• १३ साउन २०८१, आइतबार

कुकुरकै भरमा भेडापालन

blog

चरन क्षेत्रमा कुकुले भेडाबाख्रा लाई सुरक्षा गर्दै । तस्बिर : गोरखापत्र

हरिकृष्ण ऐडी 

मुगु, चैत १३ गते । मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका  स्थानीय र भोटेजातका  कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका  जनावरसँग पनि डराउँदैन । 

कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र  रातमा  गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा  ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ को केशिनाथ सहकारीका सदस्य  वीरबहादुर ऐडीका अनुसार कुकुर हामी भेडापालक कृषकका लागि सारथि बनाएको छ भेडा हेर्ने जिम्मा  कुकुरकै छ, चरन क्षेत्रमा  एकजना गोठालो गएपुग्छ ।   

उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुको आक्रमणबाट र भेडा चोरी सिकारी बाट  बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपुर्‍याउने काम पनि कुकुरहरूले नै गर्दछन् ।’’ सहकारीका एकसय  ७० भेडाबाख्रा वन्यजन्तु बाट बजाउनका लागि  दुईवटा  भोटे कुकुर छन् । उक्त हेरालु  कुकुरलाई ४० हजार रुपियाँमा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।

भेडाको गोठ जङ्गलको बिचमा हुनेभएकाले भेडाबाख्राको सारथि कुकुर नै भएको ऐडीले बताउनुभयो । कुकुर भएपछि राति ढुक्कले निदाउन पाइन्छ ऐडीले भन्नुभयो, ‘‘यहाँ स्याल र वन्यजन्तु गोठमा आए कुकुरले लखेटछन् ।’’

जङ्गली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको स्थानीय भेडापालक किसानहरू बताउँछन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर स्याल, भालु र  चितुवा जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई सङ्केत गर्ने काम कुकुरले गर्दछ ।

गोठमा कुकुर नहुँदा स्याल  र जङ्गली जनावरले वर्षमा ३० वटा भेडाबाख्रा मारेको थियो । केसीनाथ कृषि  सहकारी अध्यक्ष भुमल बोहराले भन्नुभयो । कुकुरकै कारण भेडाबाख्राको  दैनिकी सहज र सुरक्षित भएको उहाँ  बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।

एउटा कुकुरको मूल्य १५  हजारदेखि २० हजारसम्म पर्ने भेडापालक किसानहरू बताउँछन् । जङ्गली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिवार्य हुनुपर्ने बोहरा बताउनुहुन्छ । ‘‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिँदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडासँगै जान्छन् र राती आएर भेडालाई सुरक्षा दिन्छन्,’’ उहाँले भन्नुभयो ।