ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको सिम्रौनगढ अहिले नेपालको राजनीतिक भूगोलमा मध्य तराई, मधेश प्रदेशको बारा जिल्लामा पर्छ । बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर दक्षिण पूर्वमा रहेको सिम्रौनगढ पूर्वपश्चिम ४.५ किलोमिटर, उत्तर दक्षिण ६.५ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि तीन सयदेखि पाँच सय मिटरको औसत उचाइमा रहेको यो ठाउँ ४२.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
विश्व मानचित्रमा सिम्रौनगढ क्षेत्र २६ डिग्री ५५ मिनेट पूर्वपश्चिम अक्षांश र ८५ डिग्री १० मिनेट उत्तर दक्षिण देशान्तरमा रहेको छ । तीन नगरपालिका र २० वटा गाउँ टोलमा फैलिएको सिम्रौनगढको दक्षिणमा भारतको बिहार राज्य, पूर्वमा रौतहट, उत्तरमा मकवानपुर र पश्चिममा पर्सा जिल्ला पर्छ । भौगोलिक रूपमा शिवालिक पर्वत शृङ्खलाको दक्षिण भेकमा गङ्गा जमुना नदीले सिर्जना गरेको फाँटले यो क्षेत्र बनेको हो । तत्कालीन सिम्रौनगढ नगरपालिका, कचोर्वा गाविस, देवापुर टेटा गाविस, भगवान्पुर गाविस र बिसुनपुर गाविसको वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ समावेश गरेर अहिलेको सिम्रौनगढ नगरपालिकाको गठन गरिएको छ । २०७३ सालमा स्थापना भएको सिम्रौनगढ नगरपालिकाको जनसङ्ख्या ४९ हजार ९३९ छन् । यस नगरपालिकामा ११ वटा वडा छन् । मानव सभ्यताको उत्थान र पतनसँगै विभिन्न स्थानको विकास र विनाशले सम्बन्ध राख्छ । सभ्यताको पतनसँगै मानवबस्ती पनि उजाड र बिरानो हुँदै जान्छ । त्यस्ता ठाउँहरू पछि गढ, गढी आदिको नामले प्रख्यात हुन्छन् । यस्तै मानव अतीतलाई छातीमा समेटेर ऐतिहासिक धरोहरलाई सुरक्षित राखेको छ सिम्रौनगढ जसलाई इतिहास, कला र संस्कृतिको खुला सङ्ग्रहालयको रूपमा लिन सकिन्छ ।
सिम्रौनगढकोे स्थापना उपनिषद्काल र पौराणिक कालमा हिन्दु संस्कृतिको केन्द्रको रूपमा प्रख्यात प्राचीन विदेह वा मिथिला क्षेत्रमा भएको हो । शतपथ ब्राह्मण, बौद्ध र जैन धर्मका ग्रन्थ अनुसार जम्बुद्धीपको कुरु–पाञ्चालमा सांस्कृतिक र भौतिक जागरणपछि तेस्रो चरणमा आर्यहरूको उत्थान केन्द्र गण्डकी पूर्वमा भएको थियो । धेरै वर्षको निरन्तर सङ्घर्षपछि विदेह माथवले अनार्यहरूलाई परास्त गरी इसापूर्व एक हजारमा विदेह राज्यको स्थापना गरेका थिए । जसलाई मिथिला भनिन्छ । जसको सिमाना पश्चिममा सदानिरा (गण्डकी), पूर्वमा कौशिकी (कोशी), उत्तरमा शिवालिक (हिमालय) र दक्षिणमा गङ्गा नदीसम्म थियो ।
सातांैँ शताब्दीको अन्त्यतिर बङ्गालका गौड राजा शशाङ्क र हर्षबद्र्धनले समेत यहाँ शासन गरेको पाइन्छ । सातौँ शताब्दीको अन्त्यमा यो क्षेत्र पुनः मगध राजा आदित्य सेनको अधिकारमा गयो । आठौँ शताब्दीमा बङ्गालमा राज्य स्थापना गर्ने पालहरूले यस क्षेत्रमा शासन गरेका थिए । सन् १०१९ मा यस क्षेत्रमा गङ्गेदेवले शासन गरेको पाइन्छ ।
लामो समयको अन्तरालपछि सन् १०९७ मा मिथिला पुनः एक पटक कर्नाटकवंशीहरूको अधीनमा पुग्यो । कर्नाटकवंशी राजा चालुक्यका सेनापति नान्यदेवले मिथिलामाथि विजय गरी सिमलको वनलाई राजधानी बनाए, जसलाई आज सिम्रौनगढ भनिन्छ । सिम्रौनगढको सम्बन्ध सिमलको वनसँग रहेको तथ्य नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावली ‘गोपालराज वंशावली’ ले समेत प्रस्टाएको छ । सो वंशावलीमा यस स्थललाई ‘सिमरावनगढ’ भनी उल्लेख छ, जसको अर्थ हुन्छ ‘सिमलको वनमा रहेको किल्ला’ । सिमलको वन रहेको यो क्षेत्र सिमारावनगढबाट अपभं्रश हँुदै सिम्रौनगढ भएको देखिन्छ । सन् १७३९ देखि १७५४ सम्म काठमाडौँ उपत्यकामा आउने जाने गरेका इटालियन पादरी क्यासियानोले पनि ‘सिमानागढ’ भन्ने शब्द उल्लेख गरेको पाइन्छ । नान्यदेवले मिथिलाको राजधानी सिम्रौनगढलाई बनाएपछि सन् १०९७ देखि सन् १३२७ सम्म कर्नाटकवंशीले यहाँ अभेद शासन गरेको देखिन्छ । सिम्रौनगढमा नान्यदेवपछि, गङ्गासिंहदेव, नरसिंहदेव, रामसिंह देव, शक्ति सिंह देव, भूपालसिंह देव र अन्तिम राजाको रूपमा हरिसिंह देवले शासन गरेका थिए । मिथिलाको इतिहासमा यस काललाई स्वर्णयुग भनिन्छ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक र कला साहित्यको विकास चरम उत्कर्षमा पुगेको थियो ।
सिम्रौनगढ यानि तिरहुतका अन्तिम राजा हरिसिंहदेवको पालामा अर्थात् सन् १३२७ मा दिल्लीका बादशाह गयासुद्धिन तुगलकले सिम्रौनगढलाई ध्वस्त पारेपछि राजा र भारदारहरू उत्तरतिर लागे । राजा हरिसिंहदेव काठमाडौँ उपत्यका प्रवेश गर्ने क्रममा सिन्धुलीको तीनपाटन भन्ने ठाउँमा मृत्यु भयो । उहाँको मृत्युपछि रानी देवलदेवी (उहाँको माइती काठमाडौँ उपत्यकामा थियो) र राजकुमार जगतसिंहलगायत राजपरिवारका सदस्यले भक्तपुर राजदरबारमा शरण लिएका थिए ।
त्यसपछि नेपाल उपत्यकाको मल्ल वंशमा कर्नाटकवंशीको प्रभाव देखिन थाल्यो । राजकुमार जगतसिंह नेपाल उपत्यका आउँदा सिम्रौनगढ राजपरिवारका कुलदेवी तलेजु भवानीलाई लिएर आए । पछि तलेजु भवानीको स्थापना नेपाल उपत्यकामा भयो । आज उपत्यकामा तलेजु भवानीको भव्य मन्दिर छ । यसरी काठमाडाँै उपत्यका र सिम्रौनगढबिच धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध पुरानो र प्रगाढ रहेको स्पष्ट हुन्छ । हरिसिंहदेवको पतनपछि गयासुदिन तुगलकका प्रतिनिधिले मिथिलाको राजधानी सिम्रौनगढबाट भारतको दरभङ्गा सारेको पाइन्छ । मिथिलाको नाम तुगलकावाद राखी दरभङ्गाबाट शासन सञ्चालन गरियो । पछि नियमित कर तिर्नुपर्ने गरी स्थानीय कामेश्वर ठाकुरलाई राज्य सञ्चालनको जिम्मा दिइयो । ठाकुरले सन् १५२६ सम्म सत्ता सञ्चालन गरेको देखिन्छ । इस्वीको १६ औंँ शताब्दीमा पाल्पाली सेनवंशका राजा मुकुन्द सेन (प्रथम) का कान्छा छोरा लोहाङ सेनले यो क्षेत्र जितेपछि सिम्रौनगढ मकवानपुरका सेन राजाहरू मातहत शासित हुन पुग्यो । त्यसपछि पृथ्वीनारायण शाहले चलाएको नेपाल एकीकरणको अभियानमा गोर्खाली फौजले सेन राजा दिग्वर्धन सेनलाई पराजय गरी यस क्षेत्रमा कब्जा जमायो । त्यस बखतदेखि नै यो क्षेत्र नेपालमा गाभिन पुग्यो ।
सुरक्षित र सम्पन्न राजधानी
सन् १२३६ मा सिम्रौनगढको भ्रमण गरेका तिब्बती विद्वान् धर्मस्वामीले गरेको वर्णन अनुसार सिम्रौनगढ एक सुरक्षित र सम्पन्न राजधानी थियो । उहाँका अनुसार सिम्रौनगढ बलिया, अग्ला चव्रmब्युहाकार पर्खालद्वारा घेरिएको थियो । धर्मस्वामीका अनुसार त्यसबेला यहाँको जनसङ्ख्या छ लाख थियो । त्यसै गरी, इटालियन पादरी क्यासियानो (सन् १७३९ देखि सन् १७५४ सम्म) र अङ्ग्रेज विद्वान् हडसनले सन् १८३५ मा सिम्रौनगढ पुगी अध्ययन र अनुसन्धान गरेका थिए । तत्कालीन राजा वीरेन्द्रबाट यस क्षेत्रको अवलोकनपश्चात् यहाँको पुराताìिवक अवशेषको अध्ययन अनुसन्धानका लागि भएको निर्देशनबमोजिम पुरातìव विभाग र इटालियन सरकारको तìवधानमा सन् १९९१, १९९२ र १९९४ मा सिम्रौनगढको उत्खनन गरिएको थियो । उत्खननको व्रmममा कर्नाटपूर्व काल, कर्णाटकालका पुराताìिवक, धार्मिक र सांस्कृतिक अवशेषहरू प्राप्त भएको थियो ।
सिम्रौनगढका पुराना अवशेषहरू आज पनि यत्रतत्र पाइन्छ । यहाँ डढेको चामल, माटोका भाडा वर्तन, गर गहना पाइन्छ । यस क्षेत्रको कचोर्वा गाउँमा माकराकृतिको टुटी भएको धारो, हरिहरपुर गाउँमा रहेको ढुङ्गाको बाकस रहस्यमय छ । खन्दै जाँदा भित्र भासिनु यस बाकसको विशेषता छ । अत्यन्त कलात्मक रहेको यो बाकसको बाहिरी भाग मात्र देखिन्छ । बाँकी भाग जमिनमा गाडिएको छ । स्थानीयवासीले यसलाई बाकस, तिजोरी, सन्दुक भने पनि वास्तवमा यो के हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बाकस भनिएको नजिकै खम्बा आकारको कालो ढुङ्गा छ । खम्बा सामान्य देखिए पनि १०÷१५ जनाले यसलाई हल्लाउनसमेत सक्दैनन् ।
यस क्षेत्रको अमृतगन्ज गाउँमा रहेको ढुङ्गाको खम्बा झन् रहस्यमयी छ । स्थानीयबासीका अनुसार यस खम्बालाई बाहिर निकाल्न खोज्दा यो झन् जमिनमा भासिने गर्छ । यो क्षेत्रमा बाढी आए पनि यो खम्बा डुब्दैन । यस प्रकार सिम्रौनगढ क्षेत्र पुराताìिवक दृष्टिकोणले महìवपूर्ण देखिन्छ । आज पनि यस क्षेत्रका ढुङ्गा र मूर्तिका अन्य अवशेषहरूमा दैवी शक्ति रहेको स्थानीयवासीको विश्वास छ ।
सिम्रौनगढको सांस्कृतिक सम्पदाको दोस्रो स्थानमा यहाँका मन्दिरहरूलाई लिन सकिन्छ । सिम्रौनगढको बिच भागमा स्थापना गरिएको कङ्काली मन्दिर इटद्वारा निर्माण गरिएको शिखर शैलीमा छ । मन्दिर चारैतिर चतुष्कोणकारको भवनको बिचमा शिखर उठेर माथिसम्म चुलिएको छ । मन्दिरको चारैतिर खुला गुम्बजाकारको प्रवेशद्वार निर्माण गरिएको छ । मन्दिरभित्र अग्लो मञ्च बनाइएको छ जसमाथि पूर्वतिर फर्काएर कङ्कालीको मूर्ति प्रतिष्ठापित गरिएको छ । मन्दिरको दलिनमा विभिन्न चित्र बनाइएको छ । यस मन्दिरको निर्माण मान्साराम बाबाले सन् १८१६ भन्दा अगाडि नै सानो आकारमा गरेका थिए । पछि उहाँका चेला रामसेवक दासले सन् १९६७ अहिलेको मन्दिर निर्माण गरेका थिए ।
मन्दिरमा रहेका कङ्कालीको मूर्ति कालो प्रस्तरमा कुदिएको छ । मूर्तिको गोलाकार अनुहार, ठुला आँखा, पुष्ट छातीले त्यसबेलाको विशेषतालाई दर्शाउँछ । देवीको गालामा हार, कानमा गोलाकार कुण्डल, कमरमा हार जडेको च्याप्टो पेटी छ । शान्त सौम्य मुद्रामा रहेको यो मूर्तिले कलामा छुट्टै स्थान ओगटेको छ ।
यहाँ हरेक वर्ष चैतमा रामनवमीको दिन ठुलो मेला लाग्ने गर्छ । सामान्य रूपमा भक्तजनहरूको आउने व्रmम दिनहुँ नै रहन्छ । अहिले पनि यो क्षेत्रमा कङ्काली माताको ठुलो महिमा छ भनिन्छ । यहाँ आउने भक्तजनहरूमा माता कालीको रूप देख्न सकिन्छ । त्यसै गरी चिताएको फल देवीले पूरा गर्छिन् भन्ने जनविश्वास छ ।
कङ्काली मन्दिर प्राङ्गनमा विभिन्न देवीदेवताका अन्य मन्दिर छन् । प्राङ्गणमा रहेका मन्साराम बाबाको मन्दिर निर्माण गरिएको छ । मन्दिरभित्र मन्साराम बाबाको समाधि स्थल छ । समाधि अगाडि एक जोर खराउ छ, जसलाई मन्साबाबाको खराउ भनी पूजा गरिन्छ । प्राङ्गनमा शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्माको मन्दिर रहेका छन् । कङ्काली मन्दिरदेखि करिब डेढ माइलको पश्चिम दुरीमा रहेको छ, रानीबास जहाँ राम जानकीको मन्दिर छ । अमृतगन्ज गाउँमा अवस्थित यो मन्दिर सिम्रौनगढको वास्तुकलाको थप परिचय दिन्छ । विसं १९३३ मा सिम्रौनगढमा शिकार क्याम्प सकेर फर्कने व्रmममा पत्थर घट्टा भन्ने ठाउँमा श्री ३ जङ्गबहादुर राणाको मृत्यु भएको थियो । उहाँकी रानी हिरण्यकुमारीले सती जाने बेलामा व्यक्त गरेको इच्छाबमोजिम छोरा जितजङ्गले विसं १९३५ मा सो मन्दिरको निर्माण गरेका थिए । जुन कुरा यहाँको घण्टामा समेत उल्लेख छ । यो मन्दिर शिखर शैलीमा छ । मूल मन्दिर भने तीन तहको पेटिमाथि बनेको छ, जसको चारैतिर खुला प्रदक्षिणा भाग छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका प्रतिमाहरू प्रतिष्ठापित छन् । अगाडि जङ्गबहादुर, हिरण्यकुमारीलगायत परिवारका सदस्यको प्रतिमा छ । मन्दिर निर्माणमा त्यहाँका भाग्नावेशषहरू प्रयोग भएको देखिन्छ । मर्मत सम्भारको अभावमा मन्दिर जीर्ण बन्दै गएको छ ।
यस क्षेत्रमा समय–समयमा प्राप्त भएका मूर्तिहरूले सिम्रौनगढको महìवलाई झन् बढाइदिएको छ । यहाँका मूर्तिकलाले सिम्रौनगढको सांस्कृतिक समृद्धिलाई पुष्टि गर्छ । यहाँको मूर्तिकलाले आर्थिक रूपले समृद्ध यो राज्यमा कला र साहित्यले भरपुर उन्नति गर्ने मौका पाएको स्पष्ट हुन्छ । मूर्तिहरू धेरै जसो हिन्दु धर्म संस्कृतिसँग सम्बन्धित रहेको हुनाले यस क्षेत्रमा हिन्दु धर्मालम्बीहरूको बाहुल्यता रहेको प्रमाणित हुन्छ । अनन्त शान्ति, ऐश्वर्य र करुणाले धपक्क बलेको, अलौकिक भाव र मुस्कानयुक्त चिल्ला काला ढुङ्गामा कुदिएका मूर्तिहरूले यहाँको कलाको स्वतन्त्र र मौलिक शैलीलाई प्रस्तुत गर्छ । यहाँको मूर्तिमा पाइने आवरण र आभूषणले भक्ति रस र सौन्दर्भ रसको रसास्वादन गराउन सफल छ । मूर्तिहरूमा भाव अभिव्यक्तिको जुन मार्मिकता प्रदर्शित छ त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।
संरक्षणको अभाव
समग्र मिथिलाको कला संस्कृतिको परिचय दिन सफल यहाँका मूर्तिहरू संरक्षणको अभावमा लोप हुने अवस्थामा छन् । मुस्लमानी आक्रमणमा यहाँका अधिकांश मूर्तिहरूको अङ्गभङ्ग गरी अस्तित्व समाप्त गरियो । बँचेखुँचेका मूर्तिहरूको पनि चोरी हुने र हराउने क्रम जारी छ । केही वर्षअघि पुरातìव विभागको सव्रिmयतामा कङ्काली मन्दिर परिसरका मूर्तिहरूलाई मन्दिर परिसरमै घर बनाई सङ्गृहीत गरिएको छ । त्यसै गरी, सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्गृहीत गरिएको छ । राष्ट्रिय सङ्ग्रहालयमा सिंहबाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रह्माको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्वारको टुक्रा सङ्ग्रहालयको भित्री द्वारमै राखिएको छ । यस क्षेत्रमा अनेकन पोखरी र इनार रहेका छन्, जसमध्ये, इशरा, झरौखर, राजावादा, मनहर्वा, धोबिनिया, नरकटी, जोकही, आमवा, हथाइया प्रमुख छन् । इशारा पोखरी कङ्काली मन्दिरको अगाडि छ । यो पोखरीको नाम राजा शिवसिंहकी रानी इशाराको नामबाट राखिएको भनाइ छ । यस प्रकार, ऐतिहासिक, सांस्कृतिक र पुराताìिवक महìव बोकेको सिम्रौनगढको संरक्षण र प्रवर्धन पक्ष निकै कमजोर देखिन्छ । यस क्षेत्रको संरक्षण र प्रवर्धनका निम्ति बृहत् योजनाको आवश्यकता देखिन्छ । यसका लागि संस्कृति मन्त्रालय, गुठी संस्थान, पुरातìव विभाग जस्ता निकायहरूको भूमिका महìवपूर्ण हुन सक्छ ।
कला–संस्कृतिको अकुत भण्डारको रूपमा रहेको यस क्षेत्रको उत्खनन र न्यायोचित मूल्याङ्कन नगरिएसम्म नेपालको कलाकृतिको इतिहासको खोजी अधुरो नै रहने देखिन्छ । बृहत् गाउँ पर्यटनको सम्भवता बोकेको यस क्षेत्रको बहुमूल्य वस्तुलाई साँच्चै नै मूल्यवान् बनाउने हो भने सङ्घीय सरकार, स्थानीय निकाय, व्यक्ति सङ्घ–संस्थाहरूको संयुक्त प्रयास आवश्यक देखिन्छ ।
भूभौतिक सर्वेक्षण सम्पन्न
सिम्रौनगढको भूभौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) काम सम्पन्न भएको छ । पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा सिम्रौनगढको सर्वेक्षण सम्पन्न गरेको हो । सर्वेक्षणमा बेलायतको दुरहाम विश्वविद्यालयका आर्कोलोजिकल विभागका वरिष्ठ पुरातात्त्वविद् डङ्कन हालेसहितको सहभागिता रहेको थियो । पुरातात्त्व विभागका अनुसार सिम्रौनगढ र त्यसको वरपरको ठाउँमा गरिएको सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातत्त्व सम्पदाको प्रचुर सम्भावना देखिएको छ । सर्वेक्षणको क्रममा सो क्षेत्रमा नव पासानकालीन (नियोलेथिक) हथियार तथा सरसमानहरू र माटाका भाडाहरू प्राप्त भएको हो । ‘जिपिआर’ प्रविधि र ड्रोन क्यामेराबाट सर्वेक्षण गरिएको थियो । यस प्रविधिले मानिसको शरीरको एक्सरे गरे जस्तै जमिनको भित्री भागको एक्सरे गर्ने भएकाले जमिनभित्र रहेका वस्तुहरूबारे सहजै थाहा पाउन सकिन्छ । सर्वेक्षणको क्रममा प्राप्त नमुना (स्याम्पल) हरूको थप अनुसन्धान (प्रोसेसिङ)का लागि बेलायत पठाइएको छ । अहिलेको सवेक्षणले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढको सम्पूर्ण क्षेत्र के कस्तो अवस्था छ ? यहाँका संरचनाहरू कस्ता छन् भन्ने विषयमा धेरै हदसम्म स्पष्ट हुने विश्वास गरिएको छ ।
मूर्ति फिर्ता ल्याउन पहल गछौँ
सिम्रौनगढको पुरातात्त्विक सम्पदाको अहिलेसम्म संरक्षण भएको छैन । सम्पदाहरूको संरक्षणका लागि अहिलेसम्म सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय आमनागरिकको समेत तदारुकता देखिएको छैन । सिम्रौनगढको विकासको पहिलो दायित्व यहाँको जनता र स्थानीय तहको नै हो तर अहिलेसम्म त्यस्तो देखिएको छैन ।
स्थानीयकै कमीकमजोरीका कारण सिम्रौनगढको चार वटा बहुमूल्य मूर्ति काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएका छन् । ती मूर्तिहरू पुनः ल्याउन यहाँका स्थानीय सरकार वा आमनागरिकले पहल हुन सकेको छैन । मेरो कार्यकालमा ती मूर्तिहरूलाई सिम्रौनगढ फिर्ता ल्याउन भरपुर पहल गरिने छ । हुन त सिम्रौनगढकै मूर्तिले आज काठमाडौँ उपत्यका मूर्तिमय बनेको हो ।
सिम्रौनगढ नगरपालिकाले यहाँका मूर्तिहरू, इतिहास र सम्पदासँग सम्बन्धित सामग्रीहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने तथा यस क्षेत्रलाई गाउँ पर्यटनको रूपमा विकास गर्ने योजना बनाएको छ । यसका लागि बजेट छुट्याउनुका साथै आवश्यक तयारी सुरु भइसकेको छ ।
किशोरीप्रसाद कलवार
प्रमुख
सिम्रौनगढ नगरपालिका
सङ्ग्रहालय निर्माण गर्ने योजना छ
मुलुकको इतिहास, पुरातत्त्व र पर्यटनसँग जोडिएको सिम्रौनगढको सम्पदाहरूको संरक्षण पुरातत्त्व विभागको प्राथमिकतामा छ । त्यहाँका मठ, मन्दिर र मूर्तिहरूको संरक्षण गर्ने योजना अन्तर्गत नै विभागको लगानीमा अहिले सिम्रौनगढस्थित राम जानकी मन्दिर (रानीबास) को जिर्णोद्धार तथा भत्केका भिताहरूको निर्माण भइरहेको छ । त्यहाँ बेलाबेलामा भेटिने मूर्तिहरू, पुरातात्त्विक सामग्रीहरूको संरक्षणका लागि राम जानकी मन्दिर परिसरमा नै सङ्ग्रहालय निर्माण गर्ने योजना छ ।
काठमाडौँ उपत्यका र सिम्रौनगढबिच सांस्कृतिक र पारिवारिक सम्बन्ध रहेको छ । काठमाडौँ उपत्यकामा रहेको तलेजु भवानी सिम्रौनगढकै राजपरिवारको कुल देवी रहेको समेत इतिहासकार बताउँछन् । त्यहाँका राजा हरिसिंह देवको ससुराली नै भक्तपुरमा रहेकोले सिम्रौनगढ र काठमाडौँ उपत्यकाबिच सांस्कृतिक र पारिवारिक सम्बन्ध रहेको पाइन्छ । त्यसैले, सिम्रौनगढको विकास तथा त्यहाँको सम्पदाहरूको संरक्षणका लागि काठमाडौँ उपत्यकावासीको समेत दायित्व छ ।
सौभाग्य प्रधानाङ्ग
महानिर्देशक
पुरातत्त्व विभाग