विसं १९७० साउन २६ गते जन्मेका नयराज पन्तले देश विकासका लागि प्राविधिक शिक्षा र प्राविधिक शिक्षाका लागि गणित शिक्षाको विकास अपरिहार्य भएको दृष्टान्त दिएका छन् । सो कुरा उनका कृतिको अध्ययनबाट जानकारी हुन्छ । देशको चौतर्फी विकासमा गणितको निरन्तर अनुसन्धान गर्नुपर्ने, वर्तमान ज्ञानलाई प्राचीन ज्ञानसँग निरन्तर सम्बद्ध गराइरहनुपर्ने र गणितीय ज्ञान तथा शिक्षाको विकासका माध्यमबाट नै देशलाई उँभो लगाउन सकिने नयराज पन्तको मौलिक गणितीय दर्शन रहेको पाइन्छ । विविधतासहितको मौलिकता भएका प्राध्यापक नयराजका लेखनमा गणित, ज्योतिष, इतिहास, भूगोल, भाषा, संस्कृतिलगायतका विषयले स्थान पाएको देखिन्छ ।
पन्तका कतिपय कृति तुलनात्मक रूपका छन् भने कतिपय योगदानमा केन्द्रित छन् । हिन्दु सिद्धान्तज्योतिष र ग्रिक सिद्धान्तज्योतिषको तुलना, वृत्तरत्नाकरकार केदारभट्ट र प्यास्कलबिच तुलना आदि कृतिहरू तुलनात्मक प्रकृतिका देखिन्छन् । हिन्दु सिद्धान्तज्योतिष र ग्रिक सिद्धान्तज्योतिषमा तुलनात्मक अध्ययन गरी थिबो जस्ता हिन्दु सिद्धान्तज्योतिषका पश्चिमी विद्वान्को भनाइ ‘हिन्दुहरूले ग्रिक सिद्धान्तज्योतिष सुटुक्क सारेका हुन्’ भन्ने तर्कको खण्डन गर्दै ‘अल्माजेस्टलाई हिन्दु सिद्धान्तज्योतिषले आधार बनाएको होइन, हिन्दुहरूको सिद्धान्तज्योतिष आफ्नै मौलिक सिर्जना शुल्बसूत्रमा आधारित छ’ भन्ने बलियो तर्क अगाडि सारेका छन् । त्यस्तै भास्कराचार्यले आफ्ना कृतिमा कोणको बारेमा कहीँकतै उल्लेख नगरेको प्रमाणस्वरूप तथ्य पाइएकाले नयराजले भास्कराचार्य कोण गणितसँग परिचित थिएनन् भन्ने देखाएका छन् । ज्योतिष तथा गणित विकासको परीक्षणात्मक तथा तुलनात्मक अध्ययनमा नयराजको अध्ययन अग्रणी एवं अद्वितीय मानिन्छ । नयराजका अनुसार युक्लिदले रेखागणितमा त्रिभूजका तीन वटा कोणको योग दुई समकोण हुन्छ भनी प्रमाणित गरेका छन् । यस विषयमा भास्कराचार्य केही लेख्दैनन् । यसबाट पनि भास्कराचार्यमा कोणगणितको ज्ञान थिएन भन्ने नयराज पन्तको जानकारी तथ्यगत देखिन्छ । अर्कातिर भास्कराचार्यका ग्रन्थमा कोणसँग सम्बन्ध नराख्ने भाग मात्र भेट्टाउनुले भास्कराचार्यले युक्लिदको रेखागणित देखेका थिएनन् भन्ने स्पष्ट हुन आउँछ । सिद्धान्तज्योतिषको ग्रन्थ ‘अल्माजेस्ट’ युक्लिदको रेखागणित भन्दा कान्छो हो । टलमीको ग्रन्थमा सुरुदेखि नै कोणको गणित दिँदै, युक्लिदको ग्रन्थको उद्धरण गरेको देखिन्छ । भास्कराचार्यका ग्रन्थमा कोणको चर्चासम्म पनि छैन । तसर्थ हिन्दुहरूको सिद्धान्तज्योतिषले ग्रिक सिद्धान्तज्योतिषको नक्कल गरेको देखिँदैन भनी प्रमाण जुटाउने जस्ता गणितीय कामको इतिहास संरक्षकका रूपमा पनि पन्त चर्चित छन् ।
उनका एउटै ग्रन्थमा पनि गणित र ज्यौतिषका विविध विधा समेटिएर प्रकाशन गरिएको पाइन्छ–जस्तै : हिन्दु सिद्धान्तज्योतिष र ग्रिक सिद्धान्तज्योतिषको तुलना । उनको अध्ययन तथा लेखन प्राचीन पाण्डुलिपिमा आधारित छन्; सुमतितन्त्र, कालचक्रको ज्योतिषभाग र त्यसको विवेचना यसका उदाहरण हुन् । भास्कराचार्यका कृति लीलावती, सिद्धान्तशिरोमणि, बीजगणित आदिको अध्ययन गरी त्यहाँ विशेष परिवर्तनसमेत पन्तले गरेका छन्; जस्तो ः समबाहु चतुर्भुजको क्षेत्रफल निकाल्ने सम्बन्धमा अनि वर्ग, वर्गमूल, घन तथा घनमूल निकाल्ने सन्दर्भमा पन्तका तर्क आजसम्म कसैबाट परिमार्जन भएका छैनन् । पन्तबाट अधिकांश लेख रचनामा गणितीय व्याख्या र प्रयोगबाट तथ्यको निष्कर्ष निकाल्ने काम भएको छ; जस्तै : लिच्छविकालको निर्णय, त्रिकोणमिति (ज्योत्पत्ति) का सारणीहरू, सङ्क्षिप्त गोलविमर्श तथा हिन्दु गणितको उत्कर्ष आदि ।
सिद्धान्तज्योतिष विज्ञानका विकासमा गणितको प्रभाव देखाउने व्याख्या पन्तबाट गरिएका छन्; जस्तै : पृथ्वी, चन्द्र र सूर्यका विम्बको विषयमा भएका व्याख्या । ‘पण्डित गोपाल पाँडे र उनको घनमूल निकाल्ने रीति’ मा पन्तले गोपालदत्त पाँडेले दिएको घनमूल निकाल्ने रीति सर्वथा मौलिक भएको कुरा पुष्टि गरेका छन् । उनका अनुसार प्रचलनमा रहेका घनमूल निकाल्ने विधिभन्दा गोपालदत्त पाँडेले प्रयोग गरेको रीति नितान्त नौलो प्रकृतिको छ ।
प्राचीन कृतिहरू, पुरातात्त्विक महत्वका सामग्री, लिपि, वर्ण, भाषा, संस्कृति, अङ्क चिह्नको प्रयोगका साथै ती सामग्रीको संरक्षण तथा संवर्धन गर्दै अग्रजको महìव देखाउँदै गणित विकासका लागि उनका गणितीय कृतिहरू अगाडि बढेको पाइन्छ । सुमतितन्त्रको बारेमा धेरै जानकारी दिने काम नयराज पन्तबाट भएको देखिन्छ । पन्तद्वारा लिखित ‘कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना’ पहिलो भाग तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट प्रकाशित भएको छ भने दोस्रो भाग नेपाल गणित केन्द्रले प्रकाशन गरेको छ । यस ग्रन्थबाट गणितका साथै बौद्धतन्त्रको खोज अनुसन्धानमा समेत उल्लेख्य योगदान हुने देखिन्छ । नयराजको कालचक्रको ज्योतिषभाग र त्यसको विवेचनाको अध्ययन गर्दा सो कृति सिद्धान्तज्योतिषको करणग्रन्थका रूपमा रहेको पाइन्छ । पन्तले कालचक्रानुसारिगणित अनुसार हिसाब गरी बुद्धले धर्म प्रचार गर्न थालेको समय ७२० विक्रमपूर्व (विपू) देखि भएको बताएका छन् ।
लक्ष्मीपति पाँडे तथा उनको रत्नदीप, धूपघडीको आधिकारिक जानकारी गराउने अनुसन्धाता नयराज नै हुन् । रत्नदीपको अध्ययनले पञ्चाङ्ग निर्माण तथा ज्योतिष विज्ञानमा ठुलो सहयोग गर्ने देखिन्छ । नयराज पन्तको कृति ‘दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडेको धूपघडी’ मा पन्तले १५ औँ देखि १९ औँ शताब्दीको नेपाली गणितको विकासलाई स्पस्ट्याउन खोजेका छन् । प्राचीनताको जगमा अडेर अगाडि बढ्ने नयराजका प्रकाशित कृति प्राचीनताको आधारभूमिबाट आधुनिकतातर्पm अग्रसर देखिन्छन् । उनले प्राचीन र आधुनिक गणितको तुलना गरेका छन् । नयराजले सूत्रात्मक गणित शिक्षा प्रणाली र व्याख्यात्मक गणित शिक्षा प्रणालीलाई सँगसँगै लैजान खोजेको देखिन्छ । यसबाट एकातिर स्मरण शक्ति बढाउन र अर्कोतिर विश्लेषणात्मक तार्किक क्षमताको विकास गर्नमा सहयोग हुने देखिन्छ । त्यसैले उनी प्राचीन गणित र आधुनिक गणितका संयोजनकर्ताको रूपमा रहेको पाइन्छ ।
नयराजका प्रकाशित गणितका कृति र उनले प्रयोग गरेका सामग्री अध्ययन गरेर हेर्दा उनलाई प्रखर अध्येता र प्रतिष्ठित अनुसन्धानकर्ता तथा प्राचीन गणितका ज्ञाता एवं गणितज्ञ चिन्तकका रूपमा मान्नु पर्छ । भारतवर्षीय गणितको तुलनात्मक अध्ययन गर्ने काममा पन्त नै अग्रणी देखिन्छन् । आकाशका तारा, ग्रह, आकाशीय पिण्ड तथा अन्तरिक्षको अध्ययनका लागि गोलयन्त्रको निर्माणमा सफल पन्तले वेधशाला बनाउने काममा समेत पहल गरेका थिए । पन्तले प्रयोगात्मक र व्यावहारिक गणितमा जोड दिएको देखिए पनि परम्परित रूपमा विद्या आर्जन गर्ने प्रणालीलाई पनि महत्व दिएको पाइन्छ ।
नयराजका विसं १९९१ देखि २०५९ सम्ममा ग्रन्थाकार र निबन्धात्मक गरी ४५६ वटाभन्दा बढी कृति र उनले नेपाल प्रज्ञा–प्रतिष्ठानमा ६२ वटा प्रवचन दिएका थिए भन्ने कुरा विविध लिखितबाट देखिन्छ । उनका ४५६ वटाभन्दा बढी कृतिमध्ये २०० जति लेखरचना गणित तथा ज्यौतिषमा आधारित रहेका छन् । पन्तले प्राच्य विद्याको प्रचारप्रसार तथा परिष्कारमा बढी समय दिए पनि आधुनिक गणितमा पनि परिष्कारपूर्ण काम गरेका छन् । गोपालदत्त पाँडेको घनमूलमा गरेको परीक्षण र परिष्कार यसको उदाहरण हो । त्यस्तै गणितकौमुदीको सूत्रको व्याख्या र अन्तन्र्यासपद्धतिको विशेष विचार पनि उल्लेख्य छ । ‘चलनकलनस्य कश्चनांशः’ मा उल्लिखित ३० वटा सूत्र आधुनिक गणित क्यालकुलसमा आधारित छन् । नयराज पन्तका गणितका कृतिहरूलाई गणितीय सिद्धान्त संरचना, तर्क र संयोजनको कोणबाट हेर्दा नेपाली गणितमा उनका कृतिको स्थान उच्च रहेको पाइन्छ ।
गणितलाई सामान्य आँखाले हेर्दा कठिन रुखो विषयको रूपमा हेर्ने चलन रहेको पाइन्छ । हरेक वैज्ञानिक तथ्यहरूको पुष्टि गर्न, तथ्यमा रहेका समस्या समाधान गर्न र भनाइलाई चित्रण गरी सहजीकरण गर्ने विषय गणित हो । यो व्यावहारिक बनाउन सक्यो भने यसले मानव जीवन र सामाजिक पक्ष अनि वैज्ञानिक आविष्कार र परीक्षणमा उल्लेख्य भूमिका खेल्छ । जुन कुरालाई नयराजले बारम्बार गणित प्रयोग गरेर निष्कर्ष निकाल्ने गरेका तथ्यले पुष्टि गरेको पाइन्छ । नयराजले ज्योतिष गणित तथा गणितीय सिद्धान्त आदि पढाउँदा विभिन्न खगोलीय उपकरणको विकास गरेका थिए । उनले वेधशाला निर्माणको खाका बनाएका थिए । यी यावत् तथ्यबाट हेर्दा प्राचीन सनातनदेखि अहिलेको उच्च वैज्ञानिक विकासमा गढिणतको महिमा र महìव झल्कन्छ । लगधको वेदाङ्ग ज्यौतिषमा गणितको महìव यसरी बताइएको छ, यथा शिखा मयूराणां, नागानां मणयो यथा । तद्वद् वेदांगशास्त्राणां गणितं मूर्धनि स्थितम् । यसरी समग्रमा हेर्दा मौलिक अर्थात् सनातनी गणितको संरक्षक नयराज पन्तको स्थान विभिन्न शास्त्रिय हिसाबले पनि उच्च कोटीको रहेको छ भने गणित पनि विविध शास्त्रहरूको मणि भएर रहेको तथ्यले यसको महिमा देख्न सकिन्छ । अतः नयराज उच्च प्राज्ञिक व्यक्तित्व रहेकोले एक राष्ट्रिय विभूतिका रूपमा सम्झनलायक आदर्श पुरुष मान्न सकिन्छ । यस्ता माौलिक गणित तथा ज्योतिषका संरक्षक प्रकाण्ड विद्वान्प्रति हार्दिक श्रद्धासुमन ।