• २३ साउन २०८२, शुक्रबार

धरहराको लिफ्ट बिग्रँदा सास्ती

blog

काठमाडौँ, साउन २३ गते । दैनिक दुई चरणमा सञ्चालन हुँदै आएको धरहराको लिफ्ट बिग्रेर एक सातादेखि सेवा अवरुद्ध हुँदा धरहरा चढ्न आउने आगन्तुकले दुःख पाइरहेका छन् । अहिले धरहरा चढ्नेहरू भर्‍याङ भएर २२ तला उक्लिन बाध्य छन् । लिफ्ट बिग्रिँदा धरहरा चढ्ने आगन्तुकको सङ्ख्यामा समेत कमी आएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख रोशनकुमार श्रेष्ठले धरहरा आयोजनाको विद्युतीय प्रणालीमा आएको खराबीका कारण लिफ्ट चल्न नसकेको बताउनुभयो । लिफ्ट चल्न नसक्दा धरहरा चढ्नेको सङ्ख्या घटेको उहाँको भनाइ छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गत धरहराको निर्माण तथा सञ्चालन भइरहेको छ । आयोजना निर्माण तथा सञ्चालनका क्रममा कुनै प्रणाली वा उपकरण बिग्रिनु तथा बन्द हुनु स्वाभाविक विषय रहेको बताउँदै उहाँले विद्युतीय प्रणालीको सञ्चालन तथा लिफ्टलाई चालु अवस्थामा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार भइसकेको जानकारी दिनुभयो । उहाँले अबको केही दिनमा धरहरा पहिलेकै अवस्थामा सञ्चालनमा आउने बताउनुभयो ।

संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले सःशुल्क धरहरा खुला गर्ने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सःशुल्क धरहरा सञ्चालनमा ल्याइएको हो । साउन १ गतेदेखि धरहरा दैनिक दुई चरणमा सञ्चालन हुँदै आएको छ ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का नायब सुब्बा बाघसिंह ओलीले जानकारी दिनुभयो । त्यसै गरी सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क तोकिएको छ । 

धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङबापत शुल्क लिने भनिए पनि अहिलेसम्म नलिएको उहाँले बताउनुभयो । अहिलेसम्म सर्वसाधारणले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ सेवा लिँदै आएका छन् । चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपियाँ र दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा १० रुपियाँ पार्किङ शुल्क तोकिएको छ ।