पचपन्न हजार मतदाता बढ्ने सङ्केत
चितवन जिल्लामा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा झन्डै ५५ हजार मतदाता बढ्ने देखिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार २०७४ सालको सम्पन्न संसदीय निर्वाचनमा चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। यो सङ्ख्या बढेर गत वैशाखमा सम्पन्न दोस्रो स्थानीय तह पदाधिकारी निर्वाचनमा तीन लाख ९७ हजार ६८५ पुगेको थियो। निर्वाचन कार्यालयका अनुसार गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा १४ हजार ७३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
लुम्बिनीमा २०२ किलोमिटर सडक कालोपत्रे
लुम्बिनी प्रदेशले एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।
बगाएको सीमा स्तम्भ निर्माण भएन
नेपाल–भारत सीमा छुट्याउन राखिएका सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन्। दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन् भने कुनै मर्मत नहुँदा जीर्ण छन्। सीमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै पक्षबाट सीमा स्तम्भ मर्मत गर्नेतर्फ महìव नदिएको गुनासो स्थानीयवासीको छ। दाङको राजपुर गाउँपालिका–७, भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले स्थानीय सरकार र प्रशासनलाई सीमा स्तम्भ मर्मत गर्न अनुरोध गरे पनि बेवास्ता भएको बताउनुभयो।
कोभिडपछि तङ्ग्रिँदै पर्यटन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन्। जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो। आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए। जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए।
पेन्सन बुझ्न झुलाघाटमा छ दिन
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन्। नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको छ। भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन्। भारतीय स्टेट बैङ्क (एसबीआई बैङ्क), उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ।
पढाइ खर्च जुटाउन कालापहाड
जिल्लाका विपन्न समुदायका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारतको कालापहाड जाने गरेका छन्। भारतमा मजदुरी गरी कमाएर विद्यालय पोसाक, स्टेसनरी र पढाइ शुल्क तिर्ने गरेको उनीहरूले बताएका छन्।
तीनपाङ्ग्रे सवारीलाई हरियो स्टिकर
हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन हुँदै आएका तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन सुरु गरिएको छ। मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण र दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाको अगुवाइमा तीनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरिएको हो।
सात वर्षदेखि पुल अलपत्र
दुईवटा स्थानीय तहले पुल निर्माणका लागि नीति तथा कार्यक्रममा नै ३०/३० लाख रुपियाँ विनियोजन गरे पनि सम्बन्धित निकायले ठेक्का रद्द नगरिदिँदा मोरङको कानेपोखरी–रङ्गेली सडक खण्डअन्तर्गत कानेपोखरी– २ को गेउरिया खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र छ। यो पुल दुई पालिकाको सिमानामा पर्छ।
तटबन्ध मर्मत नहुँदा डुबानको चिन्ता
नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।