चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ७ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने सडक पाँच दिनदेखि अवरुद्ध बनेको छ। मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक क्षेत्रमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो।
गएको मङ्गबार खोक्लिङ–लिबाङ खण्डमा झरेको पहिरोले उक्त सडक अवरुद्ध बनाएको हो। जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै पालिकाको प्रशासकीय केन्द्र साँवा थलङ जोड्ने सडक अवरुद्ध हुँदा सो सडकमा पाँच दिनदेखि यातायात सेवा ठप्प भएको छ।
लिबाङको ताखोक खण्डमा पहिरो झरेको दिनदेखि नै पन्साउने काम भइरहेको भए पनि हालसम्म सडक खुल्न नसकेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो। थापाका अनुसार ठुला–ठुला चट्टानसहितको पहिरो खसेकाले पन्साउनलाई समय लागेको हो।
सुरुदेखि नै एक्साभेटर मेसिनको ब्रेकरको प्रयोग गरी ढुङ्गा फुटाउन काम निरन्तर भइरहेको स्वकीय सचिव थापाले बताउनुभयो। कडा खालको चट्टान भएकाले ढुङ्गा फुटाउनलाई मुस्किल परिरहेको उहाँले बताउनुभयो। हालसम्मको प्रगति हेर्दा पहिरो पन्साएर सडक खुलाउनलाई अझै तीन÷चार दिन लाग्न सक्ने उहाँको भनाइ छ।
फुङ्लिङदेखि मिक्वाखोला गाउँपालिका–१ र २ खोक्लिङ, वडा ३ लिबाङ हुँदै थलङ जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएपछि हाल वैकल्पिक सडकको प्रयोग गरेर यातायात सेवा प्रवाह हुँदै आएको पनि थापाले जानकारी दिनुभयो। पहिरोले अवरुद्ध बनाएको सो सडक नखुलेसम्म सर्वसाधारण यात्रु तथा यातायात व्यवसायीलाई वैकल्पिक सडक मार्ग प्रयोग गर्न गाउँपालिकाले आह्वान गरेको छ।