• १३ पुस २०८१, शनिबार

सतीगमन प्रथा होइन

blog

सुजित मैनाली नेपाली इतिहासको अध्ययन अनुसन्धानमा लागिरहने ‘स्कलर’ हुन् । उनका अघिल्ला दुई कृतिहरूले यस कुराको पुष्टि गरेका छन् । उनको सती– इतिहास र मीमांसा २०७८ सालमा प्रकाशित पछिल्लो कृति हो । प्रस्तुत कृति भारत र नेपालीय परिवेशमा इतिहासको कुनै कालखण्डमा चलेको ‘सतीप्रथा’को अध्ययन हो । उनले आफ्नो अध्ययनको क्षेत्रलाई निकै विस्तार दिएकाले यस ग्रन्थको साङ्गोपाङ्गो विवेचन गर्दा एउटा मोटो ग्रन्थ नै लेख्नुपर्ने हुन्छ । त्यसर्थ यस आलेखमा पुस्तकको समग्रतामा नगएर केही मूलभूत पक्षको विवेचन गरिने छ । लेखकले सुरुमै, पतिको मृत्युपछि विधवा स्त्रीको यौनजीवनलाई नियन्त्रण गर्न सतीप्रथा पुरुषले चलाएको क्रुर अस्त्र हो भन्ने पुस्तकको निष्कर्ष दिएका छन् । यसै निष्कर्षको सेरोफेरोमा समीक्ष्य पुस्तकको विवेचनको प्रयास रहने छ । सबैभन्दा पहिेले सतीप्रथा के हो ? र यो संंस्थागत भएको हो होइन यसमा छलफल गरौँ । 

वामन शिवराम आप्टेको संस्कृत हिन्दी कोशले सतीको– ‘साध्वी स्त्री वा पत्नी भन्ने अर्थ गरेको छ । उनको कोशले पतिको चितासँग विधवापत्नी दहन हुने ‘सती’लाई प्रविष्टि नै दिएन । आप्टे महोदयको यो कोशले लौकिक संस्कृतलाई मात्रै समेटेको छ । लौकिक संस्कृतमा रचित महाभारत, पुराण, स्मृति आदि ग्रन्थमा सतीप्रथा समाजमा प्रचलित नभएकाले उनले शब्दकोशमा स्थान दिएनन् । लेखकले ‘सती’मा ‘प्रथा’ गाँसेर ‘सतीप्रथा’ पुस्तकमा प्रयोग गरेका छन् । प्रथा शब्दको नेपाली बृहत् शब्दकोशले ‘पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दैआएको र जीवनलाई प्रभावित पार्दैआएको रीतिरिवाज इत्यादि अर्थ गरेको छ । त्यसर्थ अन्य अर्थ नलागोस् भनेर लेखकले स्पष्ट रूपमा मृतक पतिको शवसित चितामा जलेर मर्ने कार्यलाई सतीप्रथा भनेका हुन् । प्रथा शब्दले समाजकल्याणको भाव अँगालेको हुन्छ । चोरी, लुटपाट, जुवा खेल्ने जस्ता अभ्यास लामो समयदेखि समाजमा प्रचलित हुँदै आएका छन् । के यस्ता असामाजिक कार्यलाई पनि प्रथा भन्ने ? यस्ता कृत्यलाई सामाजिक अपराध मानिन्छ । युधिष्ठिरलले जुवा खेलेको कार्यलाई श्रीकृष्णले अधर्मको संज्ञा दिएका छन् । समाज–उपयोगी कार्य विकासको एउटा चरणमा प्रासङ्गिक भएर नै प्रथाको रूपमा समाजले ग्रहण गर्छ । एउटा अर्को शब्द ‘संस्थागत’को अर्थ पनि गर्नुपर्ने हुन्छ । नेपाली बृहत् शब्दकोशले ‘कुनै धर्म, सङ्गठन, समाज, आदिको लोकहितका उद्देश्यले गरिने कार्य’ लाई ‘संस्थागत’ अर्थ गरेको छ ।

सतीगमनकोे प्राचीनता केलाउँदैजाँदा लेखक वैदिकग्रन्थसम्म पुग्छन् र महाभारत, पुराण आदिमा चहार्छन् । वैदिक वाङमयमा सतीसम्बन्धी कुनै सङ्केत पाइँदैन । अपवाद स्वरूप पछिको रचना मानिएको केही पुराण र स्मृतिमा पाइएला । इस्वीपूर्वका रचना मानिएका मनु, याज्ञवल्क्य आदि प्रमुख स्मृतिग्रन्थ, कौटलीय अर्थशास्त्र, श्रीमद्भाग्वत, विष्णु, वायु ,मार्कडेय जस्ता प्राचीन पुराणहरूमा सती गमनको उल्लेख उनी पाउँदैनन् । 

लेखकले ऋग्वेदमा (१०/१८/७–८) का मन्त्रमा भने सतीप्रथाको सङ्केत भेट्टाउँछन् जुन त्यस मन्त्रको अशुद्ध अनुवादले सघाएको बुझ्न सकिन्छ । यस मन्त्रका ऋषि सङ्कुसुको यामायन हुन् र देवता मृत्यु, धाता, त्वष्टा आदि छन् । उक्त मन्त्रको भारतीय विद्वान् पं. श्रीराम शर्मा आचार्यले हिन्दीमा गरेको भावानुवादमा... ‘तिम्रो पतिको मृत्यु भइसकेको छ । अब तिमी यसको समीप व्यर्थ नै बसिरहेकी छौ... तिमीले यस पतिबाट गर्भधारण आदि स्त्री कर्तव्य पूरा गरिसकेकी छौ... अतः तिमी घर फर्क... ।’ अनुवादको उधृतांशमा ती विधवा मृतक पतिका समीप बसिरहेको भन्ने अर्थ गर्नुपर्नेमा सँगै सुतिरहेको भन्ने अर्थ लगाइएकाले लेखकले त्यहाँ सतीप्रथाको सङ्केत जस्तो पाएका हुन्, जुन तथ्यसङ्गत होइन । वास्तवमा भर्खरै मृत्यु भएको पतिको पार्थिव देह सदाका लागि अस्ताएको कुरा भ्रम हो भन्ने लाग्छ र मृतक पतिको पछि लागेर श्मसान पुग्छे जसलाई तत्क्षणको स्वाभाविक चेष्ठा मान्नुपर्छ । 

लेखकले इस्वी संवत्को प्रारम्भदेखि नै सतीप्रथा संस्थागत भइसकेको दाबी गरेका छन् । लिक्ष्वीराजा धर्मदेवकी विधवा रानी राज्यवतीले (विसं ५२२) सती जाने चाहेकी थिइन् तर छोराको विन्तिभाउमा सती गइनन् । त्यस घटनाको ८ सय ६१ वर्षपछि भक्तपुरका राजा रुद्रमल्लको मृत्यु (विसं १३८३) हुँदा उनका ४ जना रानीहरू सती गएकोे प्रसङ्ग लेखकले राखेका छन् । प्रश्न के उठ्छ भने विसं को छैठौँ शताब्दीमा सतीप्रथाले संस्थागत रूप लिइसकेपछि यति लामो कालसम्म सतीगमनको एउटा पनि घटना नदेखिनु अनौठो हो । त्यस अन्तरालमा सतीगमनका २–४ घटना त भएकै होलान् जसलाई अभिलेखीकरण नगरिएको हुन सक्छ । तर सतीप्रथाले लिक्ष्वीकालदेखि नै संस्थागत स्थान लिइसकेको भन्ने बुझाइ यसै आधारबाट पनि त्रुटिपूर्ण रहेछ भनेर पुष्टि हुन्छ । 

सतीगमनका तत्कालीन परिवेश

त्यसो त महाभारतमा राजा प्रतीपदेखि जन्मेजयसम्मको आठ पुस्तामा कुनै स्त्री सती पठाइएको पाइँदैन । तर पाण्डुपत्नी माद्रीको सतीगमन अपवादमा देखियो । राजा पाण्डुले वंश परम्परालाई निरन्तरता दिन नियोग पद्धतिबाट सन्तान जन्माउन आफ्ना रानीहरू कुन्ती र माद्रीलाई आग्रह गर्छन् । दुवै रानीहरूले आफूले इच्छा गरेका देवताको यौन सम्पर्कबाट सन्तान जन्माउँछन् । एक दिन राजा पाण्डुको कान्छी पत्नी माद्रीसँग यौनक्रीडा गर्दागर्दै मृत्यु हुन्छ । माद्री पतिको मृत्यु मेरै कारणबाट भएको थियो भन्ने मानसिकतामा पतिवियोगबाट विचलित भई उन्मादी अवस्थामा सती जान्छिन् । त्यहाँ माद्रीको यौनजीवनलाई नियन्त्रण गर्ने प्रयोजनले कुनै पुरुष समाजले उनलाई सती जान बाध्य बनाएको देखिँदैन । उनी मद्रदेशकी राजकुमारी थिइन् जहाँ नारीको यौनजीवन केही उदार थियो । यसै पनि माद्रीले अन्य पुरुषबाट सन्तान जन्माइसकेकी थिइन् । 

सतीगमनका मोटामोटी तीनवटा फरक फरक परिवेश रहेको देखिन्छ । पहिलो प्रसङ्ग । रानी राज्यवती धर्मदेवको मृत्यु हुँदा पतिको वियोगमा विह्वल बनेर राज्यको उत्तराधिकारी छोरा मानदेवलाई सम्बोधन गर्दै भन्छिन् ‘...तिम्रा बुबा स्वर्गे भएपछि सित्तैँमा  बाँचेर के काम ? नानी छोरा ! राज्य गर, म आजै पतिको पछि लाग्छु । भेटघाटको काम सपना जस्तै हुन आएपछि भोगविलासका निमित्त फैलाइएका आशै आशाका जालका साथमा पतिबिना बाँच्न मलाई के काम ?...’ इत्यादि (विसं ५२२ को चाँगु अभिलेख, उद्धरण–समीक्ष्य पुस्तक, परिशिष्ट ११) । राज्यवतीले सती जाने आफ्नो इच्छा भनेपछि छोरा मानदेवले रुँदे बिन्तीभाउ गरेर आमालाई सती जानबाट रोेकेका थिए ।

दोस्रो प्रसङ्ग । कालिदासको कुमारसम्भवमा कामदेवलाई भगवान् शङ्करले भष्म गरेपछि विधवा बन्न पुगेकी रतिले विलाप गर्दै आफू पनि मृतक पतिसँगै सती जाने उद्घोष गर्छे । भगवान शङ्करले अर्को जन्ममा पतिसँग पुनर्मिलन हुनेछ भनेर रतिलाई सती जानबाट रोक्छन् । उपर्युक्त दुवै प्रकरणमा विधवीको भोगविलासको चाहना हुँदाहुँदै पतिबिना बाँच्नुको प्रयोजन छैन भन्ने लाग्दो हो । वाणभट्टले हर्षचरित्रमा प्रभाकरवर्धनको मृत्युमा हर्षवर्धनले आमा यशोमतीलाई सती जानबाट रोक्ने निकै प्रयास गरे पनि पतिसँगै चिता–आरोहण गरेर सती गइन्, कसैले उनलाई कर गरेको थिएन । यहाँ पनि पति प्रेम प्रबल देखियो । 

 हिन्दुस्तानमा मुसलमानको शासन सुरु भएयता १३औँ शताब्दीदेखि राजस्थानका स्त्रीहरू जौहर जाने प्रचलन आयो । जौहर शब्दको बृहत् हिन्दी कोश अनुसार– ‘युद्धमा शत्रुको विजय हुने निश्चित बुझेर राजपूत स्त्रीहरू विशाल चितामा एकैसाथ हामफालेर मृत्यु वरण गर्नु’ हो । यहाँ पुरुषवर्गले उनका पत्नीहरूलाई आक्रान्ता मुसलमानहरूको हात नपरून् भनेर त्रूmरतापूर्वक ठूलो भट्टीमा सामूहिक अग्निदहन गरिदिएको शङ्का गर्ने ठाउँ छ ।

 –प्रसङ्गमै पङ्क्तिकार स्वयम्ले देखेको एउटा घटनाको सम्झना हुन्छ । कुरा २०३४ सालको हो । काठमाडौँ निवासी ती व्यक्ति सडक विभागमा काम गर्ने मेरा परिचित नै थिए । उनकी पत्नी ५ वर्षे छोरो र विधवी आमासमेतको सुखी परिवार थियो । उनको दुर्भाग्यले जिप दुर्घटनामा मृत्यु भयो । भोगविलास र पति सुखमा रमाइरहेकी २४ वर्षे युवतीले कोरामा बसेकै भोलिपल्ट विष सेवन गरेर प्राण त्याग गरिन् । यहाँ पुत्र प्रेमभन्दा पतिप्रेम प्रबल देखियो । उपर्युक्त प्रसङ्गहरू पहिलो प्रकृतिको सतीगमनसम्बन्धी उदाहरण थिए ।    

लेखकले सतीगमनका केही भारतीय प्रसङ्ग राखेका छन् । ब्रिटिसभारतको बङ्गाल प्रेसिडेन्सीमा सन् १८१५ देखि १८२९ अर्थात् सतीप्रथालाई पूर्ण बन्देज नलगाएको अवधिमा ७ हजार ९ सय ४१ जना विधवास्त्री सती गएको लगत सरकारले सङ्कलन गरेको रहेछ । त्यसै अवधिमा बम्बई र मद्रास प्रेसिडेन्सीमा क्रमशः २ सय ४८ तथा २ सय ८७ घटना दर्ता भएको लेखकले उद्धरण राखेका छन् । बङ्गाल प्रेसिडेन्सीमा सतीगमन अन्य दुई प्रेसिडेन्सीमा भन्दा विशाल फरक पर्नुको कारण के रहेछ भने बङ्गालमा विधवाले पतिको सम्पत्तिमा अंश पाउने व्यवस्थाले बाँकी अंशियारहरूले ती विधवा स्त्रीलाई जबरजस्ती स्त्रीधर्मको महिमा देखाएर सती पठाउने गर्दा रहेछन् । पारिवारिक सम्पत्तिका लागि षड्यन्त्रपूर्वक अग्निदहन गराउनु त्यो अपराध नारीद्वेषी मात्र थिएन, मानवद्रोही पनि थियो । मल्लकाल र त्यसपछि नेपालमा पनि फटफुट त्यस्तो अभ्यास देखियो । यो सतीगमनको दोस्रो परिवेश थियो । 

 सतीगमनको तेस्रो अवस्था, नेपालकै राजनीतिक परिवेशमा : रुद्रमल्लको विसं १३८३ मा निधन हुँदा उनका ४ जना रानीहरू सती गएको घटना उपर विवेचन गरौँ । रुद्रमल्लसँगै द्वैधशासन गर्ने अरिमल्ल थिए । उनले रुद्रमल्लकी दिदी एवं कर्णाटवंशी हरिसिंहदेवकी रानी देवलदेवीसित मिलोमत्तो गरेर राजगद्दीको उत्तराधिकारी रुद्रमल्लकी एक मात्र छोरी नायकदेवीको संरक्षक बनेर एकलौटी शासन गर्ने स्वार्थ राखेको बुझिन्छ । तर त्यस निम्ति रुद्रमल्लकी रानीहरू बाधक बन्न सक्थे । त्यसर्थ उनीहरूको योजनामा ती चारैजना रानीहरूलाई जबरजस्ती सती पठाइएकोे हुन सक्छ । राज्यशक्तिका लागि दरबारमा षडयन्त्र हुनु नौलो कुरा थिएन । कौटिल्यले राज्य र आफ्नै पनि सुरक्षाका लागि राजाले छोरामाथि पनि गुप्तचर गर्ने सुझाव दिन्छन् । यसपछि मल्लकालमा सती गमनका घटनाहरू धेरै हुन थालेको पाइन्छ । धेरैजसो घटनाहरू दरबारको आन्तरिक शक्ति सङ्घर्षमा विरोधी खेमाका विधवी रानीहरूलाई सती पठाउने षडयन्त्रमा हुने गर्थे । रानी राजेन्द्रलक्ष्मीले प्रतापसिंह शाहको मृत्यु भएको निकैपछि आफ्नी सौतालाई सुत्केरी हुने दिन कुरेर त्यसको लगत्तैपछि जबरजस्ती सती पठाएकी थिइन् । मुख्तियार भीमसेन थापाले हेलम्बुमा निर्वासनको जीवन बिताइरहेकी रणबहादुर शाहकी रानी राजराजेश्वरीलाई पतिको मृत्यु भएको ९ दिनपछि षडयन्त्रपूर्वक राजधानी ल्याएर जबरजस्ती अग्निदाह गराइयो । यी दुवै घटना हत्या थिए सतीको आवरणमा ।

सारांशमा, पहिलो अवस्थाको सतीगमन तारुण्य वयमा पति वियोगको असहनीय दशा हो । विधवाको यस मनोदशामा धेरैजसो जैविक कारण हुनुका साथै नैराश्य एवं उन्मादि अवस्थाको उद्वेगले हुने गरेको माथिका उदाहरणहरूबाट पुष्टि हुन्छ । तर यस प्रकृतिका घटना भने निकै थोरै हुने गर्थे र एकाध घटना त अहिले पनि हुने गर्छन् । 

सतीगमनको दोस्रो परिेवेशमा हामी के पाउँछौँ भने सम्पत्तिमा विधवालाई अंश दिन नपरोस् भनेर कथित धर्मको आवरणमा जबर्जस्ती सती पठाइन्थ्यो । यो गम्भीर प्रकृतिको फौजदारी अपराध थियो । तेस्रो प्रकृतिको सतीदहन राज्यको शक्तिसङ्घर्षमा हत्या हिंसाको षडयन्त्रभित्र आफ्ना विरोधीहरूलाई सिध्याउने प्रयोजनले विधवी स्त्रीहरूहरूलाई बेलाबखत जबरजस्ती सती पठाउने गरिन्थ्योे । 

इतिहासको तथ्यलाई स्थापित गर्न सामग्रीको अप्राप्तिमा समाजमा प्रचलित मिथकलाई पनि आधार लिन सकिने यता केही इतिहासज्ञहरूले मान्यता राख्ने गरेका छन् । लेखकले पनि मिथकको सहारा लिएका छन् । सुदूर र मध्य पश्चिम नेपालमा सतीगमनको इतिहास उधिन्ने सिलसिलामा केही वयोवृद्धहरूसँग गरिएको कुराकानीमा अनुसन्धानकर्तृ अमृता लम्सालले तिनका पुर्खामा कसैले सती जान नपरेकोे प्रसङ्ग लेखकले उल्लेख गरेका छन् । यसबाट के निष्कर्षित हुन्छ भने सती जाने वा पठाइने कार्य काठमाडौँ उपत्यकाभित्र राजदरबार र भारदारका परिवारमा सीमित थियो, जुन कुरा पुस्तकमै समेटिएको छ । यसै पनि लेखकले सतीप्रथालाई धर्मशास्त्रको टेको उति बलियो नरहेको पाउँछन् ।

सती उपर लेखिएको यो अनुसन्धानमूलक कृति हो । यस कृतिलाई प्रामाणिक बनाउन लब्धप्रतिष्ठ विदेशी र स्वदेशी विद्वान्का ग्रन्थहरूको सन्दर्भ लिइएका छन् । परिशिष्टमा समेटिएका अभिलेखहरू अनुसन्धानकर्ता एवं सम्बन्धित प्राध्यापकहरूका लागि पनि उपयोगी छन् । राणाकालीन इतिहासका व्याख्याता मानिएका पुरुषोत्तम शमशेरले कुनै अन्तर्वार्तामा ‘प्रतिशोधका लागि इतिहास लेखेको’ भनेको सम्झना हुन्छ । लेखक सुजित मैनालीले पनि केही त्यस्तै किसिमले नारीद्वेषी संस्कृतिबाट निर्देशित भएर नारीको यौनजीवनलाई सतीप्रथाद्वारा नियन्त्रण गर्ने पुरुषवर्गको त्रूmर षडयन्त्र हो भन्ने निष्कर्ष राखेका छन् । यसरी उनले स्वयंलाई नारीवादी कित्तामा उभ्याएका छन् । यस्तो सोचलाई बौद्धिक अस्वस्थता मानिन्छ । उनले सतीगमनको तीनवटै अवस्थालाई एउटै डालोमा हालेर निष्कर्षित गर्ने प्रयास गरेका छन् । यस निम्ति मध्यकालीन युरोपेली समाजमा प्रचलित नारीद्वेषी पुरुष क्रुरतालाई पुस्तकमा समेटेका छन् जुन आवश्यक थिएन । अर्को बुँदा केहो भने स्त्रीतत्त्वलाई मनोवैज्ञानिक आधारमा केलाइएन । पुरुषको क्रुरतालाई मात्रै चित्रण गरियो । यसले गर्दा पुस्तकले एक पक्षीय विवेचनालाई ठाउँ दिएको छ । यसो त कुनै पनि कृतिमा समग्रता पाइँदैन, यो एउटा आदर्शको सोच हो । त्यस आधारमा विचार गर्दा यो पुस्तक गहन छ, सङ्ग्रहणीय छ । लेखकलाई साधुवाद दिन्छु ।