• ५ भदौ २०८२, बिहिबार

पुनर्निर्मित काष्ठमण्डप अलपत्र

blog

काठमाडौँ, भदौ ५ गते । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रस्थित काष्ठमण्डप पुनर्निर्माण भई उद्घाटन भएको चार वर्ष पुग्न लाग्दासमेत सञ्चालन हुन सकेको छैन । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ चैत २१ गते काष्ठमण्डपको उद्घाटन गर्नुभएको थियो । सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपलाई मरुसत्तलका रूपमा समेत चिनिन्छ । 

दैनिक सयौँ आगन्तुकले अवलोकन गर्ने काष्ठमण्डपमा अहिले सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । आगन्तुक प्रवेश गर्ने द्वार बन्द गरिएका छन् । लामो समयदेखि दैनिक सरसफाइ नहुँदा भुइँ सतह, खम्बा र भित्तामा बाक्लो धुलो जमेको देखिन्छ । काष्ठमण्डपको पुनर्निर्माण पुरानै शैली, शिल्प र प्रविधि प्रयोग गरी सम्पन्न गरिए पनि त्यहाँ रहेका गोरखनाथ र गणेशको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरिएको भन्दै विरोध भइरहेको छ । विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । पुनर्निर्माण सम्पन्न भएको भन्दै बनेको प्रतिवेदनको आधिकारिकतामा पनि विवाद भएपछि काष्ठमण्डप सञ्चालनमा आउन नसकेको हो । विवादकै कारण पुनर्निर्माण समितिले काष्ठमण्डपको साँचो पटक पटक प्रदान गर्न खोज्दा काठमाडौँ महानगरपालिकाले लिन मानेको छैन ।

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले काष्ठमण्डप पुनर्निर्माण समितिले अहिलेसम्म कार्य सम्पन्न प्रतिवेदन बुझाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काष्ठमण्डप पुनर्निर्माण समितिले कार्य सम्पन्न भएको प्राविधिक प्रतिवेदन पेस गर्नु पर्छ । प्रतिवेदनमा प्राविधिक (इन्जिनियर) को हस्ताक्षर हुनु पर्छ । प्राविधिकको हस्ताक्षरसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।” प्राविधिक प्रतिवेदन नभएकै कारण महानगरले काष्ठमण्डपको साँचो लिन नमानेको उहाँले स्पष्ट पार्नुभयो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले पटक पटक प्रयास गर्दा पनि काठमाडौँ महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझ्न नमानेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुनर्निर्माण समितिले उद्घाटनकै अवसरमा काष्ठमण्डपको साँचो काठमाडौँ महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको थियो । महानगर प्रमुखले त्यो साँचो राष्ट्रपतिलाई दिएपछि उहाँबाट उद्घाटन भएको थियो । उद्घाटनको समयमा महानगरले साँचो लिए पनि मुद्दा परेको भन्दै फेरि फिर्ता गरिदियो ।” महानगरको प्रमुखमा बालेन्द्र साह (बालेन) निर्वाचित भएर आएपछि पुनर्निर्माण समितिले काष्ठमण्डपको पुनर्निर्माण प्रतिवेदनसँगै साँचो बुझाउँदा बुझ्न नमानेको संयोजक शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “समितिको काम काष्ठमण्डपको पुनर्निर्माण गर्नुपर्ने थियो । त्यो हामीले गर्‍यौँ । सञ्चालनको काम काठमाडौँ महानगर वा पुरातत्व विभागले गर्नु पर्‍यो ।”

संयोजक शाक्यले अदालतबाट मूर्तिसम्बन्धी विवादको टुङ्गो लागेपछि पुनः औपचारिक रूपमा साँचो बुझाउन कोसिस गर्ने बताउनुभयो । 

पुरानो मूर्तिको ठाउँमा नयाँ पुनर्निर्माण समितिका संयोजक शाक्यले काष्ठमण्डपका मूर्ति आफूहरूले स्थानान्तरण नगरेको बताउनुभयो । उहाँका अनुसार २०७२ सालको भूकम्पलगत्तै काष्ठमण्डपमा रहेका गणेशका चार र गोरखनाथका एउटा मूर्ति हनुमानढोका हेरचाह अड्डामा राखिएका थिए तर धार्मिक गुरुहरूसँग सल्लाह र आमजनतासँग सार्वजनिक सुनुवाइ गरेपछि टुटेफुटेका र खण्डित मूर्तिको पूजापाठ गर्नु हुँदैन भने सल्लाहबमोजिम नै नयाँ मूर्ति प्राणप्रतिष्ठा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

नयाँ निर्माण गरिएका मूर्ति पुरानै मूर्तिको शैली र आकारमा निर्माण गरिएको हुनाले तिनीहरूको ऐतिहासिक महत्वमा कुनै कमी नआउने र इतिहासको समेत संरक्षण हुने उहाँको धारणा छ ।  

पुरानै मूर्ति राखिनु पर्छ

नयाँ र पुरानो मूर्तिसम्बन्धी मुद्दा चलिरहुन्जेल सञ्चालन नगर्दा काष्ठमण्डप जीर्ण हुँदै जाने भएकाले मुद्दाको टुङ्गो नलागे पनि सर्वपक्षीय सहमतिबाट काष्ठमण्डप सञ्चालनमा ल्याउनुपर्ने हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक काजीमान प्याकुरेलको सुझाव छ । 

प्राविधिक दृष्टिकोणले समेत कुनै न कुनै उपाय लगाएर काष्ठमण्डप खोल्नुपर्ने उहाँको भनाइ छ । २०७५ वैशाख ३१ गतेबाट काष्ठमण्डपको पुनर्निर्माण सुरु गरिएको थियो । यसका लागि काठमाडौँ महानगरपालिका र पुनर्निर्माण समितिबिच वैशाख २९ गते सम्झौता भएको थियो । पुनर्निर्माण लागत १९ करोड ८८ लाख १० हजार ५४५ रुपियाँ अनुमान गरिएकोमा साढे एघार करोड रुपियाँमा नै काम सम्पन्न भएको थियो ।