वर्षाचरित्र (कविता)
ऋतु सरस छ वर्षा मेघको रूप कालो ।जलद सघनको हो बर्सिने फेरि पालो ।।तृण विटप खुसी छन् मख्ख छन् खेतबारी ।श्रम सुरु हुन थाल्यो हेर दैलो उघारी ।। १ झिलिकमिलिक गर्दै चम्किँदै फेरि निभ्दै ।बिचबिच बिजुलीले हो कि यो नृत्य सिक्दै ।।गड गड गड गर्दै मेघले ताल दिन्छ ।दरदर अनि दर्की शीघ्र पानी चुहिन्छ ।।२ जल रसमय वर्षा रङ्गमञ्चीय शाला ।गगनतल छ डम्मै चित्रझैँ मेघमाला ।।जमिन छ यतिबेला तृप्तिले मख्ख पर्दै ।कृषकजन खुसी छन् खेतमा काम गर्दै ।।३ हरितमय सबै छन् खेत, बारी, बगान ।प्रकृति पनि अहा ! क्या लाग्छ साँच्चै जवान ।।तन अलिकति भिज्दा हुन्छ आनन्द भान ।अमृतसरि छ पानी गर्छ संसार पान ।।४ ऋतु जलद मजाले बर्सिँदा ता भर्दै ।चपल गति छ बग्दै छन् नदी गर्व गर्दै ।।कतिपय खहरेमा बग्छ बाढी अदम्य ।झरझर झरनाको वेग उस्तै छ रम्य ।।५ विपिनबिच भिजेका छन् लता वृक्ष सारा ।मन प्रमुद छ पाई प्यून पीयूषधारा ।।परिचर दल पक्षी, माहुरी, भृङ्ग नाना ।बरबर जल झर्दा चल्छ गाना बजाना ।।६ कलकल बिरुवा छन् पोषले सप्रिएझैँ ।तरुदल पनि दङ्गै दारुले लट्ठिएझैँ ।।चपल मन भएका किन्नरी नाच्न थाले ।नवयुवकरूप क्या मस्किँदै छन् मजाले ।।७ तनुरस सुकिहाल्यो, भो चिसो मन्दमन्द ।मधुर मधुर लाग्यो मृत्तिकाको सुगन्ध ।।सरर पवन चल्दा हो कि झैँ लाग्छ छन्द ।अनि पछि जल वर्षा हुन्छ चर्केर द्वन्द्व ।।८ नद–जलकुल सारा छन् धनी हृष्टपुष्ट ।अलि अधिक भएमा हुन्छ बाढी प्रदुष्ट ।।जल वितरण गर्दा मेघले व्योमबाट ।रसमय अवनी भो तृप्तझैँ सोमबाट ।। पिहित जलधिपुत्रीबाट आकाश कैले ।रवि, शशि अनि तारा लुक्नुपर्ने त्यसैले ।।अलिकति भिजिहालूँ भन्न चाहेँ मनैले ।लिइनँ नि तर छाता ओढ्न चाहेर मैले ।।१० समय छ ऋतुबोधी श्रावणी भाद्रमासी ।श्रमबिच पनि कस्तो हुन्छ आत्माभिलाषी ।।अति मृदुमय लाग्ने मौसमी रागभित्र ।मन पुलकित गर्दै हेर्छु वर्षा चरित्र ।।११ परिश्रमी निकेतनबर्दघाट नपा–४, नवलपरासी