• १४ असार २०८२, शनिबार

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

blog

पेरिस, असार १४  गते । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेश अनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागु हुने छ ।

स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।”

यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागु हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइने छ । नियम उल्लङ्घन गर्ने व्यक्तिलाई १३५ युरो [करिब १५८ अमेरिकी डलर] जरिवाना तिर्नुपर्ने छ ।

फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धलाई समर्थन गरेका छन् । एएफपी