• १० कात्तिक २०८२, सोमबार

हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक १० गते । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।

होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो । 

जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण होटेल बन्द गर्ने सूचना जारी भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने आश्वासन दिनुभएको थियो । होटेल व्यवस्थापनले उक्त आश्वासनप्रति आभार व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

होटेल बन्द भएसँगै सम्बन्धित क्रियाशील ट्रेड युनियनले आफूहरूसँग कुनै छलफल नगरी होटेल व्यवस्थापनले अनिश्चितकालका लागि होटेल बन्द गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका थिए । 

नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक सङ्घ, अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर सङ्घ र नेपाल पर्यटन, होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै व्यवस्थापनको निर्णयको विरोध गरेका हुन् ।