• २४ जेठ २०८२, शनिबार

आकाशभरि घाम फाँटभरि तोरीफूल

blog

संवत् विक्रमीको २०८१ मङ्सिर महिनाले आधा आयु के निखार्दै थियो, मलाई मध्यनेपालको नवलपरासीका केही भूमि स्पर्श गर्ने सुयोग मिल्यो । नियमित आकस्मिकताले डोर्‍याएको भन्नु पर्ला । म वर्षको एकपल्ट त्यो भुइँ छुन आतुरिन्छु । फराकिला टार पसारिएर खोइ कतासम्म फिँजारिन्छ, त्यो फिँजारिएको हेर्न त्यहीँ नपुगी नहुने भएर बर्सेनि म त्यहाँ पुगेकै हुन्छु । फुसफुसे कुहिरोको चक्रव्यूह तोडेर यो याममा झुल्के घाम देख्न मुस्किलै पर्छ । बाक्लो कुहिरोको बटालियनले जताततै मार्चपास गरेर बसेको हुन्छ । मध्यरातदेखि नै कुहिरोले षड्यन्त्र बुन्न थाल्दो रहेछ । यति बलियो अडान लिएर बसेको हुँदो रहेछ हुस्सु र कुहिरोले कि घामको कुनै आदेश पालन गर्न नपर्ने रहेछ क्यार ! त्यस्तो प्रचण्ड घामका किरण कति लुला मेरा बाबै ! लाग्छ, त्यतातिर घाम भनेको फगत उज्यालोबाहेक केही होइन नि । घामले बनाउने घमाइलोको कल्पना तपाईं शिशिरको तराईमा कहिल्यै नगर्नूस् सुधीजन । बरू घना कुहिरोको साम्राज्य हेर्न जान परे त्यहाँ निर्धक्क जानुभए हुन्छ । बाहिर नगई नहुने भएकालाई मात्र नत्र जीवनको गति शून्य बराबर । सवारीसाधनमा दिउँसै बत्ती बाल्दै हिँड्नु पर्ने । दिनहुँको मजदुरी गर्न हिँडेका निम्छराका हुललाई यो कुहिरोले कतिसम्मको पीडाम्मे बनाउने रहेछ भने नि उनीहरूलाई बाहिर निस्केर काम गर्न साह्रै गाह्रो भएर भरेको चुलो नै बल्ने हो कि होइन मै डुबेर बस्नुको विकल्प रहेन छ । 

कुहिरो र हुस्सुलाई सघाउन शीतका थोप्ला फुस फुस, फुस फुस बाछिटाको रुपाकृतिमा उपस्थिति जनाउन आइहाल्छन् । थपमा चिसो स्याँठले पनि औधी सघाउँदो रहेछ । कुहिरो, शीत र स्याँठको गठजोड हेर्न मन लागे पनि त्यहीँ पुग्नु पर्छ । दिन ढलेसँगै बिस्तारै आकाशमा सेतो घाम कुहिरोभित्र तैरिरहेको भानमा कमजोर राप तापयुक्त घाम रूप परिवर्तन गर्न अभिशप्त हुन्छ । अझ यसो भनौँ होला– घाम नउदाउँदै अस्ताउने रहेछ । एकैचोटि गोधुलीको घाम तयारीमा बसे जस्तो । सेतो बादलभित्र लुकेर तैरिइरहेको सेतो घाम रातो घाममा कति छिट्टै रूप बदलिन्छ नि ! यस्तो अलौकिक दृश्यांशको पनि दर्शक हुने भए त्यहाँ जानै पर्छ । शीतका कुरा, कुहिराको कुरा, चिसो स्याँठका र फुसफुस झर्ने पानीका थोपाका कुरा गर्न नपाउँदै त्यतैकतै लमतन्न खेतका फराकिला फाँटमा पहेँलपुर तोरीबालीको अर्कै रोमहर्षक रोमाञ्चकताले त्यसै त्यसै के के गरिदिन्छ, दिन्छ भन्नलाई शब्द आउँदै आउँदैन अझ शब्दातीतै बनाइदिन्छ भनिदिउँ न हुन्न ? 

हजुरआमाको टाउकाको चरर चिरेको सिउँदो झैँ लामो आली टाढा कतै निस्केको छ । तोरीफाँट बिचबाट गुज्रेको आलीलाई बाटो बनाए पनि हुन्छ । बाटो त बाटै भइहाल्यो । आली पनि बाटै हो । मूलबाटोबाट हिँडेर तोरीफाँटको आनन्द लुट्न पाइन्न । तोरी फाँटैफाँटको आलीबाट लडौँला लडौँला झैँ हिँड्दाको मजाको वर्णन अनुभवातीत छ । त्यतिखेरै क्षितिजतिर ओर्लिरहेको रातो घाम त्यहीँ कतै अड्किदिए हुन्थ्यो मात्र लागिरहने । तोरीफाँटको आलीबाटै रुखका हाँगा हाँगामा सर्दै सर्दै अड्के अड्के जस्तो, रुखकै टुप्पोमा टक्क रोकिएको रातो घाम हेर्न र तोरीखेत पसारिएको हेर्न जुरेको दृश्यावलीलाई के भन्ने ? प्रकृतिको खुला क्यानभास कि अर्थोकै केही ?

मधुरो घामका लुला किरणले पनि पोल्न थाल्दो छ अहिलेको तराई । सेतो घामको अनुहार कति छिटै रातो हुन्छ घामले पत्तै पाउँदैन कि लाग्ने नि ! घामका कुरा घाम धेरै भएको ठाउँमै पुगेर गर्नु पर्छ । घाम धेरै भनेको आकाशभरि घामैघाम भनेको होइन । घामको रापताप, घामको उसिसनिसिस, घामले डामेर हुने छटपटाहट, सिँयाल खोज्दै हिँड्नुपर्दाको क्षणप्रतिक्षणको कुरा गरेको नि ! अनि पहेँलपुर तोरी फूलेको फाँटभरिको पहँलो घाम आँखाको फलकले नभेटेको निस्सिम सीमाहीन सीमालाई मनैदेखि उफार्न मन लागेको कुरा गर्न म यहाँ मध्यतराई आएको हुँ ! यहाँबाट देखिने पहेँलपुर तोरीफाँट मैले देखेको थुप्रै तोरीफाँटबाहेकको दृश्यांशहरूको बिरलाकोटी दृश्य हो भनेर ठोकुवा गर्न मन लागेर यो चौ चौ सुनाउने मौकाको खोजी यहाँहरूलाई पनि जुरोस् न त भन्न पनि यहाँ आएको हुँ !

आँखाले भेउ पाउन मुस्किल खेतका फाँटभरि भरि देखिने फराकिला न फराकिला तोरीफाँटले किन यतिबिघ्न उद्वेलित पारेको होला मैले कहिल्यै उत्तर पाइनँ । अतिरेक उत्ताउलो बन्छु म तोरीफाँटका पहेँलपुरको मातले । तोरीफूलको मत्ताप सुवासले झनै पो यो मातलाई सघाउँछ । किन किन यस्तो ठाउँमा मन स्थिर बनाउनै सक्दिनँ । त्यसै त्यसै फुर्फुरिन्छ मनको भित्री परतसम्मै । केक्केन भयो जसरी उत्ताउलिएको मन, मस्तिष्कको नसा नसा बटारिएर आउँछ । रगतधरि भुक्लुक भुक्लुक उम्लन्छ । तोरीफाँट देख्दा नै मन बुरुक् बुरुक् भएर मभन्दा अगाडि नै गएर लडिबुडी गर्न थालिहाल्छ । आली आली उफ्रन थालिहाल्छ । तोरीबारी र तोरीफाँटलाई चिरेर कताकता दौडिएका बाटाहरू भएर टाढा पुग्न मन रौसिएको हुन्छ । बाटोभन्दा मनै कता कता दौडिसकेको हुन्छ । बाटाहरू कता, मन कता हुन्छ । तराईका फराकिला फाँटले आफ्नो सौम्यपनको दर्शन यतिबेला निस्फिक्री देखाउँछ यस्ता तोरीफाँटले । तोरीफाँट लमतन्न गएर क्षितिजसम्म पुगेर टुङ्गिन्छ । क्षितिजभरिको रातो घाम र धरतीभरिको तोरीफाँटको चोखो सम्मिलनको उपल्लोस्तरको उदाहरण कता पाइएला र खै ! 

तराईलाई शिशिर ऋतुको कहरले अभिशप्त बनाएको हामीले सुनिआएको, देखिआएको र कताकति भोगिआएकै हो तथापि यहाँ जीवनपर्यन्त जीवन बिताउनेले निःश्वास छाडेको सुनेको छु । उनीहरूले छाडेको लामो उच्छ्वास निलेको छु । उनीहरू मनैदेखि यस्तरी निखारिन्छन् कि– बरु जेठको उष्म घामभन्दा त यही ठिही, ठिहिरो, यही कक्य्राउने शीतको कहर र शीतलहरै प्यारो । यसरी पनि कहाल्लिएको पनि नसुनिएको होइन– बरु कहिल्यै यो गर्मीयाम त नआएकै जाती । जे जे नापिन्छ नापियोस् । भन्नूस् त सुधीजन– घामको राप कति पीडाम्य भएर गुज्रेको रहेछ । प्रकृतिको चक्र पनि कति अन्यायी । प्रकृतिले समान न्याय दिन्छ भनेको होइन ? खै त एउटै देशमा कतै घामको प्रणाली कति धेरै जीवनदायी । भन्न हुने कि नहुने घामले शापित तराईली जीवनलाई न शीतलहरले न्याय दिएको छ न घामैले । तैपनि घामभन्दा शीतको कहरिलो लहर बेहोर्न तैयार हुनुको विडम्बनालाई के भनेर परिभाषित गरौँ र खै । डम्म कुहिरोको आकाशमुनि लुकेको लाग्ने तराईको शिशिरकालको अन्त्य हुँदानहुँदै ग्रीष्मको गरमले तड्पाउने आवहवा जीवनशैली बनाएका तराईलीलाई न कुनै वसन्त न कुनै सदावहार ऋतुले दिने कञ्चन दृश्यावलीको वर्णनातीत वर्णनको यथार्थ सुनाउनु र ! अपार अन्नको उपजाउको अगाडि न कुनै ऋतुचक्रको असरले केही गथ्र्यो न यो दुनियाँलाई प्रकृतिको यो र त्यो चक्रको व्यग्र प्रतीक्षामा रहन्थे ।

फेरि मनचाहिँ उही सीमाहीन तोरीफाँट, अनि हुस्सु छिचोलेर आकाशले झुन्ड्याइरहेको रातो घामको अलौकिकतातिरै मन एकोहोरिएको छ । साँझपख आकाशले कुहिरो, बादल र हुस्सुको मजेत्रो ध्यारधुर पारेर च्यातेर फालिदिएको छ । नीलाभको एकटक भोलि बिहानसम्मलाई भए पनि आकाशभरि पोतिएको सुरम्यपन अर्कै छ, कल्पनातीत जस्तै । बिहानको र आधा दिनसम्मको त्यो कहरिलो शीतलहरको अँचेट्याइ भुसुक्क बिर्साइदिन्छ । रातो घाम अड्किरहे हुने आकाशमै जस्तो लाग्छ। बिस्तारै क्षितिज छोएको जङ्गलको टुप्पो छोएर ओर्लियो रातो न रातो घाम क्षितिजको अन्तःपुरमा । तराईको उष्णतालाई यस्ता यस्ता मौलिकतापूर्ण प्रकृतिको खेलालाई दिमागबाट हटाउन बडो मुस्किल पर्छ । अझै भन्नै पर्दा शिशिर ऋतुकालीन प्राकृतिक आलो क्यानभासमा पोतिएको तूलिकाघात पो हो कि त यो यामको तराईली प्यानोर्‍यामिक दृश्यावली ! 

तोरीफाँटबाट उछिट्टिएको पहेँलपुर आभाले आँखामा छुट्टै रिल लोड गरेको जस्तो खाली त्यही तोरीफाँटको नयाँ नयाँ दृश्यलाई दोहोर्‍याएको तेहेर्‍याइरहेको छ मानौँ धरतीभरि योबाहेक अरू केही फुलेको छैन, झुलेको छैन र फुल्दैन पनि र झुल्दैन पनि । विस्तारित तोरीबारी, तोरीफाँटको फैलावटको वर्णनातीत वर्णनलाई मैले शब्दहरूको खोजी गर्नतिर लागिनँ । यो नै काफी छ जस्तो लाग्यो । भन्न त वातावरण वैज्ञानिकले नेपालको वातावरणीय विविधता अध्ययन गर्न लायक छ । अझ यो मध्यक्षेत्र त आबहवाका हिसाबले पनि विषम हावापानी भएको जिल्ला हो भनेर सामान्य ज्ञानमा घोकाएको घोकायै अहिलेसम्म घोकाएकै छ । त्यही विषमता हो त यो कुहिरो र हुस्सुमालाको लहर । त्यही फरक आबहवा हो त यो उदाउने घामको दुर्लभता र अस्ताउँदो घामचाहिँ रोमरोम कुतकुत्याउने गरी क्षितिजतिर ओर्लने । मलाई त किन किन यो शिशिरयाममा तराईली प्रकृतिको रमिता हेर्न हुर्रियौँ र यी प्राकृतिक खैलाबैलामा किन आकण्ठ नडुँबूँ हँ लागिरहन्छ कुन्नि किन हो यो पनि थाहा छैन । प्रकृतिका यी खुला र आलो क्यानभासले मनभित्र आह्लादका तरेली बन्दै/भत्कँदै, भत्कँदै बन्दै त्यसै त्यसै उत्फुल्लको चुली टेकेर हिँडेको कसलाई सुनाउँ पो भएको छ । यसरी मिलेको पहेँलपुर फाँटभरिको खुसी, रक्ताभ आकाशभरिको उल्लास सधैँभरिलाई सँगालेर राख्न मिल्ने कसरी होला भन्ने सोच्नै नपाईकन फर्कनुपर्ने रैबार भइसक्छ । बुर्कुसी मारेर दौडेको मनको घोडा कता मात्र पुगूँ भनी भनी मनलाई चौ चौ पारिरहेछ । यो उतारचढावको प्रकृतिलाई मन फुकाएर हेर्ने लालसाको मिटर चढेको चढ्यै छ । मन त यसैउसै कहिले पो अघाएको छ र ! यहाँ त आँखा पनि अघाउने छाँटकाँट छैन भन्दा हुन्छ । यो बिरलाकोटी दृश्यावली अँगालोमा अटाउने भए अँगालो मारेर एकछिनलाई एकाकार भइदिऊँ पनि नलागेको कहाँ हो र भन्या ! कुहिरो र हुस्सु एकातिर कुदेको छ । मन अर्कोतिर कुदेको छ । आधा दिनमा फाटेको हुस्सुको पर्दा च्यातिएर उडेको कपास झैँ सेता र घुर्मैला टुक्राहरू ऊ ... पर डाँडाको टुप्पोमा गएर थपक्क बसे झैँ देखिन्छ कता कता टाटाटुटी जस्तो । भरे रातिदेखि बस्तीभरि त्यही टाटाटुटी, थेग्लाथेग्ली ओर्लेर मान्छेलाई कहर दिने होला हगि ! कहर पनि कस्तो नि फेरि निम्छराहरूको बाँच्ने दिनै सकिएला जस्तो । बौरिनै गाह्रो । ठहरै परिन्छ कि जस्तो । हाँसो नै सकिए जस्तो । रोएरै जिन्दगी सकिन्छ जस्तो । हुनलाई यो कक्य्राउने ठिही भनेर के गर्नु घामको सकस र दकस भनिसाध्येको छ र फेरि । घामले एकोतारले टोकसेको भोगेर होला यो शीतको कहर भन्ने कि लहर गम्म लुगा लपेट्यो सकिन्छ तर त्यो उतप्त घामको डसाइ भुलिसक्नुको छ र । खुइय्य... काढ्छन् । सकेसम्मको लामो सास तानेर उहापोह बिसाउँछन् ।

खुसी हुन सघाउने तराईली उसपारको पहेँलपुर तोरीखेत, बारी र फाँट । तोरी फूलबाट मगमगाएको मिठो न मिठो सिधै नाकमा आएर ठोक्किने मन मताउने सुवासको महकता, मनै हुरुक्क पार्ने पश्चिमा क्षितिजबाट ओर्लिरहेको रातो न रातो रुपौलो घाम । हुस्सु, कुहिरो र ठिहिर्‍याउने शीतलहरसहितको यावत् आबहवामा रमाउँदै, फुर्फुरिँदै, बुर्कुसी मार्दै, आफूआफैँमा मक्खिँदै, मखलेलको चरमचुलीमा पुगेर फुर्किंदै नेपालभूमिकै मध्यविन्दुमा पुगेर प्राकृतिक थेरापीले सेकिएर यो पटकको यायावरी रन्कोले अटेसमटेस भएर फर्केको छु सुधीजन । आपाधापीको साङ्लीमा कसिएर बाँकी दिनको फेहरिस्त कुरेर बसेको छु । रोजमर्राका दैनिकीबाट भागेर केहीछिन अलि टाढै बसेर प्रकृतिको खेल हेर्न जानुको शब्दातीत अनुभूतिले लबालब भई फर्कनुको आनन्द केहीले पनि पुरताल गर्दैन होला हगि ।