• २१ वैशाख २०८१, शुक्रबार

उपत्यकामा होली पर्वको बेग्लै रौनक

blog

गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । 

परम्परा अनुसार रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबिर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएका थिए । चीर उठाएको हेर्न वसन्तपुरमा आन्तरिक तथा विदेशी पर्यटकहरू समेत जम्मा भएर रमाइलो गरिन्छ ।  वसन्त उत्सवका रूपमा समेत मनाइने रङहरूको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको संस्कृतिक अभियन्ता तथा पुजारी राजन महर्जनको भनाइ छ । उहाँले यसै शुभ साइतमा हनुमानढोका परिसर, हनुमानढोकाभित्र डाखचोक र मोहनकाली चोकमा पनि मयल रुखको हाँगामा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको चीर गाडिने बताउनुभयो । मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएको मुद्रामा श्रीकृष्णको मूर्ति र त्यसको दायाँबायाँ गरी नौ वटी अर्धनग्न अवस्थामा रहेकी गोपीनीहरूका मूर्ति लहरै राखी पूजा गरी अबिर छर्किने गरिन्छ । 

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भस्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । काठमाडौँ उपत्यकामा मान्दै आइरहेको होलीको महत्व र मान्यता पौराणिक भनाइ अनुरूपका प्रसङ्गहरू सुन्न पाइन्छ । ठमेलका व्यापारी सिंहसार्थ बाहु सात सय जना व्यापारी साथीसँगै ल्हासामा व्यापार गरी फर्कंदै गर्दा ब्रह्मपुत्र नदीमा सुन्दरी युवतीका भेषमा आई राक्षसनीहरूले आफ्नो जालमा पारी सबैलाई आफ्नो आहारा बनाए पनि सिंहसार्थ बाहु एक जना मात्र बाँचेर भागी आउन सकेको खुसीयालीमा वसन्तपुरमा चीर ठड्याएर आठ दिनसम्म सिन्दूर जात्रा गरी अबिर रङ छ्यापेर एक आपसमा अबिर, रङ लगाइदिएर होली पर्व मानेको हो भनिन्छ । उही सिंहसार्थ बाहुको प्रतीकको रूपमा चकंद्यः बनाई जात्रा गर्ने चलन अहिलेसम्म चलिरहेको छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याइ दाह गरेपछि होली पर्व समाप्त हुन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाँच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौँमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ । फागुपूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ ।

चीर दहन गर्ने दिन टुँडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ । चीर दहन गरिसकेपछि छ, मुरी चामलको भात पकाएर टुँडिखेलमा गुरुमापा राक्षसलाई खुवाउन लाने प्रसङ्ग पनि छ । काठमाडौँका बालबालिकालाई गुरुमापाले चोरेर लगी खाने गरेकोले बालबालिकाका आमाबुबाहरूले इतुंबहालका केशचन्द्र कहाँ गई भन्न जाँदा केशचन्द्रको आदेशबमोजिम गुरुमापालाई समातेर ल्याई आइन्दा बच्चाहरूको रक्षा गर्नुपर्ने र टुँडिखेलमै बस्नुपर्ने वाचा कबोल गराई त्यसको सट्टा गुरुमापालाई वर्षको एक पटक होली पूर्णिमाका दिन छ मुरी चामलको भात र एउटा राँगोको मासुका साथै जाँडरक्सी पनि खुवाउने चलन बनाएको हो भनिन्छ । यो चलन हालसम्म पनि चलिरहेको छ । यसका लागि एउटा गुठी नै छ । गुठियारहरू सबै टुँडिखेलमा गई गुरुमापालाई भात चढाइसकेपछि त्यही भोज खाइ फर्की आउँछन् ।


भक्तपुरमा यौन पर्व होली 

भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिएको छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । भीमसेन र द्रौपदीको यौन समागम दृश्य प्रदर्शन गर्दै फागु सुरु भएको जनाउ दिइन्छ ।

भीमसेनको लिङ्गको प्रतीकका रूपमा काठको लिङ्गो झुन्ड्याइन्छ भने द्रौपदीको योनीका रूपमा रातो कपडामा प्वाल पारेर टाँगिन्छ । यी दुईको यौन समागम दृश्य प्रदर्शन गर्दै पूजाआजा गरेपछि विधिवत् रूपमा फागु सुरु भएको मानिन्छ । भीमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीको रूपमा लिने गरिन्छ, जसलाई नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगू भनिन्छ । भक्तपुरमा फागुको सम्बन्ध कृष्णलीला वा होलिका दहनसँग जोडिँदैन । यहाँ भीमसेन उत्सवका रूपमा फागु मनाइन्छ ।

नेवार बाहुल्य रहेको बस्तीमा भीमसेनकै गीत गाएर यो पर्व मनाइन्छ । देशमा अशान्ति हटोस् र समृद्धि छाओस् भनेर कामना गर्दै फागु मनाइन्छ । नेवारहरू समृद्धिका निम्ति भीमसेनको पूजा गर्छन् । फागु या होली भन्नेबित्तिकै प्रेम वा प्रणयका सन्दर्भ जोडिन्छन् । त्यसैको छनक फागु गीतहरूमा पनि भेटिन्छ । रङको यो पर्व मायाप्रेम साट्ने अवसर हो । फागुमा गाइने गीतहरूलाई युवकयुवतीले एकअर्काप्रति माया–प्रेम आदानप्रदान गर्ने माध्यमका रूपमा लिए ।

भक्तपुरस्थित दत्तात्रय मन्दिर परिसरको विपरीतमा रहेको भीमसेनको मन्दिरको पाटीमा होलीको एक साता फागुन शुक्ल अष्टमीदेखि फागुपूर्णिमाको अवधिभर भजन गाइन्छ । जसको एउटा पङ्क्ति यस्तो छ । ‘भिसीं द्यो या लगखङ लो वान ला, बिस्यु वाने माय्क स्व वया ला’, अर्थात्, भीमसेनको लिङ्गले मन लोभ्यायो कि भाग्नुपर्ने गरी हेर्न आएको हो कि !’