गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २४ गते । एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा प्रदर्शन गरिने जानकारी दिनुभयो ।
उहाँले नेपाल र दक्षिण कोरियाबिच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन) ले कार्यक्रमले दुई देशबिचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउनका लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वल्र्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने छ ।