एक टुक्रा
मात्र एक टुक्रा
रोटीको लोभमा
एक दिन
मातृभाषाहरू यसरी हराउने छन्
जसरी
हराए इतिहासको गर्भमा
ती डाइनोसरहरू ।
तब
तब मात्र
रोटीको पछि पछि
भागदौड गरिरहेका मान्छेहरू
भन्न थाल्ने छन्
म को हुँ ?
खोइ मेरो भाषा ?
मेरो पहिचान के हो ?
मेरो देश कहाँ छ ?
रोटीसँग
हो, मात्र रोटीसँग
आफ्नो मातृभाषाको हत्या गर्नेहरूले
पाउने छन्, त्यतिखेर
कुनै पार्कमा
सडकको बिचमा
वा सहरको मध्य भागमा
केवल
पोसाक, मूर्ति, सालिक, चिह्नहरू
म्युजियममा सजिएको
बाजागाजा ।
पोसाकसँग हुने छैन भाषा
चिह्नसँग हुने छैन भाषा
मूर्तिसँग हुने छैन भाषा
सालिकसँग हुने छैन भाषा
र उनको भनिएको
देशसँग हुने छैन भाषा
दुःखको कुरो त
यो हुने छ कि
आफ्नो भाषालाई युग युग गुन्जाइरहने
ती बाजागाजाले पनि
बिर्सिसक्ने छ– मातृभाषा ।
यसपछि
मानिसहरूसँग
ज्ञान हुने छैन
विज्ञान हुने छैन
सभ्यता हुने छैन
देश हुने छैन
परिचय भन्ने केही पनि हुने छैन
हुने छ त केवल
हात हातमा एक एक टुक्रा रोटी ।
त्यत्तिखेर
हो, त्यत्ति नै खेर
रुँदै रुँदै
इतिहासले पढाउने छ
डाइनोसर बनेको
मानव सभ्यता र मातृभाषाको टिठलाग्दो कथा ।