• २४ असार २०८२, मङ्गलबार

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालगायत पदाधिकारी । तस्बिर : रासस

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २४ गते । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल एवं अन्य राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग पनि कार्यदलले संवाद गर्ने छ । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि अझै प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो । बैठकले सुनको बिक्री प्रक्रियामा कायम कोटा र वितरण प्रणालीको एकाधिकार उचित नभएकाले तत्काल खारेज गर्न र यस क्षेत्रका समस्याको दीर्घकालीन समाधानार्थ सरकारको ध्यानाकर्षण गराएको छ । 

विपत्मा जुट्न आह्वान 

कांग्रेसले विपत्तिको पूर्वतयारीमा जुट्न र उद्धार, राहत र पुनस्र्थापना गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले २०८१ को एसइईको परिणाम सुधारोन्मुख देखिनु सकारात्मक भएको र शिक्षा नीतिमा थप सुधार गर्न आवश्यक रहेको बताएको छ ।  

चिकित्सक सङ्घसँग वार्ता गरी समस्याको समाधान खोज्न, तराई–मधेशमा भूमिगत जलको सतह घट्न गई उत्पन्न सुक्खाको असरलाई दृष्टिगत गरी उचित नीतिसाथ सम्बोधन गर्न, उखु किसानको अनुदानको निरन्तरता र भुक्तानी समयमै दिन, सहकारीको बचत फिर्ता गर्न सरकारसँग माग गरेको छ । 

कांग्रेसले निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमा देखिएका गडबडी र कमीकमजोरीलाई संसदीय प्रक्रियाबाटै समाधान गरी संसद्को गरिमा र विश्वसनीयतालाई कायम राख्नुपर्ने बताउँदै छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ । 

कांग्रेसले विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्‍याउन सरकार, संसदीय समिति र संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेसले हिमाल आरोहीलाई २० वर्षको अवधिपछि पेन्सन दिन माग गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न असोज मसान्तसम्मको समय दिएको छ । उसले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संस्थाको समयावधि थप गर्ने निर्णय गरेको छ । 

गठबन्धन पूरा कार्यकाल 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाइने प्रस्ट पार्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानलाई अझै गतिशील बनाउने गरी संशोधन अघि बढाइने बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्दा उपराष्ट्रपतिको भूमिका खोजिने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनको कुरा उठेको छ । अहिले उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षता गर्न सक्ने गरी छलफल अघि गर्न सकिन्छ । यसो गर्दा राम्रो हुन्छ ।” 

सभापति देउवाले नेपाली कांग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य भइरहेको र यसको उद्देश्य राजनीतिक स्थिरता रहेको बताउनुभयो । उहाँले एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साना समस्या छलफल गरेरै समाधान गर्न सक्छौँ । मलाई विश्वास छ, यो गठबन्धन पूरा कार्यकाल रहने छ । दुई पार्टीको गठबन्धनमा केही समस्या आएमा ठुलो ठान्नुहुँदैन । हामी समस्या समाधान गरी छाड्छौँ । छलफल गरेर मिलाउँछौँ ।” यसै गरी उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले अनुशासनहीनलाई संरक्षण नगर्ने प्रस्ट पार्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउन विधि तयार गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयो । उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनका सन्दर्भमा उठेका प्रश्नलाई पनि सम्बोधन गर्दै जानुपर्ने धारणा राख्नुभयो । 

महामन्त्री गगनकुमार थापाले २०८२ मङ्सिरभित्र महाधिवेशन हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “२०८२ मङ्सिरभित्र महाधिवेशन हुने अवस्था रहेन । २०८३ मङ्सिरभन्दा उता कानुनले पनि दिँदैन । २०८३ मङ्सिर पनि नपुर्‍याई छिटो गर्दा चुनावमा फाइदा हुन्छ ।”

महामन्त्री विश्वप्रकाश शर्माले ७५ वर्षको राजनीतिक इतिहासमा कुनै प्रधानमन्त्रीले लगातार पाँच वर्ष काम गर्न नपाएको बताउँदै आमनिर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतका आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सभापति देउवालाई तेस्रो पटक सभापति बन्न विधानले नदिने बताउँदै २०८३ असारमा छैटौँ पटक प्रधानमन्त्री बन्नतिर नलागेर अन्य साथीलाई मार्गप्रशस्त गरेर प्रशंसा जित्न आग्रह गर्नुभयो ।