• १७ असार २०८१, सोमबार

पचपन्न हजार मतदाता बढ्ने सङ्केत

blog

भरतपुर समाचारदाता

चितवन, साउन २२ गते  । चितवन जिल्लामा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा झन्डै ५५ हजार मतदाता बढ्ने देखिएको छ। 

जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार २०७४ सालको सम्पन्न संसदीय निर्वाचनमा चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। यो सङ्ख्या बढेर गत वैशाखमा सम्पन्न दोस्रो स्थानीय तह पदाधिकारी निर्वाचनमा तीन लाख ९७ हजार ६८५ पुगेको थियो। निर्वाचन कार्यालयका अनुसार गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा १४ हजार ७३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभाको आमनिर्वाचन गर्ने घोषणा गरेसँगै साउन २० गते अर्थात् शुक्रबारदेखि नै मतदाता नामावली सङ्कलन गर्ने कार्य रोकिएको छ। 

निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा अन्य जिल्लाको एक हजार पाँच सयको हाराहारीमा नाम दर्ता भएको छ भने बाहिरी जिल्लाबाट बसाइसराइँ गरी चितवन आउने करिब आठ सय जना रहेका छन्। अहिले झन्डै १५ हजारले निवेदन दर्ता गराएका छन्। त्यसैलाई आधार मानेर उहाँले भन्नुभयो, “नाम दर्ता गरिएको आधारमा १० देखि ११ हजार मतदाता अद्यावधिक हुन सक्छ।” यदि त्यसो भयो भने आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या चार लाख आठ हजारदेखि नौ हजारको हाराहारीमा रहने उहाँको अनुमान छ।

गत स्थानीय तह निर्वाचनमा चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा मतदाता थिए भने सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा थिए। चितवन जिल्लामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभा सदस्यको लागि छवटा निर्वाचन क्षेत्र रहेका छन्।