डा. प्रकाश बुढाथोकी
विश्वभर टाइफाइडबाट बर्सेनि एक करोड ७० लाख व्यक्ति पीडित हुन्छन् र छ लाखले ज्यान गुमाउँछन् । जसमा ८० प्रतिशत एसियाली मुलुकमा पर्छन् । अस्पतालमा भर्ना भएका रोगीमध्ये ८० प्रतिशतमा दूषित पानीको सेवनबाट टाइफाइड भएको पाइन्छ । काठमाडौँलाई त झनै विश्वमा टाइफाइडको राजधानी मानिन्छ । दिसापिसाब मिसिएको खाना तथा पानीबाट गर्मी मौसममा मात्र फैलिने यो रोग राजधानीमा बाह्रै महिना देखिने गर्छ ।
ग्लोबल बर्डेन अफ डिजिज २०१९ अनुसार नेपालमा ८२ हजार चार सय ४९ भन्दा बढी बिरामी रहेको आशङ्का छ, जसमा ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । पाटन स्वास्थ्य विज्ञानको अध्ययनमा नेपालमा एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा टाइफाइड छ, जब कि विश्व स्वास्थ्य सङ्गठनले प्रतिएक लाख जनसङ्ख्यामा एक सय भए उच्च टाइफाइडको जोखिम भनी वर्गीकरण गरेको छ । प्रतिलाखमा चार वर्षसम्मकामा सात हजार छ सय ४५,देखि नौ वर्षकामा ७१ हजार तीन सय १० देखि १४ वर्षमा तीन हजार सात सय ५० जनामा सङ्क्रमण रहेको सरकारी तथ्याङ्क छ । विगत पाँच वर्षको एचएमआईएस हेर्दा हरेक वर्ष चार लाख ५० हजार बिरामी भेटिने गरेका छन् । सङ्क्रमण हरेक उमेरकालाई हुन सक्छ तर बच्चामा बढी र गम्भीर देखिने गरेको छ । जसलाई खोपले रोकथाम गर्न सकिन्छ ।
कारण र सर्ने तरिका
मानिसमा मात्र पाइने सालमोनेला टायफी, सालमोनेला प्याराटाइफी ए र साल्मोनेला प्याराटाइफी बी तीन प्रजातिद्वारा सङ्क्रमित भएर लाग्छ । यसमध्ये टायफीले कम सङ्क्रामक, कम खतरनाक, कम भयानक र प्याराटाइफी ए, सी र बीले अलि भयानक खालको विषमज्वरो निम्त्याउँछन् । नेपालमा भने सालमोनेला प्याराटाइफी ए बढी मात्रामा पाइएको छ । जीवाणु घामबाट सुरक्षित रहेमा पानी, माटोमा लामो समयसम्म बाँच्न सक्छन् र ६० डिग्री सेल्सियस तापक्रममा नासिन्छन् । सालमोनेला कीटाणु पानीमा, फोहोरमा र मैलामा बस्न मनपराउने हुँदा पानी मूलदेखि मुखसम्म पुग्दा दूषित हुन सक्छ । रोगीको मलमूत्रको माध्यमबाट उत्सर्जित भई जीवाणुलाई झिँगाले, प्रदूषित पानी, दूध र सागसब्जीमा मल र खाना जस्ता विभिन्न माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरी उसलाई रोगग्रस्त बनाउँछ । गर्मीयाममा झिँगाको वृद्धिसँगै म्यादी ज्वरोका रोगीको सङ्ख्या बढेको देखिन्छ । अन्य वस्तु धुलो, माटो, थर्मोमिटर, लुगाफाटो इत्यादिले समेत रोग पैmलाउनमा सहयोगी भूमिका खेलेका हुन्छन् ।
रोगवाहक
एक पटक रोग लागेर निको भइसकेको भए पनि पित्ताशयमा रोगका जीवाणु छन् भने उक्त व्यक्तिलाई रोगवाहक मानिन्छ । रोगवाहकले उत्सर्जित गरेका जीवाणुले गर्दा नै रोगले महामारीको रूप लिने गरेका घटना थुप्रै छन् । रोगीले दिसा गर्दा, पिसाब फेर्दा हात सङ्क्रमित भई उक्त दूषित हातले खाद्यपदार्थ छुँदा दूषित भई रोग पैmलिन सक्छ । द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनका अनुसार ५ प्रतिशतमा रोग आफैँ सञ्चो हुन्छ तर ब्याक्टेरिया रगत, दिसापिसाबमा रहिरहन्छन् । आफू स्वस्थ रही अरूलाई रोग सारिरहने व्यक्तिलाई क्यारिअर भनिन्छ । यस्तो जीवाणु बोक्ने पहिलो व्यक्ति अमेरिकामा पहिचान भएका मारी मालन हुन् । न्युयोर्क सिटीमा खाना पकाउने उनले काम गर्दा ५३ जनाभन्दा बढीलाई रोग सङ्क्रमित पारेकी थिइन् । नेपालमा पनि त्यस्तै भएका धेरै रहेको अनुमान छ ।
लक्षणहरू
गर्मी र वर्षायाममा बढी हुने यस तीव्र सरुवा रोगले पाँच देखि ३५ वर्ष उमेरकालाई बढी सताउने गर्छ र २० वर्षमाथिकामा प्रतिरक्षात्मक क्षमता हुने भएकाले कम असर पार्छ । रोग परिपक्व हुने अवधि सङ्क्रमणताको मात्राअनुसार ५–२१ दिन पनि हुन सक्छ, तथापि सङ्क्रमणको मात्रा, शारीरिक अवस्थाले पाँचै दिनमा समेत लक्षण देखिन सक्छ । बढी प्रकोप नेपाल, भारत, पाकिस्तान, चीन र जापानमा मुख्यतया सरसफाइको अभाव, फोहोर वातावरण तथा स्वस्थकर पानीको वितरणको अभावका कारणले देखिन्छ ।
टाइफाइडका कीटाणुले आक्रमण गरेपछि सुरुमा अल्छी लाग्ने, ज्वरो आउने, कब्जियत हुने, भोक नलाग्ने, जिउ भारी हुने, टाउकोको अगाडिको भाग बढी दुख्ने, पिठिउँ र पेट दुख्ने, घाँटी दुख्ने, जिब्रो सुक्खा देखिने र सेतो हुँदै जाने गर्छ । हल्का खोकी लाग्ने, खान मन नलाग्ने, जाडो भएजस्तो हुने, कहिलेकाहीँ बान्ता, हरियो रङ्गको पखाला (काँचो केराउको झोल जस्तो) वा कब्जियत हुने, पेट फुल्ने, आँखा खोल्न नसकी सुतिरहने, नाथ्री फुटेर रक्तस्राव हुने पनि देखिन्छ । ज्वरो क्रमिक रूपले बढ्दै १०४–१०५ डिग्रीसम्म आउने एवं ज्वरो माथि चढिसकेपछि आफैँ झरेर सामान्य अवस्थामा नआउने हुन्छ । ज्वरो अर्थात् सिँढी उक्लेझैँ क्रमशः बढ्दै जाने भएकाले स्टेपलेडर फिवर भनिन्छ । कमजोरी, वजन घट्ने र जलविनियोजन पनि हुन्छ ।
जटिलता
टाइफाइडका कीटाणु आन्द्राका ग्रन्थीहरूमा जम्मा भई बढ्ने, तन्तुहरूमा क्षति पुग्ने भएकाले समयमै उपचार हुन सकेन भने आन्द्रामा प्वाल परेर रक्तस्राव हुने, दिसा कालो देखिने, पटक–पटक बेहोस, पेरिटोनाइटिस, इन्सेफेलोप्याथी, निमोनिया, पेरिकाडाइटिस, मायोकार्डाइटिस, हाड, पित्तथैली, प्यान्क्रियाज, जोर्नी र मिर्गाैलालाई पनि सङ्क्रमण गरी नराम्रो असर पार्छ र बिरामीको मृत्यु हुन सक्छ । पहिले औषधि उपलब्ध नहुँदा बिरामी तीन हप्तामा आफैँ निको हुने वा मृत्यृ हुने भएकाले यसलाई म्यादे ज्वरो भनिन्थ्यो तर अहिले समयमै उपचार गरिँदा आन्द्रामा प्वाल पर्ने, बेहोस हुने, अपाङ्ग हुने र ज्यानै जाने स्थिति छैन ।
व्यवस्थापन
टाइफाइडमा ठोस खानेकुराले आन्द्रामा दबाब दिई थप क्षति पु¥याउने भएकाले झोल खानेकुरा मात्र खानुपर्छ तर मुख बार्नु पर्दैन । धेरै ज्वरो भएको, बेहोस भएको वा अन्य कुनै इमर्जेन्सीमा बाहेक बिरामीलाई तत्काल एन्टिबायोटिक प्रयोग नगरी ज्वरो घटाउने सामान्य उपाय र सामान्य पारासिटामोल औषधि दिई निदान गर्नुपर्छ । बिरामीले रोग नउल्टियोस् भन्नाका लागि औषधिको पूरा मात्रा सेवन गर्नुपर्छ । ज्वरो पूर्ण रूपले निको नभएसम्म ओछ्यानमै आराम गर्नुपर्छ ।
बिरामीको मलमूत्रबाट रोग सर्न सक्ने हुनाले उचित तरिकाबाट उचित स्थानमा बिसर्जन गर्नुपर्छ । हेरचाह गर्ने व्यक्तिले बिरामीसँग सम्पर्कमा आएको लगत्तै राम्रोसँग हात धुनुपर्छ । कसै–कसैमा ज्वरो निको भइसकेपछि पनि रोगका जीवाणु रहिरहने र दिसापिसाबबाट आइरहने हुनाले ज्वरो निको भइसकेका व्यक्तिले पनि व्यक्तिगत सरसफाइ, खानेकुराको संसर्ग र दिसापिसाब परीक्षण गराई रोगवाहक भए–नभएको कुरामा ढुक्क भएपछि मात्र पारिवारिक तथा सार्वजनिक जीवन सुरु गर्नुपर्छ ।
रोकथामका लागि खोप अभियान
नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहेकाले तथा अस्पताल भर्ना हुने कारणमा चौथोमा देखिएकाले र पानीजन्य रोगमा तेस्रो रहेकाले सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाखलाई खोप दिँदै छ । प्रभावकारिता ९६.९६ प्रतिशत रहेको टाइफाइड कन्जुगेट खोप हाल अभियानका रूपमा सञ्चालित छ । त्यसपछि राष्ट्रिय खोप कार्यक्रममा दक्षिण एसियामै पहिलो राष्ट्र हँुदै १३औँ खोपका रूपमा नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर दिने घोषणा छ । अभियानमा १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार आठ सय ५८ स्वयंसेवक परिचालित छन् ।
टाइफाइडजस्ता रोगबाट बच्न सधैँ स्वच्छ र शुद्ध उमालेको पानी पिउनुपर्छ, सडकछेउमा पाइने खाद्य तथा पेय पदार्थ, काँचो सागसब्जी र नताछिएका फल खानुहुँदैन । जोखिमयुक्त खानपान, व्यवहार तथा जीवनशैलीबाट बच्ने र टाइफाइडविरुद्धको खोप लिने नै रोकथाम हो ।