भारत र पाकिस्तानबिचको जारी द्वन्द्व फेरि एक पटक हिंसामा परिणत भएको कारण आणविक शस्त्रअस्त्र सम्पन्न मुलुकबिचको युद्धको स्थितिले हाल दक्षिण एसियाभरि चिन्ता बढाएको छ । दुई आणविक शक्ति सम्पन्न मुलुकको मुख्य विवादको केन्द्र भनेकै भारत नियन्त्रित कश्मीर र पाकिस्तान नियन्त्रित कश्मीरका सम्बन्धमा भएको विवाद ७८ वर्षदेखि जस्ताको तस्तै छ । यी मुलुकबिच सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपश्चात् हालसम्म कश्मीरको विषयलाई लिएर चार वटा प्रमुख युद्ध भइसकेको छ । जसमा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि सन् १९४८ सम्म एक वर्ष युद्ध भएको थियो ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि भारत र पाकिस्तानले चार ठुला युद्ध लडेका छन्, जसमध्ये तीन प्रत्यक्ष रूपमा कश्मीर मुद्दासँग सम्बन्धित थिए । यी मुलुकहरूका बिच पहिलो कश्मीर युद्ध (सन् १९४७–१९४८) को रूपमा पनि चिनिन्छ, जुन युद्ध पाकिस्तानी आदिवासी मिलिसिया र पछि पाकिस्तानी सेना जम्मू कश्मीरमा प्रवेश गरेपछि सुरु भयो । कश्मीरमा आदिवासी लडाकुलाई सहयोग गर्दै पाकिस्तानी सेनाले आफ्नो अतिक्रमण सुरु गरेपश्चात् स्वतन्त्र देश कश्मिरका अन्तिम राजा हरि सिंहले सन् १९४७ मा ‘कश्मीरलाई भारतमा गाभ्ने आधिकारिक दस्ताबेज’ मा हस्ताक्षर गरेपछि त्यहाँ भारतले औपचारिक रूपमा हस्तक्षेप गरेको थियो ।
एक वर्षसम्म चलेको सो युद्ध संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युद्धविरामको साथ समाप्त भयो, फलस्वरूप पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको भूभाग र भारत अधीनस्त कश्मीरको बिच नियन्त्रण रेखा (एलओसी) स्थापना भयो जसले कश्मीरलाई पूर्ण रूपमा विभाजित गरी छोड्यो । त्यसपछि यी राष्ट्रहरूका बिच सन् १९६५, सन् १९७१ र सन् १९९९ मा पनि कश्मीरकै विषयमा युद्ध भयो, जसमा सन् १९७१ मा पूर्वी पाकिस्तान टुक्रिएर बङ्गलादेशको स्थापना भयो, जसलाई भारतले आफ्नो जितको रूपमा लियो पनि । दोस्रो युद्ध (सन् १९६५) को युद्ध पूर्ण रूपमा कश्मीरमा भयो । पाकिस्तानले भारत प्रशासित कश्मीरमा सेना घुसपैठ गरी अपरेसन जिब्राल्टर सुरु ग¥यो । जसमा भारतले पूर्ण स्तरको आक्रमणको साथ बदला लियो । सोभियत सङ्घले मध्यस्थता गरेको तास्कन्द सम्झौतासँगै युद्ध गतिरोधमा समाप्त भयो । त्यसै गरी सन् १९७१ मा पूर्वी पाकिस्तान (अहिले बङ्गलादेश) लाई टुक्राउने गरी भएको तेस्रो युद्धमा भारतको निर्णायक भूमिका देखियो जसमा कश्मीर दोस्रो मोर्चा थियो । त्यसै गरी सन् १९९९ मा भएको कारगिल युद्ध कश्मीरको कारगिल क्षेत्रमा सीमित थियो । पाकिस्तानी सैनिक र पृथकतावादीको समूहहरूले कश्मीरको नियन्त्रण रेखाभित्रको भारतीय स्थानहरूमा घुसपैठ गरे । भारतले उनीहरूलाई पछाडि धकेल्न अपरेसन विजय सुरु ग¥यो । यो युद्ध पनि अन्तर्राष्ट्रिय दबाबसँगै समाप्त भयो ।
क्षेत्रीय शान्तिमा पार्ने प्रभाव
७८ वर्षदेखिको विवाद भएको कश्मीरमा भारत र पाकिस्तानको शत्रुताको लामो इतिहास भएको हुँदा हालको द्वन्द्वले दुई देशबिच मात्र नभई वरपरको क्षेत्रमा पनि तनाव बढाएको छ । यो भड्किलोपनमा सीमा झडप, सैन्य अपरेसन र बढ्दो बयानबाजी समावेश छ, जसमा विश्वव्यापी शक्तिहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न आह्वान गर्दा दुई विशाल आर्थिक र सैनिक शक्तिहरू भारत र चीनबिच रहेको भूपरिवेष्टित राष्ट्र नेपालले आफ्नै रणनीतिक दुविधाको सामना गरिरहेको छ । यद्यपि नेपाल भारत र पाकिस्तान द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न छैन र हुनु पनि हुँदैन । यो युद्धले नेपालमा हुन सक्ने सम्भावित आर्थिक अवरोधहरू, शरणार्थीहरूको आगमन, सुरक्षा र कूटनीतिक सन्तुलनका सम्भावित चुनौती छन्, जसलाई नेपालले सम्बोधन गर्न तयार हुनु पर्छ आफ्नो रणनीति बनाउनु जरुरी छ ।
नेपालको तटस्थता
नेपालको पहिलो र प्रमुख रणनीति र चुनौती भनेको तटस्थता कायम राख्नु हो । ऐतिहासिक रूपमा नेपालले क्षेत्रीय विवादमा अल्झनबाट बच्न असंलग्न विदेश नीति अपनाएको छ । भारत वा पाकिस्तान दुवैलाई शत्रुतापूर्ण बनाउनबाट जोगिन यो अडानलाई कूटनीतिक रूपमा बलियो बनाउनु आजको आवश्यकता हो । नेपाल सरकारको सार्वजनिक र निजी सञ्चार माध्यमले यो अडानलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्नु पर्छ, संवादमार्फत शान्तिपूर्ण समाधानको वकालत गर्दै जानु पर्छ तर सरकार र प्रमुख राजनीतिक दलका नेताहरूले समय समयमा विवेक गुमाउँदै सार्वजनिक, प्रशासनिक र कूटनीतिक तवरबाट दिने अभिव्यक्तिले नेपाललाई पञ्चशीलको नीति र असंलग्न परराष्ट्र नीति कायम राख्नै मुस्किल छ, जसले क्षेत्रीय शान्ति, राष्ट्रिय सुरक्षा र नागरिक दायित्वमा प्रभाव पारिरहेको छ ।
आर्थिक अस्थिरताको सम्भावना
भारत र पाकिस्तानबिचको यो युद्ध लम्बिएमा यसबाट नेपालमा उब्जने सम्भावित चुनौती आर्थिक अस्थिरता हुन सक्छ, किनकि नेपाल पूर्ण रूपमा भारतबाट हुने आयातमा निर्भर छ । इन्धन, खाद्य आपूर्ति र औषधी जस्ता नेपालीको न्यूनतम आवश्यकतासमेतमा अवरोधको जोखिम हुन सक्छ । त्यसैले नेपालले आफ्नो आपूर्ति शृङ्खला विविधीकरणलाई प्राथमिकता दिनु पर्छ । चीन हुँदै वैकल्पिक व्यापार मार्गहरू स्थापना गर्न र आवश्यक वस्तुहरूको भण्डार बढाउनाले आपत्कालीन अवस्थामा एकल छिमेकीमाथिको पर निर्भरता कम गर्न मद्दत गर्न सक्छ ।
शरणार्थी सङ्कटको सामना
यी दुई मुलुकका बिच शरणार्थी सङ्कटको सम्भावनालाई पनि बेवास्ता गर्न सकिँदैन । यदि द्वन्द्व विस्तार भयो वा नेपालको सीमा नजिकका क्षेत्रहरूमा नागरिक विस्थापनको परिणाम भयो भने हामीलाई शरणार्थीहरूको आगमन थेग्नै मुस्किल पर्न सक्छ । जसका लागि पूर्वतयारीका साथ नेपाल सरकारले आफ्नो सीमा सुरक्षा र मानवीय स्रोतहरू तयार पार्नु आवश्यक छ । साथै आन्तरिक स्थिरता वा अन्तर्राष्ट्रिय दायित्वसँग सम्झौता नगरी यस्तो अवस्था व्यवस्थापन गर्न सक्षम हुनु आवश्यक छ ।
सीमा क्षेत्रको निगरानी
नेपालले सीमा क्षेत्रमा हुन सक्ने सम्भावित गतिविधिमा पूर्ण रूपमा निगरानी र नियन्त्रण गर्नु आवश्यक छ । नेपाल भारत संयुक्त सुरक्षा गस्ती र कारबाही बढाउनु आवश्यक छ । नेपालले सम्भावित सीमापारबाट हुने विद्रोही गतिविधि वा शत्रुतापूर्ण उद्देश्यका लागि आफ्नो क्षेत्रको प्रयोगविरुद्ध सतर्क रहनु पर्छ । सीमा गस्तीलाई बलियो बनाउनु, छिमेकी देशसँग गुप्तचर सहयोग बढाउनु र राष्ट्रिय सुरक्षा संयन्त्रहरू स्तरोन्नति गर्नु आदि नेपालले चाल्नुपर्ने महìवपूर्ण रोकथामका कदम हुन् । विचार बदलिन सक्छ, सामाजिक मान्यता भताभुङ्ग हुन सक्छ, आन्तरिक द्वन्द्व साम्य हुन सक्छ तर छिमेकी कहिले पनि बदल्न सकिँदैन, देशको अस्तित्व रहेसम्म छिमेकीका आन्तरिक सुरक्षा र चासोलाई पनि ध्यान दिई नेपालले भारत सरकारसँग बारम्बार अन्तव्रिर्mया गर्नु आवश्यक छ । यसका लागि हाम्रो आन्तरिक एकता जरुरी छ । आन्तरिक राजनीतिक एकताले सुसङ्गत राष्ट्रिय प्रतिक्रिया सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।
कूटनीतिक रूपमा नेपालले सक्रिय क्षेत्रीय कूटनीतिमा संलग्नता देखाउनु जरुरी छ । यसले शान्तिपूर्ण र तटस्थ देशको रूपमा आफ्नो स्थिति प्रयोग गरेर सार्क जस्ता प्लेटफर्ममार्फत भारत र पाकिस्तानबिच वार्ताको लागि आह्वान गर्न सक्छ । सार्कको अध्यक्षका हैसियतले नेपालले भारत–पाकिस्तान तनावका कारण सार्क धेरै हदसम्म निष्क्रिय भए पनि सदस्यको रूपमा नेपालले क्षेत्रीय शान्ति र सहयोगका प्रयासहरूलाई पुनर्जीवित गर्न जरुरी छ । यसबाहेक द्वन्द्वको समयमा सजिलै फैलिन सक्ने गलत सूचना र अफवाहहरूको प्रभावकारी रूपमा प्रतिरोध गर्न नेपालले सार्वजनिक सञ्चार रणनीतिमा लगानी गर्नु पर्छ । मानवीय र लजिस्टिक सहयोग सुरक्षित गर्न नेपालले संयुक्त राष्ट्रसङ्घ र आसियान जस्ता अन्तर्राष्ट्रिय संस्थासँग नजिकबाट काम गर्नु पर्छ । यी निकायसँगको रणनीतिक सहकार्यले नेपालको तयारी बढाउन सक्छ र शान्ति र क्षेत्रीय स्थिरताप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न बल मिल्छ ।
नेपाली मिडियाको भूमिका
चलिरहेको भारत–पाकिस्तान युद्ध जस्ता क्षेत्रीय द्वन्द्वको समयमा राष्ट्रिय स्थिरता र जनविश्वासको रक्षा गर्न नेपाली मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । मिथ्या सूचना र गलत समाचार सामाजिक सञ्जाल, सन्देश प्लेटफर्महरू र समाचार आउटलेटमार्फत पनि द्रुत रूपमा फैलिन सक्छ, जसले जनतामा डर, भ्रम र अनावश्यक आतङ्क सिर्जना गर्छ । यसको प्रतिरोध गर्न नेपालका सम्पूर्ण आमसञ्चार माध्यमले सक्रिय, जिम्मेवार र रणनीतिक भूमिका खेल्नु पर्छ । हामीले प्रवाह गरेको समाचारले सिमा क्षेत्रमा बसोबास गर्ने जनताको मनोबल बढाउने प्रयास गर्नु आवश्यक छ ।
तथ्यपरक समाचार र जानकारीको प्रत्यक्ष जाँच गरी प्रमाणित समाचार रिपोर्टिङ नै युद्धसँग सम्बन्धित सूचना प्रवाहको आधारशिला हुनु पर्छ । मिडिया हाउसले द्वन्द्वको बारेमा सबै समाचार प्रकाशित गर्नुअघि विश्वसनीय, प्रमाणित स्रोतबाट पुष्टि गरी सुनिश्चित गर्नु पर्छ । आन्तरिक तथ्य–जाँच गर्नाले अफवाहहरूको फैलावट रोक्न मद्दत मिल्छ । मिडियाले सरकार र जनताबिच पुलको रूपमा काम गर्नु पर्छ । आधिकारिक कथनहरू, सुरक्षा गतिविधि सही तरिकाले प्रकाशन र प्रसारण गर्नु पर्छ । यसले अनुमानका लागि ठाउँ कम गर्छ र पारदर्शितालाई बढावा दिन्छ । साथै, नेपाली मिडियाले जनतालाई मिथ्या सूचना पहिचान, आलोचनात्मक सोच र डिजिटल साक्षरतालाई प्रोत्साहन गर्ने बारे सुसूचित गर्नु पर्छ । स्रोतहरू कसरी प्रमाणित गर्ने, नक्कली शीर्षकहरू कसरी पत्ता लगाउने र अप्रमाणित सामग्री कसरी साझा गर्ने भन्ने विषयमा रणनीति बनाउनु आवश्यक छ ।
मिडिया आउटलेटहरूले द्वन्द्वसँग सम्बन्धित हानिकारक वा झुटा सामग्री रिपोर्ट गर्न र फ्ल्याग गर्न सामाजिक सञ्जाल कम्पनीसँग काम गर्नु पर्छ । यसबाहेक द्वन्द्वलाई कम गर्न शान्तिमुखी पत्रकारिताको प्रवर्धन आवश्यक छ । युद्धको बयानबाजी वा सनसनीपूर्ण कथाहरूलाई बढावा दिनुको सट्टा, नेपाली मिडियाले कूटनीति, द्वन्द्व समाधान र नेपालको राष्ट्रिय हितका लागि तटस्थताको महत्वलाई जोड दिने गरी रिपोर्टिङमा ध्यान केन्द्रित गर्नु पर्छ । पत्रकारिता पेसामा नैतिकता र जवाफदेहितालाई कडाइका साथ पालना गर्नु पर्छ प्रत्येक पत्रकारको कर्तव्य हो । भड्काउने रिपोर्टिङ, पक्षपाती व्याख्या वा साम्प्रदायिक वा सीमापार तनाव भड्काउन सक्ने सामग्रीलाई कुनै पनि हालतमा रोक्नु पर्छ । सङ्क्षेपमा, क्षेत्रीय द्वन्द्वको समयमा गलत सूचनासँग लड्दै शान्ति, स्पष्टता र राष्ट्रिय एकता कायम राख्न नेपाली मिडियाको महìवपूर्ण भूमिका छ ।
निष्कर्ष
हालको भारत पाकिस्तान युद्धले क्षेत्रीय अस्थिरता बढाएको छ र नेपाल प्रत्यक्ष रूपमा संलग्न नभए पनि अप्रत्यक्ष जोखिमको सामना गरिरहेको नेपालले सम्भावित आर्थिक, सुरक्षा र मानवीय प्रभावलाई सम्बोधन गर्न परराष्ट्र नीतिलाई तटस्थता बनाउनु जरुरी छ । समग्रमा सङ्कटको समयमा राष्ट्रिय हितको रक्षा गर्न सक्रिय र सन्तुलित रणनीति आवश्यक छ । भारत र पाकिस्तान युद्धको नेपाल प्रत्यक्ष पक्ष नभए पनि यसले सामाजिक अशान्ति र क्षेत्रीय विकासको समयमा राष्ट्रिय हितको रक्षा गर्न र यसको सिमानाभित्र शान्ति कायम राख्न तटस्थता, तयारी, कूटनीति र सुरक्षा सतर्कता समावेश गर्ने व्यापक रणनीति तयार पार्नु आवश्यक छ ।