• २१ पुस २०८१, आइतबार

'होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ'

blog

काठमाडौं, चैत ११ गते । नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । एकअर्कामा रङ दलेर खुसी साटासाट गरी मनाइने होली पर्व मनाउँदा रङले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने हुँदा सचेत भई खेल्न छाला रोग विशेषज्ञको आग्रह छ । 

छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालाले होलीमा प्रयोग गरिने रङमा रासायनिक वस्तु मिसाइएको हुँदा सकेसम्म अर्गानिक रङको प्रयोग गर्न आग्रह गर्नुभयो । डा. कोइरालाका अनुसार होलीमा प्रयोग हुने रङमा मर्करी सल्फेट, कपर सल्फेट, फेरो साइनाइड, क्रोमियम आयोडाइड लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । होलीमा सकेसम्म प्रकृति रङको प्रयोग गर्न छाला रोग विशेषज्ञ डा. कोइरालाको सुझाव छ । 

रङमा मिसाइएका रासायनिक तत्त्वहरूले छाला,कपाल,आँखा,कान लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्‍याउने डा.कोइराला बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “रासायनिक मिसाइएका रङले छाला रातो हुने, चिलाउने, डाबर आउने, सुख्खा हुने, रङ आँखामा परेर चिलाउने, रातो हुने, पानी बग्ने, डन्डीफोर आउने, सोससिस, एक्जीमा जस्ता बढ्ने,कपाल रुखो हुने,झर्ने जस्ता समस्या निम्तने गर्दछन् ।”

डा. कोइरालाका अनुसार रङको असर कम गर्न होली खेल्नुभन्दा अघि नै सावधानी अपनाउनुपर्छ । होली खेल्नु अघिल्लो दिन नै टाउकोमा तेल, छालामा मोइस्चराइजर क्रिम लगाउनुका साथै, नङमा पनि असर गर्ने हुँदा मोइस्चराइजर क्रिम वा तेल लगाउने र पूरा शरीर छोप्ने गरेर लुगा लगाएर होलीको रङ खेल्न डा.कोइरालाको अनुरोध छ ।    

आँखामा पनि एलर्जी हुने हुँदा होली खेल्दा चस्मा लगाएर खेल्न उहाँले  आग्रह गर्नुभयो ।  यदि पहिले देखिनै छालामा एलर्जी लगायतका समस्या भएमा समस्या झनै बढ्ने हुँदा रङ नखेल्न उहाँको सुझाव छ।  

उहाँका अनुसार यदि रङ खेल्दा खेल्दै एलर्जी भएमा तुरुन्त रङ धोएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ  । धेरै नै गाह्रो भएमा एलर्जी बढ्दै गएर आँखा, ओठ सुनिने, सास फेर्दा रङ मुख भित्र पसेर दम हुने सम्भावना बढ्ने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिन उहाँको सुझाव छ । 

छालामा धेरै बेर रङ राख्दा अन्य नकारात्मक असर पर्ने हुँदा धेरै बेर रङ नखेल्न उहाँको सुझाव छ । होलीको रङ जबरजस्ती निकाल्न हुँदैन त्यसले छालामा  समस्या निम्तने गर्छ ।गाडा रङ भएमा मोइस्चराइजर क्रिम लगाएर किलिङजीङ वा माइल्ड साबुन को प्रयोग गरेर रङ निकाल्न उहाँको सुझाव छ । 

रङले कपाल सुख्खा बनाउने हुँदा सल्फेड फ्रि स्याफु प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । रङ निकालेपछि छालामा मोइस्चराइजर क्रिम र सन ब्लक क्रिम लगाउन र कपालमा कपालमा लगाउने हेयर सिरम लगाउन डा. कोइरालाको सुझाव छ । 

होलीमा रङ प्रयोग गर्दा छाला तथा कपालमा के कस्ता समस्या निम्तन्छन् ।, रङ खेल्दा के कुरामा ध्यान, होली खेलिसकेपछि छालाको स्याहार कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालासँग गरिएको भिडियो संवाद :


भिडियो : केशव गुरुङ 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।