• ८ भदौ २०८२, आइतबार

वर्षौदेखि खानेपानी आयोजना अलपत्र

blog

बोमलाल गिरी

नवलपुर, भदौ ८ गते। नवलपुरको कावासोती नगरपालिका–१३ का बासिन्दाले वर्षौंदेखि खानेपानी अभाव झेलिरहेका छन्। चार हजार पाँच सय घरधुरीलाई लक्षित गरी झण्डै पाँच वर्ष अघि निर्माण सुरु गरिएको बौनाहा खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण अधुरै छाडिएपछि स्थानीय खानेपानीबाट बञ्चित भएका हुन्। 

ओभरहेड ट्याङ्की, पाइपलाइन र संरचना निर्माण अलपत्र अवस्थामा छोडेका कारण स्थानीयले खानेपानी पाउन सकेका छैनन्। ‘‘धारामा पानी आउँदैन, बोरिङको पानी पिउनु परेको छ, त्यो पनि हिउँदमा प्रयाप्त पानी नआउँदा झनै समस्या भइरहेको छ,’’ स्थानीय उपभोक्ता धनप्रसाद थनेतले भन्नुभयो, ‘‘खानेपानी आयोजना बनाउन थालेको पनि वर्षौ भयो, तर काम सम्पन्न हुन सकेको छैन, के कारणले बन्न नसकेको हो ? केही बुझ्न सकेका छैनौं।’’

२०७७ साल असार २१ गते सम्झौता भएको बौनाहा खानेपानी आयोजना दुई वर्षभित्र अर्थात् २०७९ असारसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर, समयमै काम अघि नबढ्दा आयोजनाको निर्माण पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम लामिछानेले बताउनुभयो।

प्राकृतिक–काश्यप–समिर जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको हो। उक्त ठेकेदार कम्पनीले पटक-पटक समय थप्दै ढिलाइ गरिरहेको र बारम्बार दबाब दिँदा पनि काम सम्पन्न नगरेको अध्यक्ष लामिछानेले बताउनुभयो। 


‘‘जनप्रतिनिधिसहित टोली बनाएर डेलिगेसन पनि गयौं, तर ठेकेदार टसको मस छैन, अहिले ओभरहेड ट्याङ्की अलपत्र छ,’’ अध्यक्ष लामिछानेले भन्नुभयो, ‘‘स्थानीय उपभोक्ता खानेपानी अभावमा छटपटाइरहेका छन्।”  

कोरोना महामारीको कारण देखाएर २०७९ असार २१ मा सकिनुपर्ने आयोजनाको म्याद २०८० असार २१ गतेसम्म म्याद थपियो। निर्धातिर समयमा काम सम्पन्न नभएपछि नेपाल सरकारले फेरि २०८१ जेठ १ गतेसम्म काम सक्ने गरी म्याद थपे पनि अझैसम्म काम सम्पन्न हुन सकेको छैन।

३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपियाँ लागत अनुमान गरिएको सो आयोजना अन्तर्गत हालसम्म ठेकेदार कम्पनीले करिब १ करोड ९ लाख रुपियाँ भुक्तानी लगिसकेको अध्यक्ष लामिछानेले बताउनुभयो। उहाँले पटक पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन नसक्नु कार्यालयको कमजाेरी भएको भन्दै अब कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताउनुभयो।

कावासोती–१३ का वडाध्यक्ष लालबहादुर गुरुङले ठेकेदार कम्पनीको ढिलासुस्ती प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। 

ठेकेदारले लापरबाही गरिदिँदा आयोजना अलपत्र परेको भन्दै समितिले ताकेता गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि खोजिदिनका लागि निर्माण स्थलमै विभिन्न राजनीतिक दलका प्रतिनिधि, बौनाहा खानेपानी समितिका पदाधिकारी र स्थानीयले फोटोसहित सार्वजनिक सूचना निकालेर आग्रह समेत गरेका थिए। ठेकेदार सम्पर्कमा नआएपछि कम्पनीलाई कारबाही गर्न स्थानीय उपभोक्ताले माग गरेका छन्।

नवलपुरका खानेपानी आयोजना डिभिजन खानेपानी कार्यालय तनहुँले हेर्दै आएको छ। सो कार्यालयका इन्जिनियर महेन्द्र आचार्यले ठेकेदार कम्पनीको लापरबाहीकै कारण आयोजना अलपत्र परेको बताउनुभयो। 

“काम सम्पन्न नभएकाले हामीले अझै भुक्तानी नबढाएका हौं र नवीकरण पनि गरेका छैनौं । अब के गर्ने भन्नेबारे छलफल भइरहेको छ,’’ इन्जिनियर आचायले भन्नुभयो, ‘‘पुनः टेन्डर गर्ने कि पुरानै कम्पनीलाई कारबाही गरेर काम अगाडि बढाउने विषयमा छलफल भइरहेको छ।”