सात वर्षदेखि पुल अलपत्र
दुईवटा स्थानीय तहले पुल निर्माणका लागि नीति तथा कार्यक्रममा नै ३०/३० लाख रुपियाँ विनियोजन गरे पनि सम्बन्धित निकायले ठेक्का रद्द नगरिदिँदा मोरङको कानेपोखरी–रङ्गेली सडक खण्डअन्तर्गत कानेपोखरी– २ को गेउरिया खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र छ। यो पुल दुई पालिकाको सिमानामा पर्छ।
तटबन्ध मर्मत नहुँदा डुबानको चिन्ता
नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।
उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।
बेतन कर्णालीको पूर्वतयारी धमाधम
सुर्खेत र अछाममा निर्माण हुने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि भइरहेको छ ।
जनशक्ति अभावमा थन्कियो भेन्टिलेटर
गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएको छ । महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा भेन्टिलेटरसहितको आईसीयू बेड पाँचवटा र बर्दिबास अस्पतालमा तीनवटा गरी आठवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको हो ।
तीन लाख किलो जडीबुटी निकासी
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।
बडीमालिकाको पूजा गर्न डोलीसहित सरकारी टोली
बाजुरा जिल्लास्थित बडीमालिका भगवती पूजाका लागि वैदिक विधिअनुरूपका पूजाको डोलीसहित जुम्लाबाट सरकारी टोली त्यसतर्फ पैदलै प्रस्थान गरेको छ। जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको सरकारी डोली पठाइएको हो। सो डोली बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जनाइएको छ। सो डोली लैजाँदा पैदलै जानुपर्ने परम्परा रहेको छ।
रजिस्टरमा छन्, कक्षामा छैनन्
दाङको घोराही उपमहानगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन सुरु गरिएको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरूमा विद्यार्थी र शिक्षक सङ्ख्यासँगै भौतिक पूर्वाधारको अवस्थाबारेमा जानकारी लिन थालेको हो ।
पाँच वर्षमा त्रिचालीस पक्की पुल
लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको बीचमा ४३ वटा पुल निर्माण गरेको छ। १३० वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने ८० वटा सडक पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। त्यसैगरी प्रदेश सरकारले पाँच वर्षको बीचमा लुम्बिनी प्रदेशमा १३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।