• ९ मंसिर २०८१, आइतबार

विकासको फरक आयाम

blog

इजरायलमा माटो छैन, मरुभूमिमा प्राविधिक तवरले खेती गरेर देश धनी बनेको छ । सिङ्गापुर केही स्रोत नभएको मलेसियाको फोहोर फाल्ने ठाउँ विश्वको विकसित र आकर्षक देश बनेको छ । अमेरिका, क्यानडा त्यस्तो हिउँ पर्ने देशमा त्यस्तो विकास भएको छ । नेपालमा छ हजार नदीनाला छन्, उर्वर भूमि छ, न अति गर्मी न जाडो, विषम हावापानीको देश छ, बाह्रै महिना खेतदेखि वनसम्म उब्जनी भइरहन्छ । त्यति मात्र होइन, नेपालमा यत्रो जडीबुटी छ, बहुमूल्य चिजको खानी छन् । यी सबै कारणले नेपालमा विकासको उच्च सम्भावना छ । यहाँ विकास गर्न धेरै सहज छ भनिन्छ । विकासलाई फरक दृष्टिकोणबाट हेर्दा वास्तवमा यही सहज पक्ष नै नेपालको विकासको प्रमुख बाधक तत्वका रूपमा देखिन्छन् ।

विकास के हो ?

शासकको चाहना र नीतिले विकास हुन्छ भनिन्छ । फलानो देश फलानोको सोच (भिजन) ले विकास भएको हो भनेर उदाहरण दिइन्छ । वास्तवमा विकास कसैले चाहेरभन्दा पनि स्वतः हुने प्रक्रिया हो । विकास भनेको धेरै मानिसले धेरै काम गरेर धेरै उत्पादन गर्ने हो । कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको यही हो । जिडिपीलाई जनसङ्ख्याले भाग गरेर आउने अङ्कलाई प्रतिव्यक्ति आय भनिन्छ । यो नै सम्पन्नता र विकासको प्रमुख सूचक हो ।

प्रतिकूलता विकासको उत्प्रेरक

मानिस न्यूनतम आवश्यकता पूरा गर्न र त्यसपछि सापेक्षित आवश्यकता पूरा गर्न मेहनत गर्छन् । चरम गर्मी, चरम जाडो र केही पनि स्रोत नभएको ठाउँमा मानिसहरू कठिन मेहनत गर्छन्, उत्पादन गर्ने र कमाउने नवीन तरिकाको खोजी गर्दछन् । बाँच्नकै निम्ति मेहनत गर्न उनीहरूलाई बाध्यता पर्दछ । संयोगले उनीहरूले सिर्जना गरेको वस्तु वा सेवाको आपूर्तिसँगै माग पनि बढ्न पुग्यो भने त्यहाँ विकास हुन्छ ।

विश्वका कुनै ठुला कम्पनी सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बन्छु भनेर खुलेका होइनन् । फेसबुक (मेटा), अमेजन, माइक्रोसफ्ट, हुन्डाइ, सोनी सबै कम्पनीका संस्थापकले आफ्नो परिवार, आफन्त वा आफ्नो संस्थाको काम सहजीकरणका लागि नयाँ आविष्कार, नवप्रवर्तन वा उद्यम गरेका थिए । उनीहरूलाई थाहै नभई उनीहरूका वस्तु तथा सेवाको माग विश्वमा बढ्यो । उनीहरू धनी हुन पुगे । उनीहरू धनी हुनासाथ उनीहरूले कर तिर्ने देश पनि धनी भए ।

विकास हुनका लागि लोकतन्त्र चाहिन्छ भन्ने पनि छैन । राजतन्त्र भएका खाडी मुलुक विकसित छन् । खाडी मुलुकमा पेट्रोल खानी भएका कारणले विकास भएका होइनन् । मानिसको आधारभूत आवश्यकता खाने, लगाउने र बस्ने हो । पेट्रोलले सोझै यो कुनै सेवा दिँदैन । खाडीमा मानिसको आवश्यकता पूरा गर्ने स्रोत भएन । त्यही भएर उत्खनन र प्रशोधन गरेर इन्धन बेच्न उनीहरू बाध्य भए । बाध्यताले गरेको कामले संयोगवश विकासको चुलीमा पु¥यायो । जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालिदियो । बाँचेका मानिस पनि खान नपाएर मर्ने स्थिति आयो । बाँच्नका लागि गरेका मेहनतले देशलाई समृद्ध बनायो । इजरायलमा माटो छैन । पानीमा खेती लगाउने र लौरो गाडेर बाली अड्याउने प्रविधि विकास नगरी भोकै मर्नुपर्ने अवस्था छ । बाध्यतावश बनाएको प्रविधिले देशलाई विकसित बनायो ।

अनुकूलता पनि प्रतिरोधक

यता नेपालमा हेरौँ । नदीनाला प्रशस्त छन् । माछालगायत जलजन्तु मारेर भोजन गर्न सकिन्छ । खेत, बारी, वन, जङ्गलमा बाह्रै महिना केही न केही उब्जिरहेकै हुन्छ । चोटपटक रोगव्याधि लाग्यो भने घर वरिपरि औषधीय गुण भएका वनस्पति जति पनि छन् । समुदाय विशेष अनुसार झाँक्री, तन्त्र, मन्त्र, योग, आयुर्वेदलगायत अनेक उपचार पद्धतिको ज्ञान छ ।

नेपालमा लुगा र घर नभए पनि मानिसहरू बाँच्न सक्छन् किनकि चर्को गर्मी, जाडो, हिमपात, हावाहुरी केहीको खतरा यहाँ छैन । यहाँ खासै मेहनत नगरे पनि बाँच्न र बस्न पुग्छ । धेरैले भनेको सुनिन्छ, अमेरिका र अस्ट्रेलियामा एक हप्ता काम नगरी बाँच्न सकिन्न, यहाँ एक वर्ष हल्लेर खान पुग्छ । स्रोतसाधनको सहज उपलब्धतालाई विकासका लागि प्रोत्साहन मान्ने हो भने नेपालमा विकास सहज र सम्भव छ । माथिका उदाहरणहरूले सहज उपलब्धतालाई हतोत्साहीका रूपमा देखाउँछ । त्यस आधारमा नेपालको विकास अझै टाढा छ । अहिलेसम्म घरपरिवारमा एक÷दुई जनाले काम गरेर बाँकी सदस्यले त्यसै खान लगाउन पाइरहेकै छन् । राजनीतिमा लागेर कामै नगरी ज्यान पाल्न सकिरहेका छन् । चलाखी, ठगी, चोरी, दलाली गरेर पनि मानिसको जीविकोपार्जन भइरहेको छ ।

नेपालमा विकासको गाडी कहिले स्टार्ट हुन्छ भन्दा जुन दिनदेखि जायज काम नगरेको मानिसले पेट पाल्न नसक्ने चरम स्थिति आउँछ । यसको अर्थ हामीले अझ बढी कष्ट सहेपछि मात्र विकासतिर उक्लने छाँैं । सरकारले जे जस्ता नीति, नियम र प्रोत्साहन दिए पनि मानिस मेहनतपूर्वक काम गर्न उत्प्रेरित हुँदैनन् । एक दिन राम्ररी काम नगरे कम्पनीले रोजगारीबाट निकालिदिन्छ र बेरोजगार भइयो भने एक दिन पनि खान पाइँदैन भन्ने डर मानिसमा भयो भने मात्र काम गर्न उत्प्रेरित हुन्छन् । प्राकृतिक लाभ भएका देशमा मध्यम वर्गीय जनताको सङ्ख्या बढी हुन्छ । मध्यम वर्ग धेरै भएको ठाउँमा राजनीतिमा चासो राख्नेको सङ्ख्या पनि बढी हुन्छ । यहाँ राजनीतिक आन्दोलन र परिवर्तन छिटो छिटो हुन्छ तर विकास भने हुँदैन । नेपाल त्यस्तै मुलुक हो ।

विकासको साइत 

केही समाजमा चरम सङ्कटपछि नै विकास हुने हो । बाँकी समाजलाई त्यो अवस्थामा नपुगी पनि विकासको भोग गर्ने अवसर मिल्न सक्छ । यो चाहिँ छिमेकीको प्रभावले हुन्छ । भारतको बिहार र पश्चिम बङ्गाल विकसित भयो र नेपाल–भारत सीमा खुला नै रह्यो भने नेपाल पनि विकसित नभई रहन सक्दैन । युरोपका जति देशमा सीमा नियन्त्रणविहीन छन्, ती सबै देश विकसित छन् । उत्तर र दक्षिण कोरियाबिच खुला आवतजावत गर्न दिने हो भने उत्तर कोरियामा पनि विकास हुने छ ।

छिमेकीले विकास गरेको देखेपछि आफ्ना पनि आवश्यकता बढ्छन् । आफूलाई पनि मेहनत गर्न उत्प्रेरणा र दबाब पर्दछ । विहारमा रोजगारीको अवसर बढ्यो, ज्याला बढ्यो भने नेपालीले त्यहाँ काम गरेर पनि अहिलेभन्दा बढी कमाउँछन् । यताका उद्योगीले पनि उता जस्तै गुणस्तरीय र प्रिमियम क्लासका सामान उत्पादन गर्न थाल्छन् । नेपालमा त्यस्ता सामानको माग बढेपछि कामदारको माग र ज्याला पनि बढ्छ ।

विकासको वितरण र उतारचढाव

चरम विकासमा पुगेका समाज खुम्चिँदै जान्छन् भने अविकासमा रहेका समाज विकसित हुँदै जान्छन् । एउटा तल र अर्को माथि जाँदा बिचमा सबै समान पनि हुन्छन् । समान तहमा सधैँ टिक्दैनन् । फेरि कोही तल र कोही माथि हुन्छन् । पुनः पहिलेकै प्रक्रिया दोहोरिएर पछि समान बन्छन् । यसरी विकासको क्रममा उतारचढाव आउँछ । युद्ध वा प्राकृतिक विपत्तिले समाजलाई एक्कासि गरिबीमा झार्न सक्छ । त्यो नभए पनि चरम सीमामा पुगेपछि क्रमशः ओरालो लाग्छ ।

नेपाललगायत विभिन्न गरिब मुलुकका नागरिक छ महिनासम्म हिँडेर अमेरिका पुग्छन् । त्यसबाहेक अमेरिकी नीतिमा रहेका छिद्रका फाइदा उठाएर शरणार्थी बनेर वा अन्य तरिकाबाट गरिब मुलुकका मानिस त्यहाँ पुग्छन् । अमेरिका मात्र होइन, प्रायः विकसित देशमा अविकसित देशबाट जुनसुकै विधिले भए पनि मानिस पुग्छन् । गैरकानुनी आवतजावतलाई सरकारहरूले जति प्रतिबन्ध लगाए पनि मानिस अवसरको खोजीमा भौँतारिन छोड्दैनन् । सरकारी प्रतिबन्धको एक मात्र असर भनेको सरकारले जति कडाइ ग¥यो, यात्राको खर्च उति बढी हुन्छ । 

विकसित मुलुकमा निम्नस्तर मानिने कामका लागि कामदारको कमी भएको हुन्छ । अनौपचारिक वा गैरकानुनी तवरले वा छिद्र प्रयोग गरेर प्रवेश गरेका मानिसहरूले विकसित देशमा त्यस्तो कामदारको आवश्यकता पूरा गर्छन् । यसबाट विकसित देशलाई तत्काल फाइदा नै देखिन्छ । दीर्घकालमा भने अविकसित देशबाट गएका मानिसले लगेका संस्कार र आनीबानीबाट विकसित समाज पनि प्रभावित हुन्छ । विकसित समाजमा पनि चोरी, ठगी, ढाँटछली, राजनीतीकरण, गुट, उपगुट, सम्प्रदाय, अनावश्यक सङ्घ सङ्गठन निर्माण जस्ता असर देखिन थाल्छन् । पहिले मानिस इमानदार हुन्छन् भन्ने आधारमा तर्जुमा गरिएका नियम कानुनको दुरुपयोग बढ्न थाल्छ । त्यसपछि कानुनको दायरा विस्तार गरिन्छ ।    

Author

रमेश घिमिरे