कवितामा अवैध कथाको सन्ताप
लतपतियो यसरी...
कुनै बेला
एक गाउँमा सबैको मालिक भनिने
मुखियाको महल थियो
थुप्रै सेवक, सेविका थिए
नातामा कसको को पर्थे
थाहा पाउन मुस्किल थियोे
त्यसै गाउँको गुह्यान गल्लीमा
काँडादार पातहरूका हरिया
सिस्नोका झाङहरू हल्लिरहेका थिए
एक दिन
कुनै शिशुको नाभीबाट
भर्खरै अलग गरिएर
कतारोमा हालिएको सालनाल लिएर
कोही आयो
र झाङको छेउमा सुस्तरी राखिदियो
सिस्नोको पातले उसलाई च्वास्स छोयो,
अलि अलि पोल्यो
तर उसले केही बोलेन,
अलि अलि कन्याउँदै
आएकैतिर फर्किन
सोच्दै सोच्दै पाइला चाल्यो ।
...भनेको गरेँ, साल त फालेँ
तर अब
साल फालेको शिशु
अथवा
मालिकको भरेङमुनिको सन्तानलाई
म बाउ बनेर कसरी पाल्ने हो !
उसकी आमाले मलाई
लोग्ने भनेर कसरी मान्ने हो !