• १२ पुस २०८१, शुक्रबार

विश्व बैङ्कको प्रक्षेपण

blog

विश्व अर्थतन्त्रमा सृजित विषम परिस्थितिका कारण मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कुचन बिस्तारै कम हुँदै गएको अनुभूत हुन्छ । आन्तरिक दबाबका बाबजुद पनि अर्थतन्त्र लयमै रहेको सरकारको भनाइलाई आर्थिक विश्लेषकहरूले पत्याइहाल्ने आधार नभएको भनेर टिप्पणी गर्दै आएका थिए । यद्यपि विश्व बैङ्कले तीन महिनाअघि सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले सरकारको दाबीलाई पुष्टि गरेको थियो । प्रतिवेदनमा गत आर्थिक वर्षको तुलनामा चालु वर्ष नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार भएर ३.९ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको थियो । यसैको सेरोफेरोमा केन्द्रित रहेर मङ्गलबार सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षा प्रतिवेदन ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ ले चालु आर्थिक वर्षमा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने संशोधित अनुमान प्रक्षेपण गरेको छ । 

विश्वको समग्र अर्थतन्त्रमा देखिएको सुस्तताका कारण सन् २०२४ मा विश्व अर्थतन्त्र २.३ प्रतिशतको औसत वृद्धिदरमा सीमित रहने अनुमान प्रतिवेदनमा गरिँदा चालु आवमा नेपालले हासिल गर्ने वृद्धिदर तुलनात्मक रूपमा सन्तोषजनक मान्नुपर्ने हुन्छ । बैङ्कले सार्वजनिक गरेको ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र तर न्यून निजी लगानी’ शीर्षकको पछिल्लो ‘नेपाल डेभलपमेन्ट अपडेट’ ले आव २०२४ को पहिलो अर्धवार्षिकमा आवास, खाद्यान्नसम्बन्धी सेवा र पर्यटन आवागमनमा उल्लेख्य वृद्धि भएकाले अर्थतन्त्रमा सुधार देखिएको स्पष्ट गरेको छ । वैदेशिक रोजगारीमा वृद्धिसँगै विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धि, पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको प्रतिवेदनले उल्लेख गरेको हो । यो वृद्धिदरलाई आर्थिक क्षेत्रमा सकारात्मक मानिएको छ ।

विश्व बैङ्कले प्रतिवेदनमा प्रक्षेपित आर्थिक वृद्धिदर हासिल गर्न केही मार्गनिर्देशसमेत गरेको देखिन्छ । उद्योग र सेवा क्षेत्रलाई पनि चलायमान बनाउन सकेको भए आर्थिक सुधारमा कोसेढुङ्गा साबित हुने उल्लेख गरेको छ । आव २०२३ मा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत मात्र रहेकोमा आव २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । यद्यपि भारत, खाडी मुलुक र मलेसिया जस्ता साझेदार मुलुकको सुस्त वृद्धिका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने जोखिम रहेको तर्फ पनि प्रतिवेदनले सतर्क गराएको छ । यसका लागि व्यावसायिक वातावरणमा सुधार गर्दै पर्याप्त निजी लगानी आकर्षित गर्न जरुरी हुने भनिएको छ । 

नेपालको अर्थतन्त्र सुधारमा सिङ्गो दक्षिण एसियाको समग्र अर्थतन्त्रले प्रभाव पार्ने स्पष्ट छ । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको दक्षिण एसिया क्षेत्रको विश्लेषणमा विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च हुने उल्लेख छ । यस्तो वृद्धि सन् २०२४ मा ६.० प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसै गरी सबैभन्दा बढी भारतको आर्थिक वृद्धि ७.५ प्रतिशत रहने र त्यसपछि बङ्गलादेशको ५.६, भुटानको ४.९ र पाकिस्तानको १.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यसै गरी माल्दिभ्सको आर्थिक वृद्धि ४.७ र श्रीलङ्काको २.२ प्रतिशत हुने अनुमान गर्दै धेरै मुलुकको वृद्धिदर अझै पनि कोरोना महामारीपूर्वको तहभन्दा कम रहेको तथ्य सार्वजनिक गरिएको छ । यतिबेलै दक्षिण एसियाली मुलुकमा निजी क्षेत्रको लगानीमा सुस्तता आएकाले ठुलो सङ्ख्यामा जनशक्ति बेरोजगार रहँदा आर्थिक वृद्धिमा गम्भीर असर परेको आकलन गर्दै प्रतिवेदन सार्वजनिकीकरण समारोहमा दक्षिण एसियाका लागि विश्व बैङ्कका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओहन्सोर्जको जनसाङ्ख्यिक लाभलाई पूर्ण रूपमा उपयोग गर्न नसकेको टिप्पणीप्रति मुलुकका जिम्मेवार निकाय गम्भीर हुन आवश्यक देखिन्छ ।

‘साउथ एसिया डेलभपमेन्ट अपडेट’ ले आर्थिक सुधारका लागि केही नीतिगत सुझावहरू पनि दिएको छ । जस अन्तर्गत व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्नुपर्ने उल्लेखनीय रहेका छन् । नेपालको व्यावसायिक वातावरण सुधारमा पुँजीगत खर्च कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै व्यवसायी र नागरिकको मनोबल बढाउन आवश्यक रहेको विश्व बैङ्कका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले औँल्याउनुभएको छ । यसै गरी सूचना प्रविधिमा आधारित कम्पनीहरूलाई नेपाल आउन र व्यवसाय गर्न उचित वातावरण बनाइनुपर्ने, नयाँ सोच र प्रतिस्पर्धी क्षमतासहित व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँको सुझाव मननीय छ । विकासशीलतर्फको यात्राका लागि सन् २०२६ सम्ममा प्रतिव्यक्ति आय वृद्धि दबाबमा रहेको अवस्थामा विश्व बैङ्कको प्रतिवेदनमा औँल्याएका सुधार क्षेत्र एवं मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नु समीचीन देखिन्छ ।