् । मलाई त्यति भए पुग्यो ।

राघवको कुरा सुनेर स्तुति खित्का छोडेर हाँसी । उनीहरू धेरैबेर कुरा गरी एकअर्कालाई ‘गुड नाइट’ भन्दै फोन विच्छेद गरेर सुते ।

गर्मी बढ्दै गइरहेको थियो । उनीहरू शीतलता खोज्दै आफूहरू बसेको ठाउँभन्दा धेरै टाढाको रमणीय स्थानतिर जाँदै थिए । राघव मोटरबाइक हाँकिरहेको थियो । स्तुति उनकै पछाडि बसेर कुरा गरिरहेकी थिइन् । बाटाका दृश्यहरू अवलोकन गर्दै, कुरा गर्दै उनीहरू रमाइरहेका थिए । 

उनीहरू पुगेको स्थानको वातावरण निकै रमाइलो थियो । उत्तरतिर सेतो हिमशृङ्खला देखिन्थ्यो । बिलकुल गर्मी थिएन । शीतल पवन सुस्त सुस्त चलिरहेको थियो । उनीहरू एउटा लामो बेन्चमा बसी वरिपरिको वातावरण नियालिरहेका थिए । वरिपरिको रमणीय वातावरणमा, एकआपसका रमाइला कुरा भइरहेको थियो । उनीहरूले समय बितेको पत्तो पनि पाइरहेका थिएनन् । 

उनीहरूमा कमलपोखरीमा बिताएका पलहरूको पनि सम्झना आइरहेको थियो । फेरि त्यही पोखरीमा देखिएका चराको जोडी, राम्री केटी र कालो केटोको जोडीबारे पनि उनीहरू कुरा गर्न थाले । उनीहरूलाई ती चरा र त्यो जोडीको कुरा गर्दा आनन्द महसुस हुन्थ्यो । के कारणले यस्तो भइरहेको थियो । यसबारे उनीहरू बेखबर थिए । पूर्वजन्मका केही कुरा यी प्राणीसँग गाँसिएको थियो कि ? उनीहरू दुवैलाई चरा, जलचर र माछा असाध्यै मन पथ्र्यो । के उनीहरू पनि पूर्वजन्ममा एउटा चरा र अर्को माछा थिए कि ? किनकि राघवलाई हवाई यात्रा मन पथ्र्याे, स्तुतिलाई जल यात्रा । उनीहरू आफूहरू पूर्वजन्ममा चरा र माछा भएको कुरा गरिरहेका थिए । 

त्यही बखत अलि उताबाट एक जोडी हात समाउँदै आयो । त्यो त यसअघि कमलपोखरीमा देखिएकी राम्री गोरी र कालेको जोडी पो रहेछ । यो देखेर राघव र स्तुति फेरि हाँस्न थाले । त्यो जोडी पनि त्यही पर राखिएको एउटा बेन्चमा गएर बस्यो । दुवैतिरका जोडी आआफ्नै धुनमा थिए । राघव र स्तुति बसेको ठाउँ भने रुखले छेलिएर अर्को जोडीले देख्न सक्दैनथ्यो । राघव र स्तुति चाहिँ तिनीहरूलाई देख्न सक्थे । राघव र स्तुति त्यो जोडीलाई बारम्बार हेर्ने गर्थे ।   

त्यहाँ त उनीहरूले अचम्मको दृश्य पो देख्न थाले । दृश्य भने यस्तो थियो– सर्वप्रथम त्यो काले केटोले आफ्नो टाउकोमा लगाएको क्याप फुकाल्यो । त्यसपछि आफ्ना दुई हात घाँटीमा राखेर आफूले लगाएको मुकुन्डो पो फुकाल्यो । 

मुकुन्डो फुकालेपछि त त्यो काले केटाको सक्कली रूप देखियो । त्यो काले केटो त गोरो र राम्रो पो रहेछ । के कारणले मुकुन्डो फुकाल्यो, फेरि तुरुन्तै लगायो ?! राघव र स्तुतिले जोडी त मिलेको पो रहेछ भन्न थाले । त्यो केटा किन भेष बदलेर हिँडेको होला ? राघव र स्तुतिको मनमा कुरा खेल्न थाल्यो । त्यो केटालाई पुलिसले समात्न खोजेको छ कि ? के ऊ ठुलो अपराधी हो ? आफ्नी प्रेमिकासँग भेट्दा पनि किन छद्मभेष ? स्तुति र राघवका मनमा कुरा खेलिरह्यो ।