• २४ असार २०८२, मङ्गलबार

‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । सोलुखुम्बु जिल्लाका विभिन्न स्थानको नाममा प्रसान अलुङ राईले लेख्नुभएको गीतको म्युजिक भिडियो ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक भएको छ । रक्षामन्त्री मानवीर राईले मियो संस्थाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । मन्त्री राईले युवा उमेरदेखि नै गीत, सङ्गीतमा समर्पित युवा प्रसानले दर्शक/श्रोतामाझ ल्याउनुभएको यस गीतले सोलुखुम्बुलाई देश–विदेशमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले घर हाम्रो सोलुखुम्बु गीतले देश–विदेशमा रहेका सोलुखुम्बुवासीलाई एकजुट गराउने र आफ्नो देश, जन्मिएको स्थानप्रतिको माया, सम्मानलाई बढाउँदै स्वदेशका लागि योगदान दिन पनि प्रेरित गर्ने बताउनुभयो ।  प्रसानको शब्दमा अनिल कोरी राईको सङ्गीतमा राजेशपायल राई र अन्जु पन्तले गाउनुभएको घर हाम्रो सोलुखुम्बु गीतमा सोलुखुम्बुका स्थानीय प्रचलित सबै स्थानका नामलाई समेट्ने प्रयास गरिएको छ । 

यसै गरी प्रसानकै निर्देशन तथा निर्मलकुमार लामाको कोरियोग्राफीमा छायाङ्कन गरिएको उक्त गीतमा निर्मलसहित भीमफेदी गाइज समूह, हरिस निरौला, क्रिसला तामाङ, अन्जना राईलगायतले अभिनय/नृत्य गर्नुभएको छ । विगत १७ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका गीतकार प्रसानले आफ्नो जन्मभूमि नेपाललाई गीत/सङ्गीतको माध्यमबाट देश–विदेशमा चिनाउने प्रयास गर्दै आउनुभएको छ । यसअघि पनि उहाँको मेरो जीवन दोभानमा छल्कीरहने, दिलैको दरबार, साइलीलगायताका गीतका एल्बम र म्युजिक भिडियो सार्वजनिक भएका छन् । उहाँले लेख्नुभएको गीतमा भानुभक्त ढकाल, राजु लामा, पवित्रा सुब्बालगायतले गाउनुभएको छ । 

रचनाकार राईले आफू विशेष कारणले अमेरिकामा बसे पनि गीत कोसेली लिएर नेपाल आउने र परिवारसँग भेट्दै देश र परिवारसँगको न्यास्रो मेटाउँदै आएको बताउनुभयो । उहाँले मेरो घर सोलुखुम्बु गीतको म्युजिक भिडियोमा अङ्ग्रेजी भाषामा क्याप्सन राख्दै गीतका शब्दमा आउने सोलुखुम्बुको स्थान अनुसार नै सचित्र, फोटोसमेत आउने व्यवस्था गरेर सोलुखुम्बुको पहिचानलाई म्युजिक भिडियोमार्फत उजागर गर्ने कोसिस गर्नुभएको छ । सो अवसरमा म्युजिक भिडियो तयार गर्दा  विभिन्न भूमिकामा काम गर्ने सबैलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।