• २१ वैशाख २०८१, शुक्रबार

दुर्गममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

blog

रामादेब आधारभूत विद्यालयको भवन । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, चैत २३ गते  । ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । स्थानीयवासी मागलाई सम्बोधन गर्दै जर्मन सहयोग रहेको हेल्फे नेपाल संस्थाले सो भवन निर्माण गरेको हो । 

रामादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोर्ख शाहीले दुई तले तेह्र कोठे पक्की भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण भएको बताउनुभयो । विद्यालय कै छेउमा छ कोठे एक तले शौचालय पनि सो संस्थाले निर्माण गरि दिएको छ । उहाँले विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएपछि हाल पठनपाठन समेत नयाँ भवनमा सुरु भएको बताउनुभयो ।

भवन विद्यालय व्यवस्थापन समितिले तीन वर्ष लगाएर निर्माण कार्य पुरा गरेको हो । यसअघि राम गाउँ नजिकको विद्यालय जीर्ण भएको कारण पठनपाठनमा समस्या आउँदा स्थानीयले हेल्फे नेपाललाई भवन निर्माणका लागि आग्रह गर्नु भएको थियो । उहाँले नयाँ पक्की भवन निर्माण भएपछि अब विद्यार्थीहरूले सुरक्षित रूपमा पढ्न पाउने बताउनुभयो । भवन भूकम्प प्रतिरोधी समेत रहेको छ ।

कक्षा आठसम्म पठन पठान हुने उक्त विद्यालयमा अब वर्षामा पानी चुहिने समस्याबाट समेत मुक्ति मिलेको छ । भवनसँगै कक्षा कोठामा फर्निचर पनि नयाँ निर्माण गरिएको छ । ताँजाकोट गाउँपालिकाका सत्र वटा विद्यालय मध्य पक्की भवन पाउन सो विद्यालय पहिलो भएको छ । यसका लागि सहयोगी निकायले साँढे दुई करोड बजेट खर्च गरेको छ । विद्यालयमा १२० जना विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ ।