• ६ जेठ २०८१, आइतबार

‘होलीमा मोबिल दल्नु संस्कृति होइन’

blog

काठमाडौं, चैत १० गते । त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले होली पर्वमा मोबिल दल्नु सांस्कृतिक पक्षभित्र नपर्ने बताउनुभएको छ ।

गोरखापत्र अनलाइनसँग होली पर्वका बारेमा कुराकानी गर्दै उहाँले नेपालका चाडपर्वहरू कृषि पेसा, जनजीवन र प्रकृतिसँग सम्बन्धित रहेको बताउनुभयो । परापूर्वकालमा सञ्चार तथा सूचनामा अहिलेको जस्तो विकास नभएको अवस्थामा एकअर्कामा भेटघाट, भाइचारा साटासाट गर्न चाडपर्व मनाउने संस्कृतिको विकास भएको उहाँको भनाइ छ ।

प्रा.डा. खतिवडाले भन्नुभयो, “विशेषगरी चाडपर्वहरू सुरु हुँदा मानिसहरू व्यापार, व्यवसाय गर्न, तीर्थ यात्रा गर्न, अध्ययन गर्नका लागि मात्र बाहिर जाने गर्थे । अहिलेको जस्तो सूचना र सञ्चारको विकास नभएको हुनाले होली जस्ता चाडपर्वहरू सुरुवात गर्दा बाहिर गएको मानिस फर्केर नआउन्जेलसम्म मर्‍यो वा बाँचेको छ भन्ने थाहा हुँदैन थियो । बाहिर गएको मान्छे घरमा आएर भेटघाट गर्ने मनसायले यस्ता पर्व सुरु भएका हुन् । हाम्रो चाडपर्वहरू कृषि, जनजीवनसँग, मानिसको बानी, स्वभाव, प्राकृतिक घटनाहरूसँग पनि सम्बन्धित छन् ।”

उहाँले जाडो मौसमको बिदाइ एवम् हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा लाग्न सक्ने रोगव्याधीलाई जित्यौँ र न्यानो वातावरणको स्वागतमा हर्षोल्लास मनाउने विषयसँग होली पर्वको प्रसङ्ग जोडिएको बताउनुभयो । उपत्यका लगायत पहाड र तराईमा मनाइने होली पर्वबिच के भिन्नता छ भन्ने जिज्ञासामा उहाँले हावापानी र वातावरण अनुसार तराईमा ज्यादा हर्षोल्लासका साथ होली मनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसलाई फागु पूर्णिमामा मनाइने हुँदा फागु पूर्णे पनि भनिन्छ । यो बढी स्वास्थ्यसँग सम्बन्धित छ । धार्मिकरुपमा महाभारतको कथासँग कृष्ण भन्ने पात्रसँग जोडिएको छ । एक जना होलिका नामको राक्षसीले मार्न खोजेर दुःख दिएको तर कृष्णलाई मार्न नसकेको र त्यसैको उपलक्ष्यमा हामीले होली पर्व मनाउन थालिएको हो भन्ने किम्बदन्ती पछि जोडियो । अर्को धुन्डा नाम गरेको राक्षसीले काठमाडौँमा बहुत दुःख दिन्थ्यो रे ! धुन्डा राक्षसलाई आगो बालेर यहाँबाट धपाइयो ।”

होलीमा चीर उठाउनुको महत्त्व के हो भन्ने जिज्ञासामा उहाँले पहिले–पहिले अदृश्य शक्ति, रोगव्याधी आदिलाई हटाउनपर्‍यो भने कपडामा आगो र धुवाँ लगाएर हटाउने प्रचलन रहँदै आएको बताउनुभयो ।

उहाँले होली पर्वमा मदिराजन्य पदार्थ सेवन गर्ने, जुन पायो त्यही रङ्ग लगाउने, जो पायो त्यसलाई पानी छ्याप्ने र लोला हान्ने जस्ता विकृति पनि बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “होली आनन्दको पर्व भएको हुनाले स्वास्थ्यवर्धक मीठा खानेकुरा खाने । दुई दिन भएपनि उत्सव गर्ने, काम नगर्ने, मनोरञ्जन गर्ने । जाँदै–नजाने पर्मानेन्ट खालका जो छालालाई असर गर्ने खालका रङ्ग नलगाउने । पहिले सूर्यको किरणको सात वटा इन्द्रेणीको रङ्ग हेरेर मात्र रमाउँथे । बेग्लै किसिमको रङ्ग, मोबिल लगाउनुपर्छ भन्ने हाम्रो संस्कृति, परम्परा होइन । यो लेखिएको पनि छैन ।”

उहाँले विकृति रोकथामका लागि राज्यले मात्र पहल गरेर नपुग्ने समाज नै सचेत हुनुपर्ने भनाइ राख्नुभयो । धेरै पहिलेदेखि काठमाडौँ उपत्यका सांस्कृतिकरुपमा सम्पन्न रहेकोले होली पर्व मनाउने परम्परा अन्य स्थानमाभन्दा फरक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कुनै बेला विदेशीहरू के भन्थे भने, नेपालमा मान्छेभन्दा बढी मूर्तिहरू छन्, घरभन्दा धेरै देवीदेवताका मठमन्दिरहरू छन् । वर्षमा तीन सय ६५ दिनभन्दा बढी चाडपर्वहरू छन् ।”


भिडियो : मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।