• ८ भदौ २०८२, आइतबार

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तिज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तिज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पुँजीपतिको व्यापारिक प्रवृत्तिले तिज पर्वलाई विकृत बनाएको आरोप लगाउनुभयो ।

नाफा कमाउन लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको भन्दै भुसालले चिन्ता व्यक्त गर्नुभयो । हाम्रा धार्मिक आस्था बोकेका पर्वमा हुने गलत प्रवृत्तिलाई रोक्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरिएको उल्लेख गर्दै तिजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा मनाउनुभन्दा अवसर, सशक्तीकरण र सकारात्मक परिवर्तनका लागि मनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले तिजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तिजलाई सांस्कृतिक, सामाजिक र मूल्य मान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने विचार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तिजमा सामाजिक मूल्य, मान्यतालाई आत्मसात गर्दै सकारात्मक सन्देश दिने गरी मनाउनुपर्ने बताउनुभयो । आगामी दिनमा पनि विभाग महिला उत्थानका लागि सक्रिय रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस