जिन्दगी खोजिरहेको यात्री र पुडुचेरी (निबन्ध)

नयाँ वर्षको पहिलो बिहान । रातिदेखि नै शुभकामनाहरू आउनुपर्ने । म्यासेजको टिङ टिङले निन्द्रा बिथोलिनुपर्ने तर एक्कासि मिश्र सरको फोनले बिउँझिन्छु । ढिलो भइसकेछ । हतार हतार तयार भएर निस्कन्छु । बिहानी सूर्यसँगै उज्यालिएको छ समुद्र र यहाँको परिवेश । समुद्रको यो उज्यालोसँगै म उज्यालो अनुहार सम्झिन्छु, जो अक्सर समुद्र किनारमा मेरो पाखुरा समाएर हिँड्ने रहरमा उज्यालिन्थ्यो । आज यहाँ यतिखेर उनी छैनन् । उनी यहाँ भएकी भए कति खुसी हुन्थिन् होला । कति उत्साहित हुन्थिन् होला । मलाई उनीभन्दा पनि उनी खुसी हुँदाको क्षणले सताउँछ । उनको अनुहारको खुसी देख्न सधँै लालायित हुन्छु म । त्यसो त उनको अनुहारको उज्यालो सम्झिएँ भने अहिले नै अँध्यारो हुनेछ यो समुद्री किनार, भर्खरै उदाएको घाम र यहाँको परिवेश । उनको अनुहार र मनमा रहेको उज्यालोले मेरो जीवनको गोरेटोभरि प्रकाश छरिदिएको छ । मेरो जीवनमा उनको उपस्थितिले मेरो जिउने सिलसिला नै बदलिएको छ ।