• १३ साउन २०८१, आइतबार

आठ वर्षदेखि पुुल अलपत्र

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ३ गते । रुपन्देहीको भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने मूल सडकका दुईवटा पुल आठ वर्षदेखि अलपत्र परेका छन् । तिनाउ र दानव नदीमा आधा निर्माण भएर रोकिएका ती पुल निर्माणको बाँकी काम कहिले सुरु हुने हो ठेगान छैन । 

ती पुल पहिले पप्पु बाग्मती जेभी कन्स्ट्रक्सन प्रालिसँगको सम्झौताअनुरूप निर्माण नभएपछि तोडिएको थियो । पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरे पनि तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरी अलपत्र पारेर भागेको हो ।अहिले नयाँ–नयाँ कम्पनीलाई ठेक्का दिए पनि पुलको अवस्था भने उस्तै छ । 

विश्वमा शान्तिको सन्देश फैलाउने लुम्बिनी पुग्नुअघि सोही बाटो हुँदै लुम्बिनी पुग्नेले ती पुलको दुर्दशा देख्ने गरेका छन् । लुम्बिनी जाने सडक फराकिलो पारिए पनि तिनै पुलका कारण सो सडकको सुन्दरता कायम हुन सकेको छैन । अलपत्र अवस्थाका पुलको बाँकी कामका लागि रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको भए पनि सो कम्पनीले पनि कामै थालेको छैन ।

तिनाउ खोलाको पुल निर्माणका लागि पप्पुसँग छ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो भने दानव नदीको डन्डा पुल निर्माणका लागि पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपियाँमा भ्याटसहित ठेक्का सम्झौता भएको थियो ।

बेथरी बजारछेउमा पुरानो संरचनामा रहेको अहिलेको चालू सानो पुल जीर्ण र जोखिममा छ भने सोही स्थानमा सानो प्रहरी बिट नै राखेर एकतर्फी सवारी आवागमनको व्यवस्था गरिएको छ । सो स्थानमा दैनिक पाँच जना ट्राफिक प्रहरी खटाएर सवारी आवतजावत गराइएको छ ।

हालसम्म पप्पुले यी दुवै पुलबाट साढे पाँच करोड  रुपियाँभन्दा बढी भुक्तानी लगिसकेको हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले जानकारी दिनुभयो । “अलपत्र पारिएको पुलमा दुईवटा पिलर मात्र ठड्याइएको छ, आधा ढलानसमेत गरिएको छ, अब हामी छिटो निर्माणका लागि नयाँ कम्पनीलाई ताकेता गर्छाैं,” उहाँले भन्नुभयो । 

भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभीसँग सम्झौता भएको थियो । १० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई जिम्मा दिइएको उहाँले बताउनुुभयो ।  

ठेक्का सम्झौता भएको १५ दिनभित्र फिल्डमा जानुपर्ने भए पनि ठेकेदार फिल्डमा नगएकाले काम सुरु गर्न पत्र पठाइएको उहाँको भनाइ छ । काम सुरु गर्न निर्माण कम्पनीलाई पत्र पठाए पनि पत्रको जवाफ नआएको र मौखिक रूपमा हप्ता दिनमै काम सुरु गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

२०७१ असार २५ मा पप्पु÷बागमती जेभीले दुई वर्षमा काम सक्ने गरी जिम्मा लिए पनि म्याद थपसहित २०७५ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको थियो तर पुल निर्माणको ठेक्का लिएर पटक–पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो । हुलाकी सडक आयोजनाले विभागको निर्देशनअनुसार नै ठेक्का तोडेको हो । 

लुम्बिनी पुग्ने पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी यही सडकबाट ओहोरदोहोर गर्ने गरेको पर्र्यटन व्यवसायी खिम श्रेष्ठ बताउनुहुन्छ । पुल समयमा नबन्दा लुम्बिनी आउने पर्यटकले धेरै दुःख पाएको र पुल नबन्दा घण्टौँ लाम लागेर सवारीसाधन र मानिस ओहोरदोहोर गर्नुपर्दा लुम्बिनीको प्रतिष्ठामा आँच ल्याउने काम भइरहेको उहाँको भनाइ छ ।