• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा तेस्रो बन्यो गुल्मी अस्पताल

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत ६ गते ।
 गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।

न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको उहाँले बताउनुभयो । मङ्गलबार तम्घासमा आयोजना गरिएको न्यूनतम सेवा मापदण्डको नतिजा सार्वजनिक गर्दै श्रेष्ठले अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा सुशासन, नियमित रिपोर्टिङ लगायत ७२१ सूचकहरूलाई मूल्याङ्कन गरिएको बताउनुभयो ।

अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कन गर्दा विगतमा भन्दा थप उपलब्धि पाएको बताउनुभयो । गत वर्षको मूल्याङ्कनमा गुल्मी अस्पताल ८९ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर यस वर्ष अङ्क वृद्धि गरी ९१ प्रतिशत ल्याएको हो । गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले गरेको सहयोग महत्त्वपूर्ण कार्य भएको भन्दै नगरप्रमुख खिलध्वज पन्थीले अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन लगायतका क्षेत्रका लागि खेलेको भूमिकाको श्रेष्ठले प्रशंसा गर्नुभयो । भौतिक पूर्वाधारको अभावमा पनि अस्पतालले राम्रो सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ ।

अस्पताललाई थप स्तरवृद्धि गरी १०० सय बेडको अस्पताल बनाउनुपर्ने बताउँदै गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडेले यो उपलब्धि प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले हाल निर्माण भइरहेको अस्पताल भवन समयमै सम्पन्न गरी अस्पतालको सेवालाई थप व्यवस्थित गराउन सकिने भन्दै अस्पताल भवन समयमै सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलिसिस सेवा लगायतका विशेषज्ञ चिकित्सकसहितका सेवा विस्तार गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अस्पतालको निर्माणाधीन भवनलाई समयमै सम्पन्न गराउन सबै लागिरहेको भन्दै निर्माणको कार्यको समय–समयमा अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले नागरिकहरूलाई राम्रो सेवा दिएकै कारण अस्पताल सफल भएको बताउनुभयो । अस्पतालबाट प्रवाह गर्ने सेवालाई सधैँ प्रभावकारी र गुणस्तरीय रूपमा दिगो राख्न आग्रह गर्नुभयो ।

रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने भावनाका साथ नगरले नीति र कार्यक्रममै समावेश गरी काम गरिरहेको बताउनुभयो । गुल्मी अस्पतालको विकासको निमित्त रेसुङ्गा नगरपालिका र आफू सधैँ लागिरहेको भन्दै हाडजोर्नी सेवाले वर्षमै ५०÷६० करोड बढी रकम जिल्ला बाहिर जानबाट रोकिएको बताउनुभयो । अहिले आफ्नै पहलमा अस्पतालमा विभिन्न रोगका विशेषज्ञ सेवासहित मिर्गौला डायलिसिस सेवा लगायतबाट नागरिकहरूले लाभ लिइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । आफ्नो सपना गुल्मी अस्पताललाई देशकै नमुना अस्पताल बनाउने उद्देश्य रहेको भन्दै जनशक्ति र पर्याप्त भौतिक पूर्वाधारको अभावमा पनि इच्छा शक्ति भए सफल बन्न सकिन्छ भन्ने गुल्मी अस्पतालले पुष्टि गरेको बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालको विकास सबैको साझा विषय भएको बताउनुभयो ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका प्रमुख र अस्पतालका विभिन्न सेवामा कार्यरत कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो । गुल्मी अस्पताल विकास समितिले अस्पतालको स्वास्थ्य सेवा वृद्धिमा उल्लेखनीय भूमिका निभाएको भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र त्यस अस्पतालका डा. प्रदीप शिवाकोटी लगायतलाई सम्मान गरेको छ । नगरप्रमुख पन्थी र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.शिवाकोटीलाई अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले कदर पत्रका साथ दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

नगरप्रमुख पन्थीले कार्यभार सम्हाले पछि अस्पतालमा डाइलासिस सेवा सञ्चालनमा ल्याएको, हाडजोर्नी, स्त्रीरोग विशेषज्ञ डा. व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सहयोग गरेको लगायतका अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाएको भन्दै पन्थीलाई  सम्मान गरिएको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताउनुभयो ।

त्यस्तै, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शिवाकोटीले सेवा प्रवाह गर्न थालेदेखि त्यस्ता रोगका बिरामीहरू बढेको, जिल्लाबाट पाल्पा बुटवल लगायतका अस्पतालमा रिफर गर्न नपरेको र जुन सुकै बेला पनि शिवाकोटीले सेवा प्रवाह गरेर अस्पतालको श्रीवृद्धिमा उल्लेख्य भूमिका खेलेकोले सम्मान गरिएको अर्यालको भनाइ थियो । कार्यक्रममा सिअहेव अधिकृतद्धय खिमबहादुर ज्ञवाली र रमेश प्रसाद पन्थी स्टाफ नर्स विन्दु विश्वकर्मा र कार्यालय सहयोगी देवबहादुर बस्नेतलाई पनि सम्मान गरिएको छ ।