• ८ पुस २०८१, सोमबार

सिरहा सलहेसमय

blog

सन्तोष सुवेदी / जिवछ यादव

सिरहा, वैशाख १ गते । प्रत्येक वर्ष झैँ यस वर्ष पनि नयाँ वर्षको आगमनसँगै सिरहा जिल्ला सलहेसमय भएको छ ।  लोकनायकका रूपमा चिनिने चौधौँ शताब्दीका प्रतापी राजा सलहेसको गाथाको सम्झनामा सिरहाको विभिन्न स्थानमा नयाँ वर्षको आगमनसँगै विशाल मेला र महोत्सव आयोजना हुँदै आएको छ ।

सलहेस गाथाको सम्झनामा नयाँ वर्ष २०७९ को पहिलो दिनदेखि नै लहानस्थित सलहेस फूलबारी, पकडियागढ, सिरहा सदरमुकामस्थित महिसोथागढ, लक्ष्मीपुर पतारीस्थित पतारी पोखरीमा विशाल मेला महोत्सव लाग्ने गरेको छ । तीसबै मेला महोत्सवमध्ये मधेस प्रदेशको मुख्य सहर लहान नगरपालिका–१२, मा रहेको सलहेस फूलबारीमा फुल्ने मालाकार फूल सबैको आकर्षणको केन्द्र बन्दै आएको छ ।

पूर्व, पश्चिम लोकमार्गको लहानको मुख्य चोकदेखि चार किलोमिटर पश्चिममा रहेको सलहेस फूलबारीका दुईवटा रुखमा प्रत्येक वर्षको पहिलो दिन फुल्ने उक्त मालाकार फूललाई राजा सलहेस र उहाँकी प्रेमिका मालिनीबीचको प्रेमको प्रतिरूप मानिँदै आएको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वनमा रहेका सयौँ वर्ष पुराना रुखहरूमध्येका दुईवटा ‘हारम’ जातको रुखमा ती फूलहरू फुलेपछि बल्ल नयाँ वर्ष आएको महसुस हुन्छ स्थानीयवासीलाई । 

स्थानीय भाषामा हारम भनिने ती दुईवटा रुखमा फुलेका फूलका माला चौधौँ शताब्दीका लोकनायक सलहेसलाई उहाँकी प्रेमिका मालिनीले लगाइदिने फूलको माला मानिन्छन् । सलहेस गाथाका अनुसार, राजा सलहेस प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्ने गरेका विश्वास छ । सलहेसले एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, सलहेसगढमा कुलदेवीको पूजा गर्ने र प्रजाका पीरमर्का सुन्ने गरेको किम्वदन्ती छ । वि. सं. १३२५ मा महिसोथा राज्यका राजा सलहेस र उहाँकी प्रियसी मालिनीबीचको प्रेम सम्बन्ध प्रगाढ भएपछि मालिनीलाई भेट्न उक्त फूलबारीमा आउने भएकाले नै उक्त फूलबारी सलहेसका नामले प्रसिद्ध हुन पुगेको कथन छ । वनविहारका लागि प्रेमिका मालिनीसँग भेट्न आउँदा मालिनीले राजा सलहेसलाई स्वागतका निम्ति फूलको माला लगाइदिने गर्दथिन् । सलहेस र मालिनीबीचको प्रेमकै प्रतिरूप स्वरूप प्रत्येक वर्षको वैशाख १ गते मालिनीको मन्दिर (गहबर) छेउको रुखमा फुल्ने फूलका मालाहरू उहाँहरूकै प्रेमको प्रतीक हो भन्ने जनविश्वास छ । 

फूलबारीमा अनेकौँ रुखहरू भए पनि माला आकारको ती फूलहरू मालिनीको गहबर छेउमा एउटै जराबाट निस्केको दुईवटा रुखमा मात्र देखिने गरेको छ । माला आकारको फूल फुल्ने रुखमुनि रहेको मन्दिर (गहबर)भित्र हात्तीमा चढेका सलहेस र उहाँका प्रेमिका दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले खोला पनि छ ।

मालिनीको गहबर छेउको एउटै जराबाट निस्केको दुईवटा रुखमा देखिने माला आकारको फूलको रूपमा सलहेस र मालिनी प्रत्येक वैशाख १ गते स्वयं प्रकट हुने गरेको विश्वास गरिन्छ । ती माला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरूबाट सर्वसाधारणहरू घुँइचो लाग्ने गरेको छ । मिथिलाको हावापानी, खेतखलो, गाउँघर, वनजङ्गल सर्वत्र लोकप्रिय पात्र हुन् राजा सहलेस । राजर्षी राजा जनकपछि मिथिलामा प्रादुर्भाव भएको दोस्रो व्यक्तित्वको रूपमा सलहेसलाई मानिन्छ । महिसोथागढ जसलाई हालको सिरहा सदरमुकामको रूपमा लिइन्छ, राजा सलहेसको गाथालाई चीरस्थायी बनाउन गत आर्थिक वर्षदेखि सुरु गरिएको ठूलो मन्दिरको निर्माण अहिले अन्तिम चरणमा छ । उहाँको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।

सलहेसलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रूपमा चिनिन्छ । उहाँलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवान्का रूपमा पूजा गर्ने गर्छन् ।

पराक्रमी राजा सलहेसको गाथासँग जोडिएको हुनाले सलहेस फूलबारी र सिरहा सदरमुकामस्थित महिसोथागढको साथै लहान नगरपालिका–१८, स्थित पकडिया गढ, २० नम्बर वडास्थित ब्राह्मण गोर्छारी, २४ नम्बर वडास्थित मानिक दह र लक्ष्मीपुरपतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ । ती स्थानहरूमा राजा सलहेसलगायत उहाँको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्तिहरू देख्न पाइन्छ ।  मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत राख्ने गरेको पाइन्छ । भाकल पूरा भएपछि सलहेसलाई बोका, पाठीको बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ । 


धार्मिक पर्यटकको आगमन 

लहानस्थित सलहेस फूलबारी मेलामा दुई दिनअघिदेखि भारतीय पर्यटकहरू आउन थालेका छन् । विगत दुई वर्ष कोरोना कहरको कारण भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बङगालबाट आउन नपाएकोले यसवर्ष दुई दिनअघिदेखि नै भारतीय पर्यटक आउन सुरु गरेको सलहेस फूलबारी मेला समितिका सदस्य तथा लहान–२२, का अध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो । 

यस वर्ष मौसम पनि अनुकूल रहेको र कोरोनाको कहरसमेत नरहेकाले निकै बढी भीड हुने सम्भावनालाई ध्यानमा राखेर मेलाको सुरक्षा र मेला भर्न आउनेहरूलाई सहयोग पु¥याउन लहानको नगर प्रहरी, इलाका प्रहरी कार्यालय लहान, स्थानीय स्वयं सेवक र सरसफाइको लागि स्वीपर, स्वास्थ्यकर्मीलाई परिचालनको विशेष तयारी भइरहेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो ।